प्रधानमन्त्रीको भ्रमणले मुस्ताङको चर्चा चुलियो

प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को मुस्ताङ आगमनले हिमाली जिल्ला मुस्ताङको चर्चा थप चुलिएको छ । प्रधानमन्त्री शाह मुस्ताङ आउने खबरले हिमाली जिल्ला मुस्ताङको चर्चा थप चुलिएको हो ।

 बहालवाला प्रधानमन्त्रीको रुपमा मुस्ताङ भ्रमण गर्ने प्रधानमन्त्री शाह पहिलो भने हुनुहुन्न । प्रधानमन्त्री शाह अगाडी पूर्व प्रधानमन्त्री सुशिला कार्की पनि मुस्ताङ आउनु भएको थियो । कार्की काठमान्डौंबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट सिधै मुक्तिनाथ क्षेत्रमा अवतरण गर्नुभएको थियो । तर, हालका बर्तमान प्रधानमन्त्री वालेन्द्र शाह बर्खायामको मौसममा समेत बेनी—जोमसोम सडकखण्ड सास्ती व्यवहोर्दै आफैले सवारी हाँकेर अगौटे÷पछौटेका साथ शनिबार मुस्ताङको जोमसोम आईपुग्नु भएको थियो । सोही दिन साँझ प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरी जोमसोमको होटल ओम्स होममा बाँस बस्नु भएको थियो । प्रधानमन्त्री शाह आईतबार बिहान मुस्ताङबाट काठमान्डौतर्फ प्रस्थान गरिसक्नु भएको छ ।

सामान्य रुपमा हेर्दा प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी पारिवारिक जस्तो देखिएपनि यसले यहाँको पर्यटनक्षेत्रमा निकै ठुलो उभार आउने अपेक्षा गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्री शाहको मुस्ताङ आगमनले यस क्षेत्रको पर्यटन क्षेत्रमा निकै ठुलो टेवा पु¥याउन अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ज्यु जहाँ जानु हुन्छ, त्यसक्षेत्रको पर्यटन क्षेत्रको चर्चा निकै चुलिएको उल्लेख गर्दै मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष लालचनले उहाँको मुक्तिनाथ दर्शनसहितको मुस्ताङ भ्रमणले यहाँको धार्मिक पर्यटन क्षेत्रलाई थप चलाएमान बनाउनसक्नेछ ।

 प्रधानमन्त्री शाह ज्यूले मुक्तिनाथको दर्शन गरी पवित्र धार्मिक स्थल मुक्तिनाथको धार्मिक आस्था,विश्वास र गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म सन्देश प्रवाह गरिदिनुभएको अध्यक्ष लालचनले बताउँनुभयो । प्रधानमन्त्री ज्यूको पहिलो स्वदेश भ्रमण मुस्ताङबाटै सुरु भएको र त्यो पनि सडकमार्गबाटै भएकाले सडक पूर्वाधार विकासतर्फ पनि प्रधानमन्त्री शाहले ध्यान दिनुहुने अध्यक्ष लालचनको उल्लेख गर्नुभयो ।‘राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग निकै अस्तव्यस्त छ, यो प्रधानमन्त्री ज्युले प्रत्यक्ष अनुभव गर्नु भएकै छ,’ उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष लालचनले भन्नुभयो , बेनी—जोमसोम सडक दीर्घकालिन र समृद्ध हुन आवश्यक छ, यहाँका संसार धेरै मानिस मुस्ताङ घुम्न आउँछन् ।

 संघका अध्यक्ष लालचनले कोरलानाका हुँदै तिब्बतको मानसरोवर धार्मिक तिर्थाटनका लागि कोरलानाकामा ईमिग्रेसन कार्यालयलाई सक्रिय बनाएर भिसा समेतको सुविधा हुन सके मुस्ताङ पर्यटनक्षेत्रमा कायापलट हुने बताउँनुभयो । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि नेपाली नागरिक जस्तै अर्थनिषेधित क्षेत्रलाई फुकुवा गर्न सकेमा भारत,नेपाल र चीनबीच त्रिदेशीय पर्यटनमार्ग थप सहज हुने संघका अध्यक्ष लालचनको भनाई छ ।

 प्रधानमन्त्री शाहको निजी मुस्ताङ भ्रमण भएपनि  उहाँको भ्रमणले मुस्ताङको पर्यटन क्षेत्रले थप फड्को मार्न सक्ने मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ज्युको मुस्ताङ भ्रमण हुन यहाँका पर्यटन व्यवसायीहरुका लागि निकै ठुलो अवसर भएको उहाँको भनाई छ । प्रधानमन्त्री शाहबाट मुक्तिनाथको दर्शनले धार्मिक आस्था र यसक्षेत्रको महत्वलाई थप उजागर गर्न सफल भएको एशोसिसनका अध्यक्ष गुरुङले बताउँनुभयो ।

 मुस्ताङको पवित्र धार्मिक तिर्थस्थल मुक्तिना मन्दिरमा सन् २०१८ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीको उक्त भ्रमणपछि मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको थियो । मोदीको भ्रमण अघि औसत वार्षिक पचासहरुको संख्यामा विदेशी पर्यटक आउने गरेकोमा पछिल्लो समय त्यो संख्या बढेर पाँच गुणा पुगेको एक्यापको तथ्यांकले देखाउँछ ।

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । यसपटक प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण र मुक्तिनाथको दर्शनले यसक्षेत्रको धार्मिक पर्यटनका नयाँ आयाम थपिने विश्वाश गरिएको छ ।



प्रतिक्रिया