ई.किरण घिमिरे
आज अक्टोबर ३१, “जनकेन्द्रित स्मार्ट शहरहरू” (People-Centered Smart Cities) भन्ने मूल नारासहित विश्वका विभिन्न देशहरूमा “विश्व शहरिकरण दिवस” (World Cities Day) मनाइँदै छ।हरेक वर्ष नोभेम्बर ८ तारिखमा मनाइने यो दिवसले विश्वभर शहरहरूको तीव्र विस्तार, त्यसले मानव जीवन, वातावरण तथा संस्कृतिमा पारिरहेको प्रभावबारे गम्भीर छलफल र विमर्शको अवसर प्रदान गर्दछ।संयुक्त राष्ट्रसंघले २०१४ देखि यो दिवस मनाउन थालेको हो।प्राय जसो यस दिवसको नारा “राम्रो शहर,राम्रो जीवन“(Better City, Better Life) हुने गर्दछ।नेपालमा हालसम्म पनि शहर र गाउँबीचको सन्तुलन समान रूपमा स्थापित हुन सकेको छैन।त्यसैले बहुआयामिक भूगोल र सांस्कृतिक विविधतायुक्त देश नेपालका लागि “विश्व शहरिकरण दिवस” विशेष महत्व राख्दछ।
मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम समुद्री सतहदेखि करिब २,७०० मिटर उचाइमा अवस्थित नेपालको अत्यन्त सुन्दर र ऐतिहासिक बस्ती हो।यो ठाँउ प्रशासनिक केन्द्र, सांस्कृतिक, व्यापारिक र पर्यटनको दृष्टिले पनि मुस्ताङको मुटु नै मान्न सकिन्छ।उत्तरतिर लोमान्थाङ हुदै चिनको तिब्बत क्षेत्रसम्म र दक्षिणतिर बेनी हुँदै देशका अन्य भागसम्म जोड्ने जीवनरेखा बेनी जोमसोम कोरोला सडक
जोमसोम बजार हुदै जान्छ।कालीगण्डकीको किनारमा अवस्थित यस ठाउँले मुस्ताङको कठोर भूगोललाई पनि जीवन्त बनाइरहेको छ
२०७५ पौष देखि २०७७ असोजसम्म करिब २२ महिनाको त्यस क्षेत्रको
बसाइले जोमसोमलाई मैले नजिकबाट महसुस गर्ने अवसर पाए।सुरुका महिना हिउँले ढाकेको जोमसोमले मलाई कठोर तर शान्त वातावरणले स्वागत गर्यो।बिहानै हिमालमा टल्कने सौर्य किरण र दिउसोको हावा दुवैको आफ्नै स्वभाव थियो।यहाँका मानिसहरू सरल, सहयोगी र आत्मनिर्भर रहेछन्।दैनिक जीवनमा आधुनिक शहरको चमक-दमक देखिन्न थियो तर पनि त्यही सरल जीवनमा एक किसिमको गहिरो सौन्दर्य लुकेको थियो।सडकमा पसलहरू,साना ठुला होटलहरु थिए।जोमसोम बजार नजिकै रहेको
भिन्न प्रकारका घरहरूले एउटा परम्परागत चित्र कोरेको थियो।तर त्यही अवधिमा मैले विकासको आवश्यकता पनि गहिरो रूपमा महसुस गरेंको थिए विशेष गरी सडक, स्वास्थ्य, संचार र सरसफाइका क्षेत्रमा।
बिभिन्न संचार
माध्यमबाट,आन्तरिक पर्यटकले सामाजिक संजालमा राख्ने गरेका बिभिन्न भिडियो हेर्दा
हाल जोमसोमले शहरिकरणको प्रारम्भिक चरण पार गर्न लागेको जस्तो देखिन्छ।केही पक्की घरहरू, सडक विस्तार, सौर्य बत्ती, र पर्यटकका लागि बनाइएका होटलहरूले सहरको स्वरूप दिइरहेका छन्। विद्यालय, अस्पताल र कार्यालय भवनहरू पनि विस्तार हुँदैछन्।हावापानी, भौगोलिक बनावट र सांस्कृतिक संरचना नबुझी गरिने निर्माणले वातावरणीय असन्तुलन ल्याउन सक्ने सम्भावना रहन्छ। उदाहरणका लागि दिउसो देखि नै हावा चल्ने जोमसोममा त्यो
हावाले नै अक्सिजन तल्लो क्षेत्रबाट लिएर आएको हुन्छ।त्यस क्षेत्रको भौगोलिक स्थिति ठुला ठुला घर-महल बनाएमा
हावाको दिशा रुकावट हुने तथा परिबर्तन
हुने सम्भावना रहन्छ।
जोमसोममा शहरिकरणका केही ठोस फाइदाहरू पनि रहेका छन्।पहिलो सुविधा विस्तारले आधुनिक स्वास्थ्य, शिक्षा र यातायातमा जनताको पहुँच बढ्छ।दोस्रो, रोजगार सृजनाको सम्भावना पर्यटनसँग जोडिएको व्यवसाय र सेवा क्षेत्र विस्तार हुन्छ।तेस्रो, स्थानीय उत्पादन बजार स्थानीय जनताले आफ्ना उत्पादन (स्याउ, ओखर, लोकल वाइन, हस्तकलाका वस्तु) आफ्नै ठाउँमा बेच्न सक्छन्। शहरिकरणले युवालाई गाउँमै अवसर देखाउने सम्भावना पनि दिन सक्छ।यदि योजनाबद्ध रूपमा बिकाश गरियो भने, जोमसोम “स्मार्ट हिमाली सिटी” बन्ने सम्भावना पनि रहन्छ जुन यसपालीको मूल नारासंग मिल्दोजुल्दो छ।
तर अर्को पक्ष त्यति सहज छैन।जोमसोम र वरिपरिका गाउँहरू मार्फा, टुक्चे,, छुसाङ आदि सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिएका क्षेत्रहरु हुन्।ती क्षेत्रमा अन्धाधुन्ध निर्माणले परम्परागत वास्तुकला हराउने डर रहन्छ।यसले गर्दा पानीको स्रोत, वातावरणीय वहावमा सन्तुलन बिग्रिने, हावाको दिशा परिवर्तन वा रुकावट हुन,हावामा धुलोको मात्रा गडबड हुने र तापक्रममा अप्रत्याशित परिवर्तन आउने हुन सक्छ।पर्यटकहरू जो प्राकृतिक सौन्दर्य र मौलिकता खोज्दै आउँछन्, ती नै हराए भने पर्यटनको मुल्य पनि घट्नेछ।
जोमसोमका बासिन्दा अझै पनि कृषि, पशुपालन र सानो व्यापारमा निर्भर छन्।उनीहरूको जीवनशैली शान्त, स्थिर र सामाजिक सम्बन्धमा आधारित छ।शहरिकरणको तीव्रता बढ्दा यी मान्यताहरू चुनौतीमा पर्न सक्छन्।बिजुली र इन्टरनेटले नयाँ पुस्ता आकर्षित गरे पनि पुरानो पुस्ता अझै मठ, गुम्बा र समुदाय केन्द्रमा समय बिताउँछ।दुवै पुस्ताबीचको सोचमा खाडल देखिन थालेको छ। युवा पुस्ताको पक्ष सुविधा चाहन्छ भने पुरानो पुस्त पहिचान जोगाउन चाहन्छ। जोमसोम र सम्पूर्ण मुस्ताङ जिल्लामा विकास निर्माणको आवश्यकता अत्यन्तै छ।यहाँका बासिन्दा अझै पनि कठिन भूगोल, सीमित यातायात पहुँच र मौसमी निर्भर जीवनशैलीमा बाँधिएका छन्।हिउँदमा उडान बन्द हुने र वर्षामा बाटो अबरुद्ध हुने समस्या अझै समाधान हुन सकेको छैन।यसैले यहाँ सुगम पहुँच अर्थात् राम्रो सडक र नियमित हवाई सेवा विकासको पहिलो पूर्वाधार हो।सडक र हवाइ यातायात सुधारियो भने पर्यटकहरू सजिलै मुस्ताङ प्रवेश गर्न सक्छन्।यसले स्थानीय व्यापार, होटल व्यवसाय र हस्तकलामा नयाँ रोजगारीका अवसर सिर्जना गर्छ।‘विकास-निर्माण र ‘शहरिकरण एउटै कुरा होइनन् भन्ने कुरा मुस्तांगबासीले बुझ्नु जरुरी छ जस्तो लाग्छ।विकास भनेको जनजीवन सुधार्ने, शिक्षा, स्वास्थ्य, यातायात, सरसफाइ र ऊर्जा जस्ता आधारभूत आवश्यकतामा पहुँच दिलाउने प्रक्रिया हो।शहरिकरण भनेको संरचनागत रूपमा बसोबासलाई शहरको रूप दिने प्रवृत्ति हो।शहरिकरणमा भवन, सडक, बजार र जनसंख्या घनत्व बढ्ने कुरा आउँछ।मुस्ताङ जस्तो संवेदनशील भूगोलमा विकास अत्यन्तै आबश्यक छ तर शहरिकरणलाई नियन्त्रणित रूपमा मात्र स्वीकार गर्नुपर्छ जस्तो
लाग्छ।विकासले यहाँका जनताको जीवन सहज बनाउँछ भने अन्धाधुन्ध शहरिकरणले प्राकृतिक र सांस्कृतिक सन्तुलन भङ्ग गर्न सक्छ।जोमसोममा शहरिकरण एकदमै संवेदनशील विषय हो।यहाँको भौगोलिक अवस्था, हावापानी, र सांस्कृतिक पहिचान नेपालका अरू ठाउँभन्दा बिल्कुल फरक छन्।त्यसैले यहाँ शहरिकरणलाई अन्धाधुन्ध रूपमा होइन, नियंत्रित र योजनाबद्ध रूपमा अघि बढाउन जरुरी देखिन्छ। पहिलो कारण, प्राकृतिक सन्तुलनको संरक्षण। जोमसोम खुलेको, हावायुक्त र सुख्खा क्षेत्र हो।धेरै ठूला भवन र ढलान गरिएका सडकहरू(रिगिद पेभमेन्ट) बिना योजना बने भने धुलो र हावाको दिशा बदली वातावरणीय असन्तुलन ल्याउने जोखिम हुन सक्छ।यसले स्थानीय बाली, पानीका स्रोत र स्वास्थ्यमा समेत असर पार्छ।त्यसैले विकास संरचना बनाउँदा वातावरणको वहावलाई ध्यानमा राख्नैपर्छ।दोस्रो कारण, सांस्कृतिक र ऐतिहासिक पहिचानको रक्षा पनि रहेको छ।जोमसोम प्रशासनिक केन्द्र मात्र नरही थकाली संस्कृति र तिब्बती प्रभाव बोकेको ऐतिहासिक बस्ती समेत हो।यहाँका घर, गल्ली र मठ-गुम्बा सबैले एउटा मौलिक सुन्दरता देखाउँछन्।यदि शहरिकरणले यी सबैलाई कंक्रिट र नयाँ डिजाइनले विस्थापित गर्यो भने, जोमसोमको आत्मा हराउँछ।त्यसैले नयाँ निर्माण परम्परागत शैलीसँग मेल खाने गरी हुनुपर्छ।तेस्रो कारण, स्रोत र पूर्वाधारको सीमितता।यहाँको जनसंख्या कम छ, तर पानी, बिजुली र फोहोर व्यवस्थापनजस्ता स्रोत सीमित छन्।ती स्रोतको क्षमताभन्दा बढी जनसंख्या र संरचना बढे भने समस्या बढ्छ।त्यसैले योजनाबद्ध सहर विस्तारले मात्र उपलब्ध स्रोतको दिगो उपयोग गर्न सकिन्छ। चौथो कारण, पर्यटन र रोजगारीको सन्तुलन।पर्यटकहरू यहाँको शान्त वातावरण, मौलिकता र प्राकृतिक सौन्दर्य हेर्न आउँछन्।यदि शहरिकरणले जोमसोमलाई पोखरा वा काठमाडौंजस्तो बनायो भने पर्यटकले त्यो ‘हिमाली मौलिकता गुमाएको महसुस गर्नेछन्।तर नियन्त्रित शहरिकरणले यातायात, होटल, र स्थानीय उत्पादन बिक्रीजस्ता क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्छ र त्यसैसँग पर्यटकलाई सुविधा पनि दिन सक्छ। पाँचौँ कारण, समुदायको जीवनशैली र सामाजिक सम्बन्ध।जोमसोमका मानिसहरू आपसमा जोडिएका छन्, सामुदायिक भावना बलियो छ।तीव्र शहरिकरणले मानिसहरूलाई व्यक्तिगत, व्यस्त र भौतिकवादी बनाउने खतरा हुन्छ।तर योजनाबद्ध विकासले समुदायलाई नै विकासको केन्द्रमा राख्छ र यसले सामाजिक एकता जोगाउन मद्दत गर्छ। छैटौँ कारण भविष्यको स्थायित्व।अहिलेको पुस्ताले मात्रै होइन, आउने पुस्ताले पनि यहाँ बाँच्न र फस्टाउन पाउनुपर्छ।यदि शहरिकरण नियन्त्रित गर्न सकियो भने जोमसोमले आधुनिक सुविधा पाउँछ र आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदा पनि जोगाइराख्छ। यही सन्तुलनले जोमसोमलाई उदाहरणीय दिगो सहरको रूपमा स्थापित गर्न सक्छ।
बिहानको उज्यालोमा पर्यटकको भीड र बेलुकीको शान्त गाउँ मैले २२ महिनाको बसाइमा
धेरै पटक देखेको थिए।त्यो सन्तुलन नै जोमसोमको आत्मा हो जस्तो लाग्छ।यदि त्यो सन्तुलन बिग्रियो भने, जोमसोम पनि अरु शहरहरू झैँ
साधारण शहरमा परिणत हुनेछ।तर योजनाबद्ध शहरिकरणमार्फत ऊर्जा-दक्ष घर निर्माण,फोहोर व्यवस्थापन र सांस्कृतिक संरक्षणसँग जोडिएको विकास सम्भव छ। यो दिशामा काम भए जोमसोमले पर्यावरणीय र आर्थिक दुवै दृष्टिले विश्वका उदाहरणीय शहरमध्ये स्थान पाउने सम्भावना रहन्छ।
शहरिकरण आवश्यक त अवश्य हो, तर त्यो योजना र दिगोपनामा आधारित हुनुपर्छ।त्यसैले
जोमसोमको दिगो विकासका लागि विवेकपूर्ण योजना र दीर्घकालीन दृष्टिकोण आवश्यक
छन्।पहिलो रूपमा भौगोलिक अध्ययनमा आधारित निर्माण नीति अपनाउनु जरुरी छ ताकि जोमसोमको हिमाली भौगोलिक स्वरूप, जलवायु र प्राकृतिक जोखिमहरूलाई ध्यानमा राखी सुरक्षित र
उपयुक्त पूर्वाधार निर्माण गर्न सकियोस्।दोस्रो फोहोर व्यवस्थापन र हरियाली क्षेत्रहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम
राख्दै जीवनस्तर सुधारमा मद्दत पुर्याउँछ।तेस्रो, सौर्य ऊर्जा र नवीकरणीय स्रोतहरूमा जोड दिएर ऊर्जाको स्थानीय र दिगो समाधान खोज्न सकिन्छ जसले प्रदूषण घटाउने र ऊर्जा आत्मनिर्भरता बढाउनेछ।चौथो, स्थानीय संस्कृति र परम्परागत वास्तुकलाको संरक्षण र
प्रवर्द्धनले जोमसोमको पहिचानलाई जोगाउने मात्र होइन, त्यसलाई आधुनिक विकाससँग जोड्ने अवसर पनि दिन्छ।पाचौ, पर्यटनसँग स्थानीय उत्पादन र सेवा क्षेत्र जोड्ने योजनाले आर्थिक सशक्तिकरण र
स्थानीय रोजगारीका अवसरहरू विस्तार गर्न सहयोग पुर्याउँछ।यी सबै पक्षहरूको कार्यान्वयनले
मात्र जोमसोमको शहरिकरणलाई सुविधा विस्तार नभएर जीवनस्तर सुधार र सांस्कृतिक
निरन्तरतातर्फ अग्रसर गराउनेछ।यसरी योजनाबद्ध र दिगो दृष्टिकोणमा आधारित शहरिकरणले
जोमसोमलाई एक उदाहरणीय जनकेन्द्रित र दिगो शहरको रूप दिन सक्नेछ।
जोमसोमलाई अहिलेको अवस्थामा पूर्ण रूपमा छोड्नु पनि उचित होइन किनभने सुविधा र अवसरको कमीले युवा पलायन बढाउँछ।तर तीव्र र अन्धाधुन्ध शहरिकरण पनि जोखिमपूर्ण हुन्छ।सही बाटो भनेको संतुलित, योजनाबद्ध र दिगो शहरिकरण हो।यसले जोमसोमको आत्मा, पहिचान र सौन्दर्यलाई जोगाउँदै आधुनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्छ।मेरा अन्तरआत्माले भनेका कुरा यही हो कि जोमसोमल शहर बन्ने हतार गर्नु हुँदैन, उसले आफ्नो मौलिकता जोगाउँदै बुद्धिमानीपूर्वक अघि बढ्नुपर्छ।विश्व शहरीकरण दिवसले हामीलाई शहर बनाउने नभइ शहर
जोगाउने सन्देश दिन्छ।मुस्ताङको जोमसोम जस्तो ठाउँमा शहरीकरण आवश्यक हो तर त्यो कंक्रिट र तारको विस्तार नभई जीवनशैली, पहिचान र प्रकृतिको संरक्षणसँग जोडिएको दिगो रूपमै हुनु पर्छ।जोमसोमको आकाशमा हावाको गुञ्जन, गुम्बाको ध्वनि र कालीगण्डकीको बगिरहने यी सबै साक्षी छन् कि शहर र प्रकृतिबीचको सहअस्तित्व नै भविष्यको बाटो हो।
१४ कार्तिक २०८२, शुक्रबार ०५:३६ मा प्रकाशित
2579
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता