कालिगण्डकी कटान रोक्न जोमसोमका दुई स्थानमा ७ करोड ९९ लाखको तटबन्ध

जोमसोम—धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारलाई कालिगण्डकी कटानबाट जोगाउन बृहत कालिगण्डकी  नदी नियन्त्रण तटबन्ध योजना अघि बढेको छ ।संघीय सरकार अन्तर्गतको जलश्रोत तथा सिंचाई विभागले मुस्ताङको मुटु जोमसोममा कालिगण्डकी नदी नियन्त्रण तटबन्ध योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।


 जोमसोम बजारलाई कालिगण्डकी नदीको कटानबाट जोखिम न्यूनिकरण गर्ने उद्देश्यले जलश्रोत तथा सिंचाई विभागले अनुमानित करिव १० करोड लागत स्टमेट गरेको थियो । विभागद्वारा ठेक्का आह्वान भएसंगै बिहिबार यसको  ठेक्का सम्झौता भईसकेको विभागका सिनियर डिभिजन ईन्जिनीयर प्रेम लासिवाले जानकारी दिए । 

घरपझोङ—४ जोमसोममा निर्माण गरिने तटबन्ध निर्माणको जिम्मा साकुरा ईन्ड्राईन जेभी कन्टक्सन काठमान्डौंले पाएको छ । सो निर्माण कन्टक्सनले कुल लागतको १७ प्रतिशत बिलो छोडेर ७ करोड ९९ लाख लागतमा ठेक्का सम्झौता गरेको हो ।

घरपझोङ गाउँपालिका—४ जोमसोम बजार जोगाउन जोमसोम पक्की पुल तल देखि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको आर्मी क्याम्प जोड्ने झोलुङे पुलसम्मको दुरीको दुई स्थानमा कालिगण्डकी छेक्न तटबन्ध निर्माण गर्ने तयारी भईरहेको विभागका सिनियर डिभिजन ईन्जिनीयर लासिवाले बताए । जोमसोम पक्की पुल र झोलुङे पुलको दुरीमा दुई ठाउँमा गरी कुल ४१८ मिटर लम्बाईको तटबन्ध निर्माण हुने सिनियर डिभिजन ईन्जिनीयर लासिवाको भनाई छ ।


जलश्रोत तथा सिंचाई विभागद्वारा मुस्ताङको जोमसोम स्थित झोलुङे पुलको दाँयातर्फ तल र माथि २ सय मिटर प्लम कंक्रिट वालको तटबन्ध निर्माण हुनेछ भने जोमसोम पक्की पुलतल कालिगण्डकी मोडको टर्निङ भागको बाँयातर्फ २१८ मिटर  तटबन्ध निर्माण गरिने योजना रहेको सवडिभिजन ईन्जिनीयर लासिवाले उल्लेख गरे । पक्की पुल तलको कालिगण्डकी बाँया मोडमा  साँढे ४ मिटर प्लम कंक्रिट वाल र बाँकीमा २÷२ मिटरको दुई लियरमा ग्याबिन वाल लगाईने उनल बताए । 

जोमसोममा निर्माण गरिने तटबन्धको ठेक्का सम्झौता अनुसार साँढे ३ मिटर गहिराई तल र ३ मिटर नदीको सतह भन्दा माथि तटबन्ध बाँध निर्माण हुनेछ । 

जोमसोमका दुई स्थानमा तटबन्ध निर्माण गर्न निर्माण कन्टक्सनसंग एक वर्षको सम्झौता भएको र आगामी आर्थिक वर्षभित्र जोमसोममा तटबन्ध निर्माण गर्ने लक्ष्य रहेको सिनियर डिभिजन ईन्जिनीयर लासिवाले जानकारी दिए ।

‘जोमसोम पक्की पुल र झोलुङे पुलको क्षेत्रमा पर्ने जोखिम युक्त दुई स्थानमा प्लम कंक्रिट तथा ग्याबिन वाल निर्माण हुनेछन्,’ईन्जिनीयर लासिवाले भने,‘  ठेक्का सम्झौता भईसक्यो, जेठको पहिलो हप्तादेखि फिल्डमा धमाधम काम सुरु हुन्छ ।’

जलश्रोत तथा सिंचाई विभागले निर्माण गर्ने जोमसोमका दुई स्थानको तटबन्ध निर्माणले जोमसोम बजारक्षेत्रका सरकारी कार्यालयहरु तथा जोमसोम आसपासका बस्तीहरुलाई कालिगण्डकी नदी कटानको जोखिमबाट धेरै हदसम्म न्यूनिकरण गर्ने प्रदेश सभा सदस्य विकल शेरचनले उल्लेख गरे ।


यसअघि कालिगण्डकी नदी नियन्त्रणका लागि २०७७ सालमा राष्ट्रिय योजना आयोगले जोमसाममा बृहत नदी नियन्त्रण परियोजना ल्याएको थियो । योजना आयोगले घरपझोङ—४ जोमसोम स्थित पञ्चिमतर्फ सशस्त्र प्रहरी बल ३३ नं. गुल्म हेडक्वाटरदेखि जोमसोम पक्की पुलसम्म १ हजार १ सय ५० मिटर र जोमसोम पक्की पुलदेखि जोमसोम कोरला राजमार्ग सडकको पूर्व÷उत्तरतर्फ ९ सय मिटर लामो तटबन्ध निर्माण गरेको थियो ।

 संघीय आयोजना अन्तर्गत निर्माण भएको उक्त तटबन्ध ९ करोड ४२ लाख लागतमा एपेक्स ÷अमित जेभीले निर्माण सम्पन्न गरेको थियो ।



प्रतिक्रिया