झन्डै पाँच सय वर्ष अघि यहाँको घरपझोङ—५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डा खोलादेखि तल्लो भू—भाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।
राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाईलिएको बस्ती हो मुस्ताङको घरपझोङ—१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यससमय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदाय मध्येको एक ध्याकल फोपे समुहलाई आफ्नो राज्यको सीमाना कुर्न र त्यहाँको रेखदेखका लागि वस्ती बसालेका थिए भन्ने भनाई छ ।
समून्द्री सतहको करिव तीन हजार मिटर भन्दा माथिको अग्लो उचाईको भिरालो स्थान चाखोपानी खोलाको भीरको थुम्कोमा सीमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा ईन्द्रप्रसाद थकालीले बताउँनुहुन्छ । सुरुवाती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समुहलाई बस्ती बसालेर स्थान्तरण गरेको अगुवा थकालीको भनाई छ । त्यससमय यहाँ बस्ती बसालेर सीमाना रक्षाका खटिएका समुहलाई दुःख बिरामी हुदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पुजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समुहलाई पनि चिमाङ गाउँमै स्थान्तरण गरेका अगुवा थकालीको भनाई छ । त्यसपछि यहाँ ठिनीका राजाको सीमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताईन्छ ।
यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकबाट कालिगण्डकी पारी अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रुपमा परिचित छ । यहाँ सुरुवाती चरणमा ३५ घरधुरीको बसोबास रहेकोमा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीको रुपमा परिणत भएको छ । सीमा रक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एक तिहाई घरधुरीले बस्ती छाडिसकेको चिमाङका अगुवा ईन्द्रप्रसाद थकाली बताउँनुहुन्छ । यहाँका कतिपय घरधुरी बैकल्पिक ब्यापार व्यवसाय र रोजगारीका लागि पोखरा—काठमान्डौ लगायतका सहरहरुमा पलायन भएको बताउँनुभयो । गाउँमा कृषि बाहेक अन्य सम्भावना नरहेको र भौगोलिक रुपले समेत विकट स्थानमा रहेकाले बस्तीमा पुराना मानिसहरुको संख्या घट्दै जान थालेको अगुवा थकालीले जनाउँनुभयो ।
त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरधुरीले बस्ती त्यागे पनि रुकुम,धादिङ र म्याग्दी जिल्लाबाट मानिसहरु यहाँ आएर बस्न थालेका छन्। यहाँ स्थानीय दलित समुदायको पनि करिव ५÷६ घरधुरी रहेको उहाँको भनाई छ । तिन गाउँले थकाली समुदायको रुपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी ,स्याङ र चिमाङ गाउँ रहेका छन् ।
यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरुको बनाबट निकै लोभलाग्दो र आर्कषण देखिन्छन् । निलगिरी हिमालको फेंदैमा अवस्थित घना जंगलको मुनि चिमाङ गाउँ अवस्थित छ । यस गाउँलाई थकाली समुदायको सांस्कृतिक गाउँको रुपमा समेत परिचित छ ।
यहाँको विषम भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भएपनि त्यहाँ बसोबास गर्नेहरुको दैनिकी निकै कष्ठकरनै थियो । नागरिकहरुको आधारभूत सेवा शिक्षा,स्वास्थ्य, कृषि, खोनपोनी र प्रशासनिक लगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, संञ्चार,बिद्युत र कालिगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिकहरुले विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए ।
पछिल्लो समय यस गाउँको स्वरुप पहिलेको भन्दा निकै परिवर्तन आईसकेको छ । गाउँमा आधारभूत तह(१—५) सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर ,यहाँ बस्ती बिस्तापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउने लगायतका कारण यहाँको बिद्यालयमा बिद्यार्थी संख्या निक्कै कम छ । यसैगरी यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भईसकेको छ । सेवाबाट चिमाङका नागरिकहरुले साधारण उपचार गाउँमै पाएको अगुवा ईन्द्रबहादुर थकालीको भनाई छ । उहाँका अनुसार गाउँमा विद्युत ,संञ्चार,सडक लगायतका सेवाको पहुँच बिस्तार भएकाले चिमाङमा सम्भावना ढोकाहरु खुलेको उहाँले बताउँनुभयो । हालै कालिगण्डकी नदीम पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँ सम्म मोटर गाडी पुग्न थालेको छ ।
जलवायु परिवर्तन र वन्यजन्तुको आतंकले यहाँको चिमाङ गाउँका स्थानीयलाई निकै हैरानी बनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ बगैचा व्यवस्थापन गर्ने समयमा हिउँ नपर्दा कृषि उत्पादनमा प्रतिकुल असर पुगेको अगुवा थकाली बताउँनुहुन्छ । यहाँ स्याउ लगायतका अन्नबालीलाई पर्याप्त चिस्यान चाहिने र अनुकुल समयमा हिउँ नपर्दा उत्पादन कम हुने अन्नबालीमा विभिन्न रोगकिराहरुको संक्रमण देखिएको उहाँले बताउँनुभयो ।
यसैगरी चिमाङका किसानले मेहनतले गरेको खेती समेत संरक्षित बन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको छ । यहाँका किसानले स्याउ र अन्य अन्नबाली जोगाउन रातिको समय थाल,टिन र ढ्याङ्गो ढटाएर भालु धपाउने काम गर्दैआईरहेका छन् । यहाँ कृषकहरुले उत्पादन गरेको अन्नबाली जोगाउन वैज्ञानिक रणनीति अख्तियार गर्नुपर्ने अगुवा थकालीले सुझाउँनुभयो । यहाँ केही वर्षअघि भालु धपाउँने यन्त्र प्रयोग गरिएको भएपनि त्यो सफल नभएको उहाँले जनाउँनुभयो । एक्यापले यहाँको खेतीयोग्य जमिनमा तारबार लगाएको भएपनि भालुको आतंक नरोकिएको उहाँको भनाई छ ।
यहाँको प्राचिन बस्ती चिमाङ पर्यटकीय गन्तब्यको रुपमा पनि निकै सम्भावना बोकेको गाउँको रुपमा लिने गरिएको छ । यहाँको चिमाङ गाउँबाट धौलागिरी हिमाल,धौलागिरी आधार शिविर , मानापाथी हिमाल र निलगिरी हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ । यसैगरी यहाँबाट कालिगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ,मार्फा,छैरो,टुकुचे, कोवाङ र नाउरीकोट लगायतका आधा दर्जन गाउँहरु सुन्दर देखिने गर्छ ।
चिमाङ गाउँ जंगल सफारीका लागि प्रचुर सम्भावना रहेको छ । गाउँबाट केही माथि सम्म जंगल सफारीका लागि पदमार्ग निर्माण भएको छ । गाउँ माथिको जंगलमा गुफा अवस्थित छ । यहाँ राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग रहेपनि पछिल्लो समय पदमार्गमा पर्यटक हिड्न छोडिसकेको र पदमार्ग पनि जीर्ण बन्दै जान थालेको छ ।
गाउँमा रहेका पुराना घरहरु पनि अहिले जोखिममा परेका छन् । जलवायु परिवर्तका कारण वर्षा धेरै हुन थालेपनि भिरालो सतहमा अवस्थित यहाँको चिमाङ गाउँ जोखिममा रहेको अगुवा थकालीले बताउँनुभयो । ‘पहिलापहिला त ठिकै थियो, अहिले त बढी पानी पर्न थालेको छ,’ अगुवा थकालीले भने,‘ वर्षाले भीरनै भाँसियो भने त बस्तीनै नरहने पो होकी भन्ने चिन्ता छ।’
गाउँका पुराना परम्परागत गुजमुच्च घरहरु पनि वर्षौवर्षदेखिको घामपानीको असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरहरुको संरक्षण गर्न चाँसो नपुगेकै कारण कतिपय घरहरुको अवस्था दयनीय रहेको उहाँले बताउँनुभयो । सरकारले सांस्कृतिक मौलिकता झल्काउने यसप्रकारका पुराना घरहरु जोगाउन अनुदानका कार्यक्रम ल्याउन सकेमा राम्रो हुने उहाँले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली