रसुवा बाढीपछि मुस्ताङ भन्सारमा ५६ करोड राजश्व संकलन

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रुपमा बन्द  नेपाल—चीन उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयको राजश्व अनपेक्षित रुपमा वृद्धि भएको छ ।  मुस्ताङ भन्सारका अनुसार भदौ १० देखि २३ गतेसम्मको तेह्र दिनको अवधिमा ५६ करोड बढी राजश्व संकलन भएको हो ।

 रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक एक नाका बनेको छ ।  भन्सारका अनुसार भदौ १० गतेसम्म नेपाल—चीन उत्तरी कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवस्तु वाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (ईभी) गाडीहरुको भन्सार जाँचपास भई गन्तव्यमा प्रस्थान गरेको भन्सार प्रमुख विदुर चुुडालले जानकारी दिनुभयो । भदौ १० देखि १९ सम्म भन्सार जाचपास तथ्याकलाई हेर्दा दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र दैनिक १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको पाईएको छ ।

 गत भदौ १० गते अघि सामान्य अवस्थाका रहदा नेपाल—चीन उत्तरी कोरलानाकाबाट आशिंक मात्रामा मात्रै मालवस्तु पैठारी हुने गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० अघिको ४० दिनको अवधीमा कोरलानाकाबाट नेपाल भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो ।  भदौ १० अघिको चालिस दिनमा ५२ करोड ८० लाख बढी राजश्व संकलन गरेको थियो । प्रमुख चुडालका अनुसार चालु वर्षको साउनदेखि भदौ २३ गतेसम्म एक अर्ब आठ करोड ८० लाख रुपैया राजश्व संकलन भएको छ । तर, भन्सारका कार्यालयले .विद्युतीय ईभी गाडी र कन्टेनरको जाँचपास भदौ १९ सम्मको मात्रै उपलब्ध गराएको छ ।

 कार्यालयका अनुसार रसुवागढी र तातोपानी नाका संञ्चालन हुँदाको अवस्थामा चालु वर्षको चालिसदिनको फेरोमा १६३ वटा विद्युतीय सवारीको जाँचपास गराईएको थियो । भदौ १० देखि १९ गतेसम्म १३० वटा विद्युतीय सवारीको जाँचपास भएको हो । अघिल्लो चालिस दिनको तथ्यांक विश्लेषण गर्दा पछिल्लो भदौ १९ गतेसम्म भित्रिएका कन्टेनर र विद्युतीय गाडीको जाँचपास तथा राजश्व शतप्रतिशतले वृद्धि भएको भन्सार प्रमुख चुडालको भनाई छ ।

अघिल्लो चालिस दिनमा ५२ करोड ८० लाख राजश्व संकलन हुँदा पछिल्लो तेह्र दिनमा ५६ करोड बढी राजश्व मुस्ताङ भन्सारबाट संकलन भएको छ । भन्सार प्रमुख चुडालले उत्तरतर्फका दुई ठुला नाका बन्द हुँदा  कोरलानाकातर्फ पैठारीको परिमाण बढ्नु स्वभाविक भएको बताउँनु भयो । अहिले तीन वटै नाकाबाट हुने निकासी तथा पैठारीको काम कोरलानाकाबाट भईरहेको उल्लेख गर्नुभयो ।

 चालु आवको साउनदेखि भदौ १९ सम्मको राजश्व बाहेकको भन्सार तथ्यांक अनुसार २९३ वटा विद्युतीय सवारी र २२१ वटा मालवस्तु पैठारी गरिएका कन्टेनरको भन्सार जाँचपास भएको देखिन्छ । भन्सार प्रमुख चुडालका अनुसार पछिल्लो सोमबार र मंगलबार दुईदिनैमै मुस्ताङ भन्सारबाट ३० करोड राजश्व संकलन भएको हो ।

 आव २०८२÷०८३ मा मुस्ताङ भन्सारबाट ६ अर्ब ९२ करोड बढी राजश्व संकलन भएको थियो । उक्त वर्षको भदौ ३१ गतेबाट कोरलानाकालाई पूर्ण रुपमा संञ्चालनमा ल्याईएको थियो ।

 भन्सार प्रमुख चुडालका अनुसार गतवर्ष पैठारीतर्फ १४ अर्ब ४० करोड र निकासीतर्फ २० करोड ५० लाख बढीको आर्थिक कारोबार भएको थियो । गतवर्ष कोरलानाकाबाट तीन हजार २२३ विद्युतीय सवारी (ईभी) गाडी र एक हजार ८७३ वटा मालवस्तु कन्टेनरको भन्सार जाँचपास गरिएको थियो ।———


प्रतिक्रिया