मुस्ताङमा लेंक लागेर बाह्र महिनामा ११ जनाको मृत्यु

जोमसोम— हिमाली जिल्ला मुस्ताङमा लेंक लागेर एक वर्षको अवधिमा ११ जना पर्यटकको मृत्यु भएको छ । २०८१ सालको बैशाखदेखि हालसम्म ९ जना विदेशी पर्यटकसहित २ जना नेपाली पर्यटकलाई लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङ जिल्लाको भ्रमणका क्रममा मुस्ताङ आएका पर्यटक मध्ये लेंक लागेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी भारतीय पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउने मध्ये  ५ जनाको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथमा , ५ जनाको मुस्ताङको घरपझोङ—४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका—२ मा लेंक लागेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । लेंक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समुहका पर्यटक रहेको उहाँले बताउँनुभयो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङको रेकर्ड अनुसार २०८१ सालको  बैशाखमा २ जना, जेठमा १ जना, असोजमा २ जना, कार्तिकमा ५ जना र पुस महिनामा १ जना पर्यटकलाई लेंक लागेर मृत्यु भएको हो । लेंक लागेर मृत्यु हुनेमा एकजना ६३ वर्षीय अमेरिकन नागरिक समेत रहेको प्रहरी निरीक्षक अधिकारीले जनाउँनुभयो ।

यसअघिको अघिल्लो वर्षमा  १७ जनाले लेंक लागेर ज्यान गुमाएका थिए । जसमध्ये  ११ जना विदेशी नागरिकसहित ६ जना नेपालीको लेंक लागेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।  २०८० साल र २०८१ सालमा गरी मुस्ताङका कुल २८ जनाले लेंक लागेर ज्यान गुमाएका हुन् । जसमध्ये २० जना विदेशी नागरिकसहित ८ जना नेपालीको लेंक लागेर मृत्यु भएको हो ।

मुस्ताङमा २०८१ सालमा लेंक लागेर मृत्यु हुनेको संख्याको तुलना गर्दा २०८२ सालर्मा ३५ प्रतिशतले कम भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकले देखाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय ,स्थानीय तह  र प्रदेश अस्पताल लगायतका सरोकारवाला निकायहरुले लेंक लाग्ने समस्या र समाधान सम्वन्धि सचेतनामूलक कार्यक्रम, प्रचार÷प्रसार र पर्चापम्प्लेट वितरण लगायतका अभियान सञ्चालन भईरहेकाले लेंक लागेर मृत्यु हुनेको सख्या न्यूनिकरण हुँदै जान थालेको हो ।

 यसैक्रममा प्रदेश स्वास्थ्य कार्यालयले लेंक लाग्ने समस्या र समाधान सम्वन्धि पर्चा पम्प्लेट छपाई गरी सचेतनामूलक कार्यक्रममा सहकार्य गर्दैआईरहेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाले पनि लेंक लाग्ने समस्या सम्वन्धि वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रिने पर्यटकलाई सचेतना अभियानमा सहकार्य गर्दैआईरहेका छन् ।

 बेसीको समथरिलो स्थानबाट उच्चहिमाली क्षेत्रमा हतार हतारमा बिश्राम नगरी यात्रा गर्दा पर्यटकलाई लेंक लाग्ने समस्या हुन्छ । विशेषत ः समून्द्री सतहको ३ हजार ८ सय मिटरको उचाईमा यात्रा गर्दा लेंक पर्यटकलाई लेक लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

 उमेर कटेका ज्येष्ठ नागरिक,शारिरीक रुपमा अशक्त र दीर्घ रोगको औषधि सेवन गर्ने पर्यटकलाई लेंक लाग्ने गरेको पाईएको छ । समथर स्थानबाट मुस्ताङ आउँदा ठाउँ ठाउँमा विश्राम गरी यात्रा गरेमा लेंक लाग्ने समस्या नआउने प्रहरीको भनाई छ । मुस्ताङमा जिल्ला प्रहरी कार्यालय लेंक लाग्ने समस्यालाई न्यूनिकरण गरी पर्यटकको स्वास्थ्य रक्षा गर्ने उद्देश्यले सवारी चालकसंग एक मिनेट र यात्रुसंग २ मिनेट कार्यक्रम अभियान चलाईरहेको छ । 

सडकमा डिउटीमा खटिएका सुरक्षाकर्मीले पर्यटकलाई सवारी रोकेर लेंक लाग्ने सम्वन्धि जानकारी दिने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ईञ्चार्ज भुवन क्षेत्रीले जानकारी दिनुभयो । ट्राफिक ईञ्चार्ज क्षेत्रीले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सम्वन्धित ट्राभल एजेन्सी र पर्यटन व्यवसायीहरु समेत लेंक लाग्ने समस्याका बारेमा जानकारी दिन आवश्यक रहेको औल्याउनुभयो ।



प्रतिक्रिया