मुक्तिनाथमा छ महिना लामो महायज्ञ समापन

मुस्ताङ, १६ असोज ।

हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो विशाल महायज्ञ आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा त्यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो ।

यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत्र रामनवमीदेखि विशाल महायज्ञ सुरु गरिएको थियो । त्यहाँ स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार त्रिवेणी स्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ धामसम्म विशाल रथयात्रा गर्दै महायज्ञ आयोजना गरिएको थियो ।

मुक्तिनाथमा स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार छ महिने  महायज्ञ आयोजना भएको आज बडादसैंको शुभदिनमा विधिवत रुपमा पुजापाठ सहित महायज्ञ पूर्ण आहुती विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो ।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसंगै पूनः मुक्तिनाथधामबाट रथयात्रा सुरु भई पूनः त्रिवेणी स्थित गजेन्द्र मोक्ष दिव्यधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि गजेन्द्र मोक्ष धामबाट शुभारम्भ भएको रथयात्रा यहाँ महायज्ञ सकेर दिपावलीको दिनसम्म पुग्ने गरी  म्याग्दी,बाग्लुङ,पर्वत,पोखरा, देवघाट हुँदै त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाममा समापन हुने उहाँले बताउँनुभयो ।


प्रतिक्रिया