मुस्ताङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

हिमाली जिल्ला मुस्ताङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आ.व. २०८२÷०८३ का लागि मुस्ताङका पाँच वटै गाउँपालिकाहरुले पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएसंगै जिल्ला खोप समन्वय समितिले शुक्रबार हिमाली जिल्ला मुस्ताङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । 

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति मुस्ताङले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख विद्या तामाङले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख विद्या तामाङले जिल्लाका पाँच स्थानीय तहका २५ वटै वडाहरुमा पूर्ण खोप घोषणा सम्पन्न भएसंगै जिल्ला स्तरीय रुपमा प्रमाणिकरण गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाको स्थानीय तह र वडाहरुमा रहेका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र पाउँनु पर्ने १३ प्रकारका सबै खोपहरु पाईसकेको प्रतिवद्धतासहित शुक्रबार जिल्ला स्तरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउँनुभयो । घोषणा प्रतिवेदनमा जिल्लाका सबै वडा र तहहरुमा खोप कार्यक्रमको निरन्तरता र दिगोपना कायम राख्ने कार्यक्रमको निरन्तरताका लागि चालु आ.व.मा पनि सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकाहरुको सहयोगमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष संग्लनतामा शून्यदेखि पन्ध्र महिना र सोह्र देखि तेईस महिनाका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गरी छुटेका बालबालिकाहरुलाई खोपको मात्रा पुरा गरिएको जनाईएको छ । 

पूर्ण खोप घोषणा कार्यक्रममा जानकारी दिदै स्वास्थ्य प्रमुख तामाङले चालु आ.व.मा मुस्ताङमा शून्यदेखि पन्ध्र महिनासम्मका १४१ जना र सोह्रदेखि तेईस महिनासम्मका २७६ जना बालबालिकाहरुलाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पहुँचमा जोडिएको बताउँनुभयो । चालु वर्ष पूर्ण खोप लगाउन छुटेका मध्ये लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट एक जनालाई पूर्ण खोपमा समेटिएको उहाँको भनाई छ ।

 जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रतिवेदन अनुसार थासाङमा ०¬१५ महिनासम्मका ३७ र १६—२३ महिनासम्मका २७ जना, घरपझोङमा ०—१५ महिनाका ६० जना र १६—२३ महिनासम्मका १९९ जना र वारागुङ मुक्तिक्षेत्रमा ०—१५ महिनासम्मका २६ जना र १६—२३ महिनासम्मका ३७ जना बालिबालिका रहेका रहेका छन् ।

 यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा ०—१५ महिनासम्मका १४ जना र १६—२३ महिनासम्मका ९ जना र एक जना छुटेका बालबालिकालाई खोपको मात्रा पुरा गरिएको हो । लोमान्थाङ गाउँपालिकामा ०—१५ महिनासम्मका ४ जना र १६—२३ महिनासम्मका ५ जना बालबालिकाहरुलाई खोपको पहुँचमा जोडिएको हो । 

समग्रमा मुस्ताङ जिल्लामा ०–१५ महिनासम्मका १४१ जना र १६–२३ महिनासम्मका २७७ जना बालबालिकाहरुले तालिका बमोजिम पूर्ण खोप पाएको सुनिश्चितता गरिएको हो । उपल्लो मुस्ताङमा हिउँदयामका जाडो छल्न बेसी झर्ने परम्पराका कारण कतिपय बालबालिकाहरुले बेसीमै खोप लगाईसकेका हुन् । 

सरोकार भएकाहरूको समन्वय र मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा मापदण्डअनुसार २५ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सबै बालबालिकाहरुले खोपको मात्रा पुरा गरिएको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।

 पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक एवं जिसस मुस्ताङका प्रमुख माया गुरुङले स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासका कारण पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न सफल भएको बताउँनुभयो । प्रमुख गुरुङले घोषणाले मात्रै उद्देश्य सफल नहुँने भएकाले यसको प्रभावकारिता र निरन्तरताको खाँचो आवश्यक रहेको औल्याउनुभयो 

मुस्ताङ जिल्ला पहिलो पटक आ.व. २०७२/७३ मा पूर्ण खोप सुनिश्चितता घोषणा भएको र सो पश्चात आ.व. २०७९/८०, आ.व. २०८०/८१, आ.व. २०८१/८२ र यस आ.व. २०८२/८३ मा लगातार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको ।


प्रतिक्रिया