घरपझोङमा ‘जलवायु संम्वाद’

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित तीन दिने घरपझोङ पर्यटन साहित्य काव्य यात्रा २०८३ को तेस्रो तथा अन्तिमदिन मंगलबार जोमसोममा जलवायु सम्वाद गरिएको छ । काव्य यात्रा समापन समारोहमा सरोकारवालाहरुको उपस्थितीमा जलवायु संम्वाद छेडिएको हो ।

 विश्वकै चिन्ता र चाँसो बनिरहेको जलवायु परिवर्तनको असर र त्यसले हिमाली क्षेत्रमा पारेको नकारात्मक प्रभाव लगायतका बिषयमा साहित्य सर्जकहरुले नजिकबाट बुझ्ने र जान्ने अवसर प्रदान गर्न जलवायु सम्वादको बिषय वस्तु उठान गरिएको हो । सम्वादमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनले पारेका प्रभाव र चुनौतिहरुको बिषयमा चर्चा गर्नुभयो । 

 चितवनका साहित्य सर्जक भुपिन खड्काले सहजीकरण गर्नुभएको जलवायु सम्वादमा मुस्ताङले भोग्नु परेका समस्या र चुनौतिका बिषयमा बृहत चर्चा गरिएको छ । सम्वादमा सजहकर्ता खड्काले कृषि,पर्यटन र जलवायु परिवर्तन मध्ये तपाईको पहिलो प्राथमिकता केहो ? प्रश्न गरे ।

उत्तरमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो पहिलो प्राथमिकता जलवायुसंग सम्वन्धित रहेको स्पष्ट पार्नुभयो । कृषि र पर्यटन विकासका लागि विभिन्न विकल्पहरु अपनाउन सकिने भएपनि जलवायु संकट कसैले टार्न नसक्ने बताउँनुभयो । जलवायु परिवर्तनको असर रोक्न नसकिने भएपनि कार्वन उत्सर्जन घटाउन स्थानीय स्तरमा विभिन्न प्रयासहरु भईरहेको अध्यक्ष लालचनको भनाई छ । जलवायु परिवर्तनले कृषि,पशुपालन,जैजिक विविधिता, प्राकृतिक सौन्दर्यता र पर्यटनक्षेत्र लगायतमा नकारात्मक प्रभाव बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

विश्वका औधोगिक समृद्ध राष्ट्रहरुले हरित गृह ग्यास (कार्वन उत्सर्जन) गरेकाले जलवायु परिवर्तन असर हिमाली क्षेत्रले भोग्नु परेको छ । जलवायु संकटका कारण हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि हुँदै गर्दा सेताम्मे हिमालहरु कालापत्थरमा परिणत भएको अध्यक्ष लालचनले सम्वादमा व्यक्त गर्नुभयो । तापमान वृद्धिले हिमालका हिउँहरु छिटो छिटो पग्लिदै गर्दा हिमालको प्राकृतिक सौन्दर्यता घट्दै जान थालेको हो । हिमालको हिउँ तीब्र गतिमा पग्लिदा हिमताल फुट्ने,खानेपानीको मुहानहरु सुक्दै जाने गर्दा विभिन्न प्रकारका समस्या र चुनौतिहरु हिमालले सामना गर्नु परेको अध्यक्ष लालचनको भनाई छ ।

जलवायु संकटका कारण भूक्षय हुने,बाढी पहिरो र नदी कटानले कालिगण्डकी नदीका तटीय वस्तीहरु बर्सेनि असुरक्षित बन्दै गईरहेको सम्वादमा व्यक्त गरिएको हो । जलवायु संकटका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको अध्यक्ष लालचनको भनाई छ । कुनै सिजन भारी हिमपात हुने, कुनै सिजन आशिंक हिमपात हुने र कुनै सिजन हिउँनै नपर्ने जस्ता प्राकृतिक घटनाहरु देखिन थालेका छन् । पछिल्लो तीन वर्ष मुस्ताङमा हिउँ नपरेको उल्लेख गर्दै अध्यक्ष लालचनले यसवर्ष उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा आशिंक हिमपात भएपनि तल्लो मुस्ताङमा हिउँ पर्न नसकेको जलवायु सम्वादमा उल्लेख गर्नुभयो ।

सम्वादमा काव्य यात्रामा सहभागी साहित्य सजर्कहरुको ध्यान केन्द्रित गर्दै साहित्य सिर्जनाका मार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र समाधानका बिषयमा विश्व समुदायको ध्यानाकर्षण गरिनु पर्ने सुझाउँनु भयो । जलवायु परिवर्तनले मुस्ताङले जिल्लाको रैथाने कृषि प्रणाली र परम्परागत पशुपालन व्यवसायमा चुनौति थपिएको अध्यक्ष लालचनको कथन छ । हिमाली क्षेत्रको उच्चलेकमा पानीको स्रोत घट्दै गईरहेको र चरनक्षेत्रमा अनाधिकृत घाँसहरु पलाउँदै गईरहेकाले पशुपालन व्वसाय संञ्चालन गर्न समस्या देखिएको छ । जलवायु परिवर्तनका कारण मानव र वन्यजन्तुहरुको द्धन्द बढ्दै गईरहेकाले पशुपालन व्यवसायनै असुरक्षित बनेको अध्यक्ष लालचनले उल्लेख गर्नुभयो । सदिंयो वर्षदेखि परम्परागत रुपमा पालन गर्दै आईरहेको याकचौरी र भेडाच्याग्रा पालन यहाँका सांस्कृतिक धरोहर भएकाले यसको संरक्षणतर्फ सरोकारवालाहरुले अनुकुलनका उपायहरु अवलम्वन गर्न ठोस कार्ययोजना ल्याउनुपर्ने अध्यक्ष लालचनको भनाई छ ।

 कृषि क्षेत्रमा जलवायुको असर परेको छ । बर्सेनि तापमान वृद्धिले स्याउ,उवा,फापर ,जौ र आलु खेतीमा विभिन्न प्रकारका रोगकिराहरुको संक्रमण गर्दै गईरहेको सम्वादमा उल्लेख गरिएको छ । असमान प्रकारको हिमपातले रैथाने बालीमा देखिएका रोगकिराहरु नियन्त्रण गर्न मुस्ताङ पनि बढ्दो बिषादीको प्रयोग हुन थालेको अध्यक्ष लालचनको भनाई छ । ‘अब त यहाँको उत्पादन अर्गानिक हो वा होईन भन्नेमा नै प्रश्न उठ्न थालेको छ, अन्नबालीहरुमा बर्सेनि रोग किराको प्रकोप बढ्दै छ , अध्यक्ष लालचनले भने, अब तापमान वृद्धिकै कारण रैथाने बालीहरुले बसाई सार्न थालिसकेको छ, यो हामी र हाम्रा लागि निकै चिन्ताको बिषय बनेको छ ।’

 जलवाय परिवर्तनको असर न्यूनिकरण गर्नका लागि मानव क्रियाकलापमा सुधार गर्नुपर्ने देखिएको छ । अन्धाधुन्द सडकको विकास र प्राकृतिक दोहनले जलवायु संकटलाई थप टेवा पु¥याईरहेको सम्वादमा उल्लेख गरिएको छ । वनजंगलको विनास ,वातावरणीय क्षेत्रमा बढ्दै गईरहेको प्रदुषणले जलवायु संकटको चुनौति थपिएको हो ।

 जलवायु सम्वादमा आफ्ना धारणा राँख्दै उपाध्यक्ष जमुना थकालीले पछिल्लो समय सडक यातायात र जलवायु परिवर्तनका हिमाली क्षेत्रको सांस्कृतिक सम्पदामा प्रतिकूल असर पु¥याएको बताउँनुभयो । अत्यन्तै कम वर्षा हुने मुस्ताङमा पछिल्लो समय मध्यम प्रकारको वर्षा हुँदा परम्परागत घरहरु जोखिममा पर्न थालेको उपाध्यक्ष थकालीले उल्लेख गर्नुभयो । पछिल्लो समय मुस्ताङमा वर्षाका कारण परम्परागत घरहरु जोखिममा परेकाले त्यस्ता घरहरु मासेर कंक्रिट घरहरु र बिल्डिङहरु निर्माण भईरहेको छ । 

पछिल्लो समय कालिगण्डकी नदी र शाखा नदीको धार मिचेर स्याउ खेती गर्ने र वस्ती निर्माण गर्ने गरिंदा नदी कटानका चुनौतिहरु थपिएको उपाध्यक्ष थकालीले उल्लेख गर्नुभयो । तीन दशक अघि थासाङ क्षेत्रमा राम्रो स्याउ खेती हुने गरेको स्मरण गर्दै उपाध्यक्ष थकालीले पछिल्लो समय थासाङ क्षेत्रमा स्याउ खेतीले उकालो बसाई सारेको बताउँनुभयो ।

 जलवायु परिवर्तनको असर न्युनिकरण गर्न गाउँपालिकाले वातावरणीय स्वच्छतामा ध्यान दिएको उपाध्यक्ष थकालीले जानकारी दिनुभयो । बियरका बोतल आयातमा प्रतिबन्ध लगाईएको र प्लाष्टिकका झोलाहरु प्रयोग गर्न नपाईने गरी अन्य विकल्पहरु अपनाईएको उहाँले बताउँनुभयो । गाउँपालिकाको सक्रियतामा गाउँ गाउँ र टोल टोलमा सरसफाई समिति गठन गरी सरसफाईका कार्यक्रम अघि बढाउन निर्देशन दिईएको छ ।

 जलवायु परिवर्तनको असर र मुस्ताङमा उल्लेखनीय पर्यटकहरु भित्रिदा पर्यटक तथा स्थानीयको स्वास्थ्य रक्षामा समस्या देखिन थालेकाले गाउँपालिकाद्वारा नियमित बजार अनुगमन गरी कडाई गरिएको बताउँनुभयो ।


प्रतिक्रिया