उत्तर÷दक्षिण व्यापारिकमार्ग विस्तार आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ—घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । शुक्रबार आयोजनाले सूचना प्रकाशित गरी (छुसाङ—घमी) सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न दुई अर्बको बहुवर्षीय ठेक्का आह्वान गरेको जनाएको छ ।
कोरलानाका जोड्ने कालिगण्डकी करिडोर सडक अन्तर्गत जोमसोम—कोरला सडकमार्गको (छुसाङ—घमी) सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । जोमसोम—कोरला सडकमार्ग अन्तर्गत छुसाङदेखि भेनासम्मको (२०.१) किलोमिटर सडक (पहिलो खण्ड) र भेनादेखि घमीसम्मको (२०.१) किलोमिटर (दोस्रो खण्ड) गरी दुई वटा प्याकेजका लागि दुई अर्ब बढी लागतको बहुवर्षीय ठेक्का आह्वान भएको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
छुसाङदेखि भेनासम्मको सडकका लागि एक अर्ब बढी र भेनादेखि घमीसम्मको सडकका लागि करिव अर्ब लागत रहने गरी आयोजनाले बहुर्षीय ठेक्का आह्वान गरेको हो । ठेक्का आह्वना अनुसार मुस्ताङको छुसाङदेखि भेनासम्मको सडकमा १४ किलोमिटर अस्फाल्ड कालोपत्र र बाँकी ६ किलोमिटर सडकमा आरसीसी ढलान गरिने उल्लेख छ । यसैगरी भेनादेखि घमीसम्मको सडकका लागि सडक स्तरोन्नति गरी १६ किलोमिटर सडकमा अस्फाल्ड कालोपत्र र बाँकी ४ किलोमिटर सडकमा आरसीसी सडक संरचना तयार गरिने गरी बहुर्षीय ठेक्का आह्वान भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
कोरलानाका जोड्ने (छुसाङ—घमी) सडकको शुक्रबार बहुर्षीय ठेक्का आह्वान भएको हो । आयोजनाले २५ दिनसम्मका लागि सम्वन्धीत निर्माण कम्पनीहरुले ठेक्का आह्वान गरेको हो । जसअन्तर्गत साउन १८ गतेसम्ममा (छुसाङ—घमी) सडकको ठेक्का हाल्नुपर्ने अन्तिम म्याद कायम गरिएको छ ।
आयोजना प्रमुख शर्माले बहुचर्चित (नेपाल—चीन) उत्तरी कोरलानाका जोड्ने सडकको कार्तिक महिना भित्र ठेक्का सम्झौता भई आगामी आवको दशै÷तिहार लगत्तै सडक स्तरोन्नति तथा कालोपत्र सडक निर्माणको काम सुरु गरिने बताउँनुभयो । छुसाङ—घमी) सडकको स्तरोन्नति तथा कालोपत्रका लागि तीन वर्षको कार्यअवधि तोकिएको आयोजनाले जनाएको छ ।
यसअघि गत बैशाख महिनामा नेपाल सरकार अर्थ मन्त्रालयले कोरला सडक अन्तर्गत (छुसाङ—घमी) सडकका लागि तीन अर्ब १५ करोड बजेट स्रोत सुनिश्चित गरेको थियो । सोही अनुसार आयोजनाले आगामी आवको सुरुवाती चरणबाटै कार्यान्वयन गर्ने गरी बहुवर्षीय ठेक्का आह्वान गरेको हो ।
उत्तरी÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक) आयोजना अन्तर्गत कोरला सडक निर्माणकार्य आव २०७३÷०७४ सालदेखि सुरु भएको थियो । (जोमसोम—कोरला) ११० किलोमिटर ग्राभेल सडकको ७ प्याकेजमा निर्माणकार्य सुरु गरिएकोमा आव २०७६÷०७७ सालमा ग्राभेल सडक सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको थियो ।
यसैगरी जोमसोम—कोरला सडक अन्तर्गत गतवर्ष (कागबेनी—छुसाङ) नौ दशमलव ८ किलोमिटर सडकको सडक स्तरोन्नति तथा कालोपत्र विस्तार गर्न २८ करोड ८७ लाख बजेट विनियोजना गरिएको थियो । हाल निर्माणधिन (कागबेनी—छुसाङ) सडक कालोपत्र सडक स्तरोन्नतिको २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले उल्लेख गरेको छ ।
यसैगरी आयोजना अन्तर्गत मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको सडक स्तरोन्नति निर्माणधीन अवस्थामा छ । सालबसाली ठेक्का सम्झौता अन्तर्गत सात करोड लागतमा (कालिमाता—थापाकाजी—रसुवा)जेभी कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको हो । साविक कालोपत्र सडकलाई दीर्घकालिन हुने गरी सडक प्रोटेक्सन,ड्रेन निर्माण र पल्म कंक्रिट वाल लगायतका संरचना निर्माण गरिने गरी निर्माणको काम अघि बढाएको छ ।
आयोजना अन्तर्गत पर्वतको मालढुंगादेखि मुस्ताङको घमी सम्मको सडकमा कालोपत्र सडक निर्माणधी,सम्पन्न र ठेक्का आह्वान भएकाले आगामी आवमा घमी—कोरला सडकको आइइ स्वीकृत गरी कालोपत्र गर्न स्रोत सहमति माग गरिने आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
सरकारले कोरलानाकालाई उच्चप्राथमिकतामा राखेको छ । पूर्वाधार मन्त्री सुनिल लम्सालले अघिल्लो हप्ता कोरला सडकको समेत निरीक्षण गर्नुभएको थियो । मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने उल्लेख गर्नुभएको थियो ।
नेपाल—चीन उत्तरी कोरलानाकालाई सरकारले चालु वर्षको ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो । नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै भन्सार राजश्व करिव ६ अर्ब बढी संकलन भईसकेकाले उत्तरी कोरलानाका जोड्ने सडकलाई सरकारले उच्चप्राथमिकतामा राखेको हो । कोरलानाकासम्म सडक स्तरोन्नति तथा कालोपत्र भएमा उपल्लो मुस्ताङ ब्यापारिक मार्ग तथा पर्यटन लगायत स्थानीय नागरिकहरुको आवागमनमा समेत ठुलो योगदान पुग्ने विश्वाश गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली