मुस्ताङका होटलहरु सुनसान

जोमसोम— यातायात व्यवसायीको आन्दोलनले मुस्ताङको पर्यटन व्यवसायमा प्रतिकुल असर पु¥याएको छ । यातायात व्यवसायले सार्वजनिक यातायात सेवा ठप्प पारेसंगै मुस्ताङको पर्यटकीय गतिविधि लगभग शून्य जस्तै बनेको छ ।

पर्यटकीय सिजनको बेलामा यातायात व्यवसायीको आन्दोलनले मुस्ताङको पर्यटन  चौपट बनेको छ । योसमय पर्यटक आगमनले गुज्जार हुने मुस्ताङ पर्यटकको उपस्थिती नहुँदा दुईदिनदेखि सुनसान बनेको  छ ।

होटल एशोसियसन अफ (हान) मुस्ताङकी अध्यक्ष बिमला शेरचनले व्यवसायीहरुको सार्वजनिक यातायात सेवा बन्दले मुस्ताङको पर्यटन व्यवसायमा ठुलो असर पुगेको बताउँनुभयो । पर्यटकीय सिजनका बेला पर्यटकीय चहलपहल भईरहँदा यातायात बन्द गर्ने आन्दोलनले मुस्ताङको पर्यटनमा ९० प्रतिशत क्षति पुगेको होटल एशोसिएसन (हान) मुस्ताङ अध्यक्ष शेरचनको भनाई छ । उहाँका अनुसार मुस्ताङमा असार १५ गतेसम्म पर्यटकीय सिजन हुने गरेपनि यातायात बन्दले मुस्ताङका अधिकाँश होटलहरुका कोठाहरु खाली हुन पुगेको बताउँनुभयो । ‘ यातायात बन्दको आन्दोलनले चाँडै निकास पाओस भन्ने हाम्रो कामना हो, यातायात बन्दले यहाँका पर्यटन व्यवसायी सारैनै मर्कामा परेका छन्’, उहाँले भन्नुभयो, कतिपयले भाडामा लिएर होटल चलाएका छन्, पर्यटक नआएपनि होटल चलाएको भाडा उठाउँन समेत मुश्किल पर्ने देखिएको छ ।’

 सार्वजनिक यातायात सेवा बन्दले मुस्ताङको पर्यटन व्यवसायमा ठुलो असर पुगेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । अध्यक्ष लालचनले सार्वजनिक यातायात बन्दले मुस्ताङ भित्रिएका पर्यटकहरु पनि महङ्गा भाडा तिरेर हवाई जहाज र गाडीमा यात्रा गर्नुपरेको सुनाउँनुभयो ।

जोमसोम स्थित होटल मेजस्टीका प्रोपाईटर निशान तुलाचनले यातायात बन्दले होटलका सबै कोठाहरु खाली हुन पुगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।  ‘आज त २ कोठामा मात्रै पर्यटक छन्, दुईदिन अघि पर्यटकले सबै कोठा हाउसफुल हुन्थ्यो’, प्रोपाइटर तुलाचनले भन्नुभयो,‘ यसरी दिनहु यातायात बन्द हुने हो भने त होटल चलाउँनै समस्या हुन्छ, सरकार र व्यवसायी मिलेर यथाशिघ्र समाधानको बाटो खोजिनु पर्छ ।’

 मुस्ताङमा यातायात व्यवसायीहरुको आन्दोलन अघि दिनहु सयौं सवारी साधनहरु भित्रिने गरेकोमा सोमबारदेखि म्याग्दी हुँदै मुस्ताङ आउने सवारी ठप्पै भईसकेको बताईएको छ । यातायात व्यवसायहरुको आन्दोलनका कारण शुक्रबारदेखि मुस्ताङबाट लामो दुरीको सार्वजनिक यातायात सेवा ठप्पै बनेको छ । यातायात व्यवसायहरुको आन्दोलनका कारण पोखरा—जोमसोम हवाई उडानमा समेत समस्या परेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाई छ ।


प्रतिक्रिया