०६४ सालदेखि दामोदरकुण्ड र घिमे ठाँटी धर्मशालामा निःशुल्क भोजनको व्यवस्था

यहाँको लोघेकर दामोदरकुण्ड धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकलाई दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समून्द्री सतहको चार हजार ९०० मिटरको उच्चउचाईमा अवस्थित प्रसिद्ध धार्मिक स्थल जाने पदमार्ग घिमे ठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रवन्ध मिलाईएको हो । 

 दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकार भित्र रहेको पवित्र धार्मिक स्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीहरुका लागि म्याग्दीको अन्नपूर्ण—३ नारच्याङ स्थित पूण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको हो ।

 उक्त समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापन समिति संयोजक मोहन पुर्जाले बर्सेनि बर्खायामको दुई महिना उपसमितिले संकलन गरेको चन्दाबाट निःशुल्क भोेजनको व्यवस्था मिलाउँदै आईरहेको बताउँनुभयो । यसवर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकुल याम सुरु भएकाले जेठ २५ गतेखि साउन महिनासम्म दामोदरकुण्ड तीर्थयात्रीलाई खाने र बस्नेको व्यवस्थित प्रवन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गर्नुभयो ।

 नारच्याङ स्थित पूण्यश्वर महादेव शिवालयका उपसमिति कोषाध्यक्ष समेत रहेका पूर्जाले दामोदरकुण्ड तीर्थयात्रीको  सहजताका लागि आफ्ना आफन्तजनहरुसंग चन्दा सहयोग लिएर आर्थिक स्रोत जुटाउने गरेको उल्लेख गर्नुभयो । म्याग्दी स्थित गलेश्वरधामबाट बर्सेनि मुक्तिदान उठाउने गरेको र उपसमितिको आशिंक अक्षय कोषबाट खर्चिने गरी दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजन लगायतका व्यवस्था गरिएको व्यवस्थापक पूर्जाको भनाई छ ।

 उपसमितिद्वारा संकलित चन्दा दानको रकम खर्चिने गरी दामोदरकुण्ड र घिमे ठाँटीमा भोजन व्यवस्थापन गर्न चारजना जनशक्ति खटाईएको छ । दामोदरकुण्डमा दुई जना र घिमे ठाँटीमा दुई जना कर्मचारीले भोजनको व्यवस्था मिलाउन खटाईएको छ । यस कार्यका लागि बर्सेनि दुई महिना भोजनको व्यवस्था मिलाउँदा पाँच लाख बढी खर्च हुने व्यवस्थापक पूर्जाले उल्लेख गर्नुभयो ।

 विस २०६४ सालदेखि नारच्याङ स्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आईरहेकोमा कोभिडको समयमा दुई वर्ष  दामोदरकुण्ड तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पूर्जाले जानकारी दिनुभयो ।

 दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउन याराका स्थानीय टाँसी गुरुङलाई घिमे ठाँटीबाट दामोदरकुण्डसम्म घोडाद्वारा खाद्यन्न ढुवानी गर्ने जिम्मेवारी दिईएको छ । दामोदरकुण्ड तीर्थयात्रीका लागि घिमे ठाँटी र दामोदरकुण्ड धर्मशालामा ओढ्ने आ्छ्याउने लगायतका बन्दोवस्तीका सामानहरुको व्यवस्था मिलाईएको छ । दामोदरकुण्ड यात्रीलाई निःशुल्क भोजनसहितको व्यवस्था गरिएपछि दामोदरकुण्ड जाने तीर्थयात्रीका लागि निकै ठुलो सहयोग मिलेको लोघेकर दामोदरकुण्ड —४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिनुभयो । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा झनै कठिन हुने भएकाले यसप्रकारको सुविधाले दर्शनार्थीहरुको यात्रालाई सहज बनाएको उहाँले उल्लेख गर्नुभयो ।

 नेपाल—चीन उत्तरी क्षेत्रको निकट रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दुधर्मालम्बीहरुका लागि निकै ठुलो धार्मिक गन्तब्यको रुपमा लिने गरिन्छ । यहाँ पुग्ने धार्मिक तीर्थयात्रीहरुको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले विस. २०७८ सालमा पुरुष र महिलाका लागि अगल÷अलगत बस्न मिल्ने गरी दुई वटा धर्मशाला निर्माण भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । गाउँपालिकाले दामोदरकुण्डको केहीतल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको थियो भने दामोदरकुण्ड पदमार्गको घिमे ठाँटीमा पनि दुई वटा धर्मशाला गाउँपालिकालेनै निर्माण गरेको अध्यक्ष बिष्टको भनाई छ । दामोदरकुण्ड तीर्थयात्रीलाई त्यहाँ जादा  आश्रयस्थलको कुनै समस्या नहुने अध्यक्ष बिष्टले बताउँनुभयो ।

यसैगरी एक्याप लोमान्थाङले पनि दामोदरकुण्डमा एक र घिमे ठाँटीमा धर्मशाला निर्माण गरेको जनाएको छ । दामोदरकुण्ड धर्मशालाको क्षमता करिव १०० जना बढीको छ भने घिमे ठाँटीमा रहेको धर्मशालाको क्षमता करिव ४० जना बढीको रहेको छ ।

 बर्सेनि जेठदेखि साउन महिनासम्म दामोदरकुण्डमा तीर्थयात्रीहरु पुग्ने गर्छन । उच्चउचाई ,कठिन भूगोल र चुनौतिपूर्ण पदयात्राका कारण अन्यसमयमा दामोदरकुण्डको पदयात्रा खासै चल्दैन । हिउँदयाम सकिएर बर्खायाम सुरु भएकाले जेठदेखि साउनसम्म दामोदरकुण्ड दर्शन गर्ने उपयुक्त अनुकुलयाम होे । 

 मुस्ताङको जोमसोमबाट  उपल्लो मुस्ताङको चराङ हुँदै ध्येखोला झरेर उकालो ठडिएपछि यारा गाउँ आईपुग्छ । दामोदरकुण्ड पदमार्गको घिमेठाँटी केहीतलसम्म कच्चि सडक पुगेको छ । घिमे ठाँटीबाट दामोदरकुण्डसम्म पुग्न पदैलयात्रा वा घोडा चढेर जानुपर्ने हुन्छ । दामोदरकुण्ड जाने तीर्थयात्रीहरुलाई लक्षित गरी यारा र घाराका स्थानीयले घोडाको सशुल्क व्यवस्था गरेका छन् । घिमे ठाँटीबाट दामोदरकुण्डसम्म आउने र जाने घोडाको सुविधाका लागि प्रति व्यक्ति पन्ध्रहजार शुल्क बुझाउनुपर्ने हुन्छ ।

 पछिल्लो समय प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड र उक्त पदमार्गमा भक्तजनहरुले मिल्काएको फोहोरले प्रदुषण बढेका कारण एक्याप लोमान्थाङले फोहोर व्यवस्थापन अभियान संञ्चालन गरेको छ । एक्यापले दामोदरकुण्ड र पदमार्ग क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने गरी पूर्वाधार निर्माण गरेको र सो क्षेत्रमा फोहोर नगर्न नपाईने सन्देशसहितका सूचनामूलक साईनबोर्डहरु टाँस गरेको छ । दामोदरकुण्ड क्षेत्रका तीन कुण्डमा एक्यापले साईनबार्ड राखेको प्रमुख पौडेलको भनाई छ ।

 अनुकुल यामसहित यतिबेला दैनिक १०० भन्दा बढीले दामोदरकुण्डको दर्शन गर्ने गरेको एक्याप लोमान्थाङले उल्लेख गरेको छ । अनुकुल यामसंगै दामोदरकुण्ड पदयात्रीहरु बढेसंगै स्थानीय घोडा व्यवसायी र होटलहरुको आर्थिक विकासमा टेवा पुगेको छ ।

 उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—५ यारादेखि दामोदरकुण्डको दुरी (१६.५) किलोमिटर रहेको छ । घिमे ठाँटीदेखि दामोदरकुण्डको औसत पदयात्रा करिव ६ घण्टाको रहेको छ । एक्याप प्रमुख उमेश पौडेलका अनुसार दामोदरकुण्ड पदयात्राका लागि घिमे ठाँटीदेखि  समून्द्री सतहको पाँच हजार ३३२ मिटरको उचाईमा रहेको घिमे डाँडाको दुरी तीन दशमलव ५ किलोमिटर रहेको छ । घिमे डाँडाबाट ओरालो हुँदै भार्सा खोला समून्द्री सतहको चार हजार ९०० मिटरको उचाईमा छ । दामोदरकुण्डको भार्सा डाँडा पदमार्ग पाँच हजार ४६२ मिटरको उचाईमा छ । घिमे डाँडाबाट भार्सा डाँडाको दुरी ६ किलोमिटर रहेको छ । भार्सा डाँडाबाट दामोदरकुण्डको दुरी करिव सात किलोमिटर रहेको छ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्डमा तीन वटा स्नानकुण्डहरु छन् । हिन्दु धर्मग्रन्थ अनुसार दामोदरकुण्डमा दुधकुण्ड,चक्रकुण्ड र तामाकुण्ड अवस्थित रहेको छ । दामोदरकुण्डमा अवस्थित तीन कुण्डहरुको दर्शन, स्नान र विशेष पुजा गर्नाले पापबाट मुक्त हुने धार्मिक जनविश्वास रहेको छ । यहाँ बर्सेनि जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको बढी उपस्थिती हुने गर्छ ।


प्रतिक्रिया