मुस्ताङमा फेरी एक भारतीय पर्यटकले दृष्य खिच्न प्रयोग गरेको मानवरसहित ड्रोन क्यामेरा प्रहरीले नियन्त्रणमा लिई जफत गरेको छ । अन्नपूर्ण संरक्षित क्षेत्रमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले २८ वर्षीय भारतीय पर्यटक प्रकाश सिंहको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित गणेश मन्दिर अगाडी रहेको मुस्ताङ चुल्हो रेष्टुरेन्ट एण्ड लजको छत माथिबाट बिहिबार बिना अनुमति ड्रोन क्यामेरा उडारहेका भारतीय पर्यटक सिंहको ड्रोन क्यामेरा जिल्ला प्रहरी कार्यालयबाट खटिएका तीन जना प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
प्रहरीद्वारा नियन्त्रणमा लिईएको ड्रोन क्यामेरा २५० ग्राम तौलको डीजीआई कम्पनीको रहेको छ । प्रहरीले बिना अनुमति प्रयोग गरिएको ड्रोन क्यामेरासहित २१५० एमएएच को ब्याट्री तीन थान र रिमोट कन्ट्रोल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको भारतीय पर्यटकको ड्रोन क्यामेरा आवश्यक अनुसन्धानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणको मुस्ताङ शाखा जोमसोम नागरिक उड्यन कार्यालयमा पठाईसकिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
यसअघि गत जेठ २७ गते पनि मुस्ताङको घरपझोङ—३ स्याङ खोला पुल नजिकै एक भारतीय पर्यटकले अनुमति बिना ड्रोन मानवरहित ड्रोन क्यामेरा उडारहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसबेला भारत बिहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय भारतीय पर्यटक शिवम कुमारको डिजिएल २४० किलोग्रामको ड्रोन क्यामेरा नियन्त्रणमा लिई जोमसोम नागरिक उड्ययन कार्यालयमा पठाएको थियो ।
मानवरहित ड्रोन क्यामेरा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट ईजाजतपत्र लिनुपर्ने हुन्छ । यसरी ईजाजत प्राप्त गरिएका ड्रोन क्यामेरा उडाउने व्यक्ति वा संस्थाले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण आयोजना क्षेत्र भित्र ड्रोन क्यामेरा प्रयोग गर्न रु. दशहजार रुपैया छायांकन शुल्क र डकुमेन्ट्री तथा फिल्म छायाँकन वापतको शुल्कमा लाग्ने २५ प्रतिशत ड्रोन शुल्क एक्याप कार्यालयले बुझाउनु पर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । प्रमुख गुप्तका अनुसार ड्रोन छायांंकन दुस्तुर दश हजार र त्यसको २५ प्रतिशत दुई हजार ५०० गरी बाह्र हजार पाँच सय एक्याप कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
यसैगरी ड्रोन ईजाजत पत्र र ड्रोन क्यामेरा उडानका लागि छायांकन दस्तुर बुझाएका व्यक्ति वा संस्थाले एक्याप क्षेत्रको सम्वन्धी स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान रहेको प्रमुख गुप्तको भनाई छ ।
तर, ड्रोन ईजाजत पत्र,छायांकन दस्तुर बुझाएर स्थानीय प्रशासनबाट ड्रोन अनुमति लिएको भएपनि अनुमति लिईएका व्यक्ति वा संस्थाले मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन क्यामेरा उडान प्रतिबन्ध रहेको छ भने मुक्तिनाथ र कागबेनीदेखि तल्लो क्षेत्रमा ड्रोन क्यामेरा उडान रोकतोक हुँदैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता