पोखरा—जोमसोम नियमित हवाई सेवा साँढे दुई महिनापछि सुचारु

मुस्ताङ,८, भदौ ।

बर्खायामको मनसुन ,मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायतका  कारण विगत साँढे दुई महिनादेखि बन्द रहेको नियमित (पोखरा—जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । जोमसोम नागरिक उड्ययन कार्यालयले सोमबारबाट निजी वायु सेवा कम्पनी समिट एयरलाईन्सले (पोखरा—जोमसोम) नियमित हवाई उडान सुरु गरेको बताइको छ ।

 पोखरा—जोमसोम नियमित हवाई सेवा बर्सेनि हिउँद र बर्खायाम गरी दुईपटक बन्द हुने गर्छ । पछिल्लो पटक पोखरा—जोमसोम नियमित हवाई अन्तर्गत निजी वायु सेवा कम्पनी समिट एयरलाईन्सले जुन २ तारिखदेखि र तारा एयरलाईन्स कम्पनीले मे २२ तारिखदेखि बन्द गरेका थिए ।

 जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार जुन २ तारिखदेखि नियमित हवाई सेवा बन्द गरेको समिट एयरलाईन्स कम्पनीले सोमबारदेखि सञ्चालनमा ल्याएको हो । पोखरा—जोमसोम हवाई सेवा अन्तर्गत पहिलोदिन ४८ जना भारतीय पर्यटकहरु लिएर समिट एयरको टुईनेटर जहाज मुस्ताङ आएको नागरिक उड्ययन प्रमुख पोखरेलको भनाई छ । 

 यसैगरी सोमबार भारतीय पर्यटकको दर्शनका लागि (काठमान्डौ—मुक्तिनाथ) आठ वटा हेलिकोप्टर उडान भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार एयर डाईनेष्टिक,अल्टिच्युड एयर,हेलि एभरेष्ट,अन्नपूर्ण र सम्रिक एयरको हेलिकोप्टरले  भारतीय दर्शनार्थीहरुलाई काठमान्डौ मुक्तिनाथको हवाई सेवा प्रवाह गरेको प्रमुुख पोखरेलको भनाई छ ।

 जोमसोम स्थित समिट एयरलाईन्सका मुस्ताङ ईञ्चार्ज सुमन थकालीले समिट एयरको पोखरा—जोमसोम नियमित हवाई सेवा सूचारु भएको जानकारी दिनुभयो ।  मे २२ देखि नियमित हवाई सेवा बन्द गरेको निजी वायु सेवा कम्पनी तारा एयरलाईन्सले नियमित हवाई सेवा कहिलेबाट सुरु हुने विषयमा जानकारी गराएको छ ।

 मुस्ताङमा  नियमित हवाई सेवा बन्द हुदा सुनसान बनेको जोमसोम विमानस्थलमा नियमित हवाई सेवा सुरु भएसंगै पर्यटकको चहलपहल देखिन थालेको छ । पर्यटकीय याममा यहाँ उडान भर्दैआईरहेका समिट र तारा एयरलाईन्सको जहाजले दैनिक दश वटा भन्दा बढी उडान भर्दै आईरहेको समिट एयरका स्टेशन ईञ्चार्ज सुमन थकालीले बताउँनुभयो ।

प्रतिक्रिया