समून्द्री सतहको झन्डै अठ्तिस सय मिटर अग्लो उचाईमा अवस्थित हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा बिरामी बोक्ने एम्बुलेन्स नहुँदा कतिपय धार्मिक तीर्थालुहरुको लेंक लागेर अकालमा ज्यान गुमाउनु पने बाध्यता छ । बर्सेनि मुक्तिनाथ मन्दिरमा दर्शन गर्न गएका धार्मिक भक्तजनहरुले दान गरेको लाखौ रुपैया मुक्तिनाथ विकास समितिले संकलन गर्ने भएपनि भक्तजनहरुको आपत्कालीन सेवाका लागि एक थान एम्बुलेन्स समेतको ब्यवस्था गर्न नसक्दा मुक्तिनाथमा लेंक लागेर बिरामी परी गम्भिर भएकाहरु निकै ठुलो समस्यामा पर्ने गरेको पाईएको छ ।
मुक्तिनाथ मन्दिर परिसर, मन्दिर जाने सिंढी बाटो र मुक्तिनाथ बजार क्षेत्रमा तीन वटा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर सञ्चालनमा रहेका छन् । यी ट्रिटमेन्ट सेन्टरमा मन्दिर उक्लिदै गरेका र मन्दिरमा दर्शन तथा स्नान गर्दै गरेका धार्मिक भक्तजनहरुलाई अचानक लेंक लागेर बिरामी पर्दा प्रारम्भिक चरणको सामान्य उपचार गरिने व्यवस्था गरिएको छ । तर, लेंक लागेर गम्भिर बिरामी भएका बिरामीलाई थप उपचारका लागि जोमसोम स्थित प्रदेश अस्पताल ल्याईपु¥याउन एक वटा पनि एम्बुलेन्सको व्यवस्था हुन नसक्दा मुक्तिनाथमा बिरामी परेका दर्शनार्थीहरुको उद्दारकार्य निकै ठुलो समस्या र चुनौति देखिने गरेको छ ।
मुक्तिनाथ विकास समितिको जोमसोम स्थित पाँच वटा बैंकमा करिव एघार करोड बढी रकम मौज्याद छ । दुई वर्ष अघि मुक्तिनाथ विकास समिति पूनर्गठन भई नयाँ कार्यसमिति गठन गरिएको भएपनि मुक्तिनाथ विकास समितिले केही पूर्वाधार निर्माणमा बाहेक दर्शनार्थीहरुको स्वास्थ्य रक्षा गर्ने एक थान एम्बुलेन्सको व्यवस्था गर्नेतर्फ चाँसो दिएको देखिदैन । मुक्तिनाथमा भक्तजनहरुले दान गरेको भेटी रुपैया भक्तजनकै हितमा खर्च गरिनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाई छ ।
मुक्तिनाथ मन्दिर परिसर र मन्दिर जाने सिंढी बाटोमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर र स्वास्थ्यकर्मी खटाईएको भएपनि लेंक लागेर गम्भिर बिरामी भएका दर्शनार्थीहरुलाई थप उपचार गराउन जोमसोम झार्नुपर्दा करिव आधी घण्टाको ओरालो सिंढी बाटोबाट डोलीमा चढाएर मुक्तिनाथ पुराङ रानीपौवा बसपार्कमा ल्याउनु पर्ने बाध्यता छ ।त्यसपछि बसपार्कबाट जीप वा बसमा राखेर गम्भिर बिरामी परेका दर्शनार्थीलाई प्रादेशिक अस्पताल जोमसोम लैजानु पर्ने बाध्यता छ ।
मुक्तिनाथ मन्दिर परिसरसम्म सवारी साधन लैजान मिल्ने कच्ची सडक जोडिएको छ । झारकोटबाट छेङ्गुर हुँदै मुक्तिनाथ मन्दिरसम्मै सवारी साधन लैजान मिल्ने भएकाले एम्बुलेन्सको व्यवस्था भएमा लेंक लागेर बिरामी भएका दर्शनार्थीले छिटोछरितो रुपमा भरपर्दो स्वास्थ्य उपचार सेवा पाउँन सक्थे । तर, मुक्तिनाथ विकास समितिले एम्बुुलेन्सको व्यवस्था गर्नेतर्फ कुनै सोच बनाउन सकेको देखिदैन ।
मुक्तिनाथ विकास समितिको अध्यक्ष समेत रहनु भएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मुक्तिनाथ मन्दिरमा एम्बुलेन्सको व्यवस्था गर्ने विषयमा यसअघि पनि समितिको बैठकमा छलफल भएको र आगामी बैठकमा पनि यस विषयलाई उच्चप्राथमिकतामा राखेर छलफल अघि बढाईने बताउँनुभयो । मुक्तिनाथ क्षेत्रमा लेंक लाग्ने दर्शनार्थी बिरामीहरुको उपचारका लागि तीन स्थानमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरको व्यवस्था भएको प्रजिअ शर्माले जानकारी दिनुभयो । मुक्तिनाथमा लेंक लागेर गम्भिर बिरामी भएका दर्शनार्थीहरुको उद्दारका लागि प्रदेश अस्पताल जोमसोमबाट समन्वय गरी एम्बुलेन्स मुक्तिनाथ पठाउने गरिएको प्रजिअ शर्माको भनाई छ । तर,प्रजिअ शर्माले भनेजस्तै प्रदेश अस्पतालको समन्वयमा एम्बुलेन्स मुक्तिनाथ पठाउने जनाइएपनि प्रदेश अस्पताल जोमसोमको एक थान एम्बुलेन्स पनि जीर्ण र पुरानो हुँदा अस्पतालकै सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।
मुक्तिनाथ स्थित हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीमगरले लेंक लागेर गम्भिर भएका बिरामीको उपचारका लागि एम्बुलेन्सको व्यवस्था हुननसक्दा समस्या पर्ने गरेको बताउँनुभयो । मुक्तिनाथ मन्दिरको ट्रिटमेन्ट सेन्टरबाट लेंक लागेका बिरामीलाई प्रारम्भिक उपचार तथा स्टेन्ड मात्रै बनाउने गरिएको उल्लेख गर्दै स्वास्थ्यकर्मी घर्तीमगरले जटिल प्रकृतिका लेंक लाग्ने समस्या भएका बिरामीहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्सको सारै ठुलो खाँचो रहेको बताउँनुभयो ।
मुक्तिनाथ मन्दिर र मन्दिर जाने सिंढी बाटोमा स्थापना भएको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरबाट गत आव २०८२/०८३ मा एक हजार ९५२ जना लेंक लाग्ने समस्या भएका दर्शनार्थी बिरामीहरुले स्थास्थ्य परीक्षण गराएका स्वास्थ्यकर्मी सरोज घर्ती मगरले जानकारी दिनुभयो । लेंक लागेका बिरामीहरुको प्रारम्भिक उपचारका लागि प्रदेश अस्पताल जोमसोमले तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरेको स्वास्थ्यकर्मी घर्तीमगरले बताउँनुभयो । प्रदेश अस्पताल र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट अक्सिजन तथा मेडिकल औषधिको व्यवस्था भईरहेको उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी प्रदेश अस्पताल जोमसोमका अनुसार गत आव २०८२÷०८३ मा दुई हजार १६ जना लेंक लागेका बिरामीहरुले स्वास्थ्य लाभ लिएका छन् । अस्पतालका अनुसार गतवर्ष लेंक लागेर बिरामी भई आएका मध्ये १६ जनाको मृत्यु भएको जनाईएको छ । मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक भक्तजनहरु मध्ये अधिकाँश भारतीय पर्यटकहरुलाई लेंक लाग्ने समस्या देखिने गरेको बताईएको छ ।
समुन्द्री सतहको उच्चउचाईको पर्वतीय क्षेत्रमा विश्राम नगरी आउने दर्शनार्थीहरुलाई लेंक लाग्ने समस्या देखिने गरेको छ । उच्चउचाईको मुक्तिनाथ मन्दिर क्षेत्रमा आउने दर्शनार्थी पर्यटकहरुले उचाईको सन्तुलन मिलाएर आएमा कुनै समस्या नहुने मुक्तिनाथ हाईअल्टिच्यु ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सुवास घर्तीमगरले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली