दसैको सम्मुख पनि मजदुरको दुःख



जोमसोम—समस्त नेपालीहरुको घर आंगनमा दशै पर्वको रौनक छाईरहँदा मुस्ताङमा भने केही यस्ता गरिव तथा विपन्न मजदुर छन् जसलाई  दशैं पर्वको रौनकले पटक्कै छोएको छैन । मिठो खाने ,राम्रो लगाउने,आफन्त,ईष्टमित्रहरुबिच भेटघाट गर्ने, मान्यजन्यबाट टिका र आर्शिवाद ग्रहण गर्ने र आफु भन्दा कम उमेरकालाई टिका लगाएर आर्शिवाद दिने दशै पर्वको मुख्य विशेषता रहेपनि मुस्ताङमा केही मजदुरलाई भने दशैं पर्व नजिकिएको समेत पत्तै छैन ।

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित जनहित स्कुलको उत्तरतर्फ कोरला सडक नजिकै पूर्वको अग्लो पहाडको फेंदमा बाह्रै महिना डेढ दर्जन भन्दा महिला मजदुरले गिट्टी कुट्ने गर्छन । उनीहरु सबै जिल्ला बाहिरबाट ज्याला मजदुरी गर्दै मुस्ताङमै  बसिरहेका छन् । नत उनीहरुलाई हिउँदयामको हिमपात र चिसो सिरेटो परवाह छ नत दशै÷तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुको अनुुभुतीनै गर्छन । उनीहरुलाई चिन्ता छ त केवल दुईचार पैसा कसरी कमाईएला र आफ्ना बालबच्चाहरुलाई सहज रुपमा पठन÷पाठन गरेर दैनिक छाकटार्न सकिएला भन्नेनै छ । जोमसोमको अग्लो पहाडको फेंदमुनि बिहानदेखि बेलुकी साँझसम्म बसेर गिट्टी कुट्ने उनीहरुको जिवन दैनिकी जस्तै बनिरहेको छ ।

बाग्लुङ बुर्तिबाङकी अप्सरा दर्जी (नाम परिवर्तन) २ वर्षदेखि कोठा भाडामा लिएर श्रीमानसंगै ज्याला मजदुरी काममा खटिने गरेकी छिन् । ३ छोराछोरीसहित मुस्ताङ आएकी उनले त्यही पहाडको फेंदमुनि बसेर हातमा फोका निक्लिने सम्म एक तमासले दिनहु गिट्टी कुट्न खटिन्छिन् । उनका श्रीमानले पनि मजदुरी काम गर्छन । दशै पर्वमा सबै घरतिर लागे तपाई किन नगएको भन्ने प्रश्नमा अप्सरा भन्छिन्,‘ घरमा गएर के गर्नु खर्च मात्रै बढ्छ, यहाँ काम गरे त पैसा पनि कमाईन्छ, खर्च पनि जोगिन्छ । बच्चाहरु यतै पढ्छन, स्कुल पनि धेरै दिन बिदा छैन, जाउआउ दुख मात्रै हुन्छ ।’  चाडपर्वले गरिव र विपन्नलाई तनाव मात्रै दिने गरेको उनले सुनाईन् ।

 यस्तै, लमजुङकी अर्की महिला मजदुर पार्वती तामाङले पनि दशै पर्व मनाउने प्रचलन रहेपनि आफुहरु यहाँको काम छोडेर घर नफर्किएको उल्लेख गरिन ।  ‘चाड पर्व केहीदिनका लागि हो, यो आउँछ जान्छ, हामी जस्ताका लागि दशै होईन दशा हो,उनले निराश हुँदै भनिन्,‘ गाउँघर र छरछिमेकीको याद त आउछनी, के गर्नु गएर ,जान आउनै तीनदिन लाग्छ, काम छोडेर गएपछि उही ऋणको भारी बोक्नु मात्रै त हो ।’

 अप्सरा र पार्वती त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै थुप्रै मजदुरहरु छन् जसलाई दशै पर्वको रौनकले पटक्कै छोएको देखिदैन । फोटो खिच्न अप्ठ्यारो मान्दै नाम परिवर्तन गर्ने सर्तहरुमा  उनीहरुले चिसो भुगोल मुस्ताङमा गिट्टी कुट्दै जिविकोपार्जन गरिरहेको यतार्थ कुरा व्यक्त गरे । दैनिक एक ट्याक्टर गिट्टी कुद्दा ७ हजारमा बिक्री हुन्छ । त्यती कुट्न एक जनालाई हप्तादिन भन्दा बढी समय लाग्छ । एक तमासले गिट्टी कुट्दा ग्लोब्स लगाएपनि हातमा फोका उठ्छन् । घामपानी, हावाहुरी र हिमपात र चिसो सहँदै गिट्टी कुट्ने उनीहरुको रहर थिएन केवल बाध्यताको उपज मात्रै थियो । उनीहरुले मेहनतले कुटेको गिट्टी एक ट्याक्टर पुगेपछि ठेकेदार र ट्याक्टरवाला त्यही लिन आउछन् । ठेकेदारले काम सकिएपछि एकमुष्ट हिसाब गरेपछि मात्रै उनीहरुको हातमा पैसा थमाईदिन्छन् ।

 मुस्ताङमा संघीय तथा प्रादेशिक योजनाहरुमा काम गर्ने कतिपय जिल्ला बाहिरका मजदुर पनि दशै मान्न घर फर्किएका छैन । राष्ट्रिय गौरवको आयोजना (बेनी—जोमसोम—कोरला) सडक आयोजनामा कार्यरत कतिपय मजदुर दशै पर्वमा घर नफर्किएको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । उनले दशैमा पनि सडक निर्माणको काम नरोकिने बताए । यस्तै, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले कार्यालय अन्तर्गतका पूर्वाधार विकासका काममा दशैं पर्वले आर्शिक रुपमा प्रभावित बनाएपनि कतिपय ठाउँहरुमा काम भईरहेको बताए । ‘केही मजदुर दशै मान्न घर फर्किसके,कतिपय मजदुर यही छन्, उनले भने,‘ हामीले विकास काम नरोक्ने गरी दशैंमा घर नजाने मजदुरलाई विकासको काममा व्यवस्थापन मिलाई सकेका छौं ।’

  दशैं पर्व नजिकिएसंगै मुस्ताङ सुनसान बन्दै गएको छ । जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दशै पर्वमा घर फर्किएकाले मुस्ताङ जिल्ला सुनसान बन्दै गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दशै पर्वकै कारण मुस्ताङ भ्रमण गर्ने नेपाली पर्यटकको उपस्थित समेत ज्यादै न्युन भएको छ । तर, विदेशी पर्यटकहरुको भने आशिंक चहलपहल कायमै छ ।



प्रतिक्रिया