कालिगण्डकी तर्न साँघोको भर


जोमसोम—   मुस्ताङको थासाङ गाउँपालिकामा पर्ने एउँटै वडाको कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गको पहुँचमा जोडिंदा सोही वडाको अर्को गाउँ सौरु र सिरकुङ संघीयतापछि पनि निकैनै ओझेल छ । मुस्ताङको कालिगण्डकी नदी बाधक बनिदिंदा मुस्ताङको थासाङ—२ मा पर्ने सौरु र सिरकुङ गाउँ भौतिक विकासमा निकैपछि परेको हो ।

मुस्ताङको सौरु र सिरकुङ गाउँमा करिव (४०—५० ) घरधुरीको बसोबास छ । त्यहाँका स्थानीय घरधुरीको दैनिक जिविकोपार्जनको स्रोत कृषि र पशुपालननै हो । कृषि र पशुपालनमा आश्रित सौरु र सिरकुङ गाउँका स्थानीयले उत्पादन गरेको कृषि र पशुपालनको सहज बजारिकरण गर्नमा निकै समस्या र चुनौति हुने गरेको छ । त्यहाँका स्थानीयले स्याउ ,उवा,फापर,जौ, सिमी,बोडी र तरकारी खेती गर्ने गरेका छन् । पशुपालनतर्फ केहीले याकचौरी र बाख्रा पालन गर्ने गरेका छन् । तर, त्यहाँ उत्पादन गरेको कृृषि उपजको सहज बजारिकरण हुन सकिरहेको छैन । कालिगण्डकी नदीमा पुल नहुनु त्यहा यस्तो समस्या देखिएको हो । योसमस्या सौरु र सिरकुङ गाउँलेले सदिंयौ वर्षदेखि झेल्दै आईरहेका छन् ।

 कालिगण्डकी नदीमा पुल नहुँदा हिउँदयाममा अस्थायी साँघो थापेर पुल वारपार गर्नुपर्ने उनीहरुको बाध्यता छ । बर्खायाममा कालिगण्डकी नदीको वाहव उच्च हुँदा ३ घण्टा बढी पैदल हिडेर कोखेठाटीको झोलुङ्गे पुल तरेर राष्ट्रिय राजमार्ग सडकमा जोडिनुपर्ने हुन्छ । हिउँदयाममा कालिगण्डकी नदीको बाहव घट्दा थापेको साँघो तरेर राष्ट्रिय राजमार्गको दुरी १५ मिनेटमा पुग्न सकिन्छ । बर्खायाम नदी बढेपछि लामो पैदलयात्रा गर्नुपर्ने बाध्यता सौरु र सिरकुङबासीलाई छ । कालिगण्डकी नदी बाधक हुँदा बर्खायामको मौसममा वडा र गाउँपालिका कार्यालयको सेवा लिन, माध्यमिक तहका विद्यार्थीलाई नियमित स्कुल आउजाउ गर्न ,भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न र अतिआवश्यक कामकाज परेको बखत निकैनै सास्ती हुने गरेको सौरुका स्थानीय सोजन हिराचनले बताउँनुभयो ।

  सघीयता अघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङ गाउँ जोड्ने गरी कालिगण्डकी नदीमा पुल बनाउने प्रयास नगरेको होईन । स्थानीयबासीको सहयोगमा कालिगण्डकी नदीमा पुल निर्माण हुँदै गर्दा बर्खाको बाढीले पुलको आरसीसी पिल्लर पुरिदिएपछि साविक जिविसको योजना असफल बन्यो । पुल बन्ला र पुल तरेर कालिगण्डकी वारपार गर्न पाईएला भन्ने सौरु र सिरकुङ गाउँको सपना अधुरो बन्यो । 

कालिगण्डकीमा नदीको सतह घटेपछि साँघो थापेर सरकारी कार्यालयको सेवा, शिक्षा ,स्वास्थ्य लगायतका सेवा लिनुपर्ने बाध्यता रहेको स्थानीय हिराचनले दुँखेसो सुनाउँनुभयो । ‘  बर्सेनि कालिगण्डकीमा नदी घटेपछि असोज÷कार्तिक महिनामा गाउँ सबै मिलेर साँघो थाप्ने गछौं’, उनले भने,’ कालिगण्डकी बढ्ने बेला जेठ महिनाको दोस्रो हप्तातीर फेरी गाउँले मिलेर साँघो झिकेर राख्ने गछौं ।’ जेठमा साँघो झिकेर नराखे कालिगण्डकी नदीले बगाएर लैजाने स्थानीय हिराचनले बताउँनुभयो । 

मुस्ताङको थासाङ—२ को ओझेलमा परेको सौरु र सिरकुङ गाउँलाई सहज कालिगण्डकी नदी आउजाउमा सेवा पु¥याउने उद्देश्यले २०७७ साल ३० बैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो । ईलाईट रुविना कन्ट्रक्सनसंग ५ करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम अहिले अधकल्चो अवस्थामा अलपत्र परेको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । पुल बन्ला र कालिगण्डकी नदी वारपार गर्न पाईला भन्ने सौरु र सिरकुङ गाउँका स्थानीय अहिले अधकल्चो अलपत्र पुल हेरेर चित्त बुझाउन बाध्य रहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो ।

 ठेक्का सम्झौता अनुसार कोवाङबाट सौरु र सिरकुङ जोड्ने पुल ३ वर्ष अघिनै सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण उक्त पुल निर्माण अलपत्र परेको वडाध्यक्ष शेरचनको भनाई छ । निर्माण कम्पनीले त्यहाँ पुलको थप काम गर्नेतर्फ अग्रसरता नदिंदा कोवाङबाट सौरु—सिरकुङ जोड्ने पुल निर्माण गर्ने योजना अन्योलमा परेको वडाध्यक्ष शेरचनले सुनाउँनुभयो ।


प्रतिक्रिया