मुक्तिनाथमा ग्रान्ड यार्तुङ प्रेसमिट सम्पन्न

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवामा भाद्र ८ देखि १२ गते हुने यार्तुङ पर्व सम्वन्धी प्रेसमिट शुक्रबार सम्पन्न भएको छ । जनप्रिय युवा क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरी, वडाध्यक्ष प्रमेश गुरुङ र मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङको उपस्थितीमा यार्तुङ प्रेसमिट आयोजना गरिएको हो ।

पत्रकार सुन्दरकुमार थकालीले सहजीकरण गर्नुभएको यार्तुङ प्रेसमिट कार्यक्रममा यसवर्षको यार्तुङ थप आकर्षक र विशेष हुुने बताईएको छ । क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले यार्तुङ पर्वलाई भव्य र सम्भ रुपमा सफल बनाउँन विभिन्न सरोकारवालाहरुबाट आर्थिक सहयोग उपलब्ध भएको बताउँनुभयो ।

यार्तुङ पर्वमा कदम घोडा दौड प्रतियोगिता ,बार्का घोडा दौड प्रतियोगिता, पुरुष तथा महिला आर्चरी, घोडा चढेर खाता टिप्ने र फुटबल प्रतियोगिता संञ्चालन गर्ने तयारी भईरहेको क्लवका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । धार्मिक तथा परम्परागत संस्कृति जोगाउन जनप्रिय युवा क्लव कटिबद्ध रहदै आईरहेको र यसपटकको यार्तुङ पनि त्यसको निरन्तरता भएको उहाँले बताउँनुभयो । यार्तुङ पर्वमा ख्याति प्राप्त गायक शिव परियारसहित सांगितिक प्रस्तुती हुनेछ । सांस्कृतिक कार्यक्रममा स्थानीय महिलाहरुको समेत सांस्कृतिक नृत्य प्रस्तुती रहने जनाईएको छ ।

 वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले मुक्तिक्षेत्रमा खिङ्गा गाउँबाट औपचारिक रुपमा यार्तुङ पर्व सुरु हुने बताउँनुुभयो । यार्तुङ पर्वका लागि गाउँपालिकाबाट १२ लाख र मुक्तिनाथ विकास समितिबाट ५ लाख बजेट विनियोजन भएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

 यसैगरी मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङले यार्तुङ पर्वले पर्यटन व्यवसायीहरुलाई बेमौसमी घाटा पूर्ति गर्न राहत मिलेको बताउँनुभयो । यार्तुङ पर्वमा आउने पर्यटक तथा स्थानीय दर्शक र खेलाडीको बस्न र खानेको कुनै समस्या नहुने बताउँनुभयो ।


प्रतिक्रिया