मुस्ताङमा ट्राफिक दरबन्दी न्यून

 धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ट्राफिक जनशक्ति न्यून हुँदा ट्राफिक  व्यवस्थापनमा समस्या देखिन थालेको छ । पर्यटकीय याममा (बेनी—जोमसोम)सडकमार्ग हुँदा मुस्ताङ भित्रिने पर्यटक सवार सवार साधनको ताँतीले यहाँको सवारी साधनको व्यवस्थापनमा समस्या र चुनौतिहरु देखा पर्न थालेका हुन् ।

मुस्ताङमा ट्राफिक दरबन्दी १० जनाको छ ।तर,कायम भएको हालको ट्राफिक जनशक्ति संख्या न्यून हो । मुस्ताङमा कार्यरत ट्राफिक जनशक्तिले मुस्ताङको तल्लो क्षेत्र घाँसादेखि उपल्लो मुस्ताङको कोरलानाकासम्म ट्राफिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले मुस्ताङमा ट्राफिक दरबन्दी थप गर्नुपर्ने आवश्यकता देखिएको हो ।

 राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग निर्माणधीन अवस्थामा रहेको र मुस्ताङमा पछिल्लो समय बर्सेनि पर्यटक तथा सवारी साधनको चाप अत्यधिक बढेकाले ट्राफिक व्यवस्थापनकार्यमा केही असहजता देखिन थालेका छन् । मुस्ताङ भित्रिने पर्यटक तथा सवारी साधनहरुलाई सडकको अवस्था,मौसमको अवस्था र हाईअल्टिच्युड जोखिमको अवस्था लगायत विभिन्न बिषयमा जानकारी सूचना प्रवाह गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको जिम्मेवारी बढी हुने जिल्ला ट्राफिक कार्यालय मुस्ताङ ईञ्चार्ज एवं ट्राफिक प्रहरी सहायक निरीक्षक रामबहादुर पुनले उल्लेख गर्नुभयो । 

निर्माणधीन सडक,अप्ठ्यारो मोड,बाढी,पहिरो र  हाईअल्टिच्युड सिग्नेस लगायतका चुनौतिहरु मुस्ताङ भित्रिने पर्यटकहरुलाई जानकारी दिनुपर्ने भएकाले पनि मुस्ताङमा ट्राफिक जनशक्ति वृद्धि गर्नुपर्ने आवश्यकता रहेको ट्राफिक ईञ्चार्ज पुनको भनाई छ ।

मुस्ताङमा सवारी साधनको व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि मुस्ताङ र म्याग्दीको सीमाना घाँसा,लेते, मार्फा, जोमसोम,कागबेनी र मुक्तिनाथमा भएका जनशक्तिलाई परिचालन गर्ने गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा मुस्ताङमा ट्राफिक व्यवस्थापन गरिएको छ ।

 पछिल्लो समय वार्षीक सात लाख बढी पर्यटक मुस्ताङ भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । बर्सेनि असोज र कार्तिक महिनामा दिनहु सयौं सवारी साधन एकैसाथ मुस्ताङ भित्रिन्छन् । यसैगरी फागुनदेखि जेठ अन्तिमसम्म मुस्ताङमा पर्यटक तथा सवारी साधनको चाँपले थेगिनसक्नु हुन्छ । पर्यटकीय पिक समयमा हाल कायम रहेका ट्राफिक दरबन्दी संख्याले सवारी व्यवस्थापन तथा नियमित चेकजाँच गर्नमा हम्मेहम्मे पर्ने गरेको ट्राफिक ईञ्चार्ज पुनले बताउँनुभयो ।

जिल्ला ट्राफिक कार्यालय समग्र मुस्ताङ जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी रहेपनि उपल्लो मुस्ताङमा मनाईने विषेश चाडपर्वलाई मध्यनजर गरी ट्राफिक प्रहरी खटाईने गरिएको छ ।ट्राफिक ईञ्चार्ज पुनका अनुसार हालको ट्राफिक जनशक्ति कम भएपनि कायम रहेका जनशक्तिबाटै यहाँको सवारी व्यवस्थापनमा काम गरिरहेको बताउँनुभयो ।

 मुस्ताङमा ट्राफिक प्रहरीबाट नियमित रुपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनाको औसत निकै कम रहेको उल्लेख गर्नुभयो । सवारी दुर्घटनालाई अझै न्यूनिकरण गर्न ट्राफिक सडक चिन्हहरु ठाउँ ठाउँमा राख्नुपर्ने बताउँनुभयो । सडक पूर्वाधार सम्वन्धी व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक कार्यालयले सरोकारवाला निकायहरुसंग अनुरोध गरिएको ईञ्चार्ज पुनले बताउँनुभयो । ‘सवारी साधनको चाँप बढेपछि दुर्घटनाको औसत वृद्धि हुनु स्वभाविकनै हो,ईञ्चार्ज पुनले भन्नुभयो,‘ तर, हामीले सवारी दुर्घटना र लेंक लाग्ने जोखिम कम गराउन ट्राफिक प्रहरीबाट नियमित कार्यक्रम गरिएको छ ।’’

 मुस्ताङमा ट्राफिक प्रहरीले सवारी साधनलाई कारवाही गरी राजश्व संकलन गर्नेमा भन्दा पनि कसरी हुन्छ दुर्घटना हुन नदिने लक्ष्य रहेको छ । पर्यटक तथा सवारी चालकहरुलाई सडकको अवस्था,मौसम र लेंक लाग्ने जोखिमका बारेमा जानकारी दिने गरिएको ईञ्चार्ज पुनले बताउँनुभयो ।


प्रतिक्रिया