साउनदेखि कार्तिकसम्म दुई लाख बढी पर्यटक मुस्ताङ भित्रिए

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा २ लाख २ हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आ.व.को साउनदेखि कार्तिक मसान्तसम्म बेनी—जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र एकचालिस हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आ.व.को साउनमा उन्नाईस हजार ७८१ जना,भदौंमा तेईस हजार २०५ जना, असोजमा  पचहत्तर हजार ५९९ जना र कार्तिक महिनामा  त्रियासी हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसअघि आ.व.२०८१÷०८२ मा राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग हुँदै सात लाख ५ हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । गतवर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

 मुस्ताङमा गतवर्षको कुल पर्यटक संख्याको तुलनामा चालु आ.व.को पहिलो चार महिनामा २८ दशमलव ७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले देखाउँछ ।तर, चालु आ.व.को पहिलो चौमासिकमा युवाहरुको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पु¥याएको थियो ।

 पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको मुस्ताङ आगमन वृद्धि भईरहेको छ । यहाँको कोरला सडक अन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाई स्थानको सडक कालोपत्र सम्पन्न भईसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भईरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकहरु मध्ये एक तिहाई पर्यटक माथिल्लो मुस्ताङ र कोरलानाका भ्रमणका लागि जाने गरेका छन् ।

नेपाल—चीन बहुचर्चित कोरलानाका तथा लोमान्थाङ दरबार, झोङ गुफा लगायत माथिल्लो मुस्ताङका सदिंयौं वर्ष पुराना गुम्बा,माने,छोर्तेन,मानव निर्मित गुफाहरु लगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिम चुचुवाको आरोहरण खुल्ला गरिएकाले समेत विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको उहाँको भनाई छ ।

यसैगरी मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकहरुले कागबेनीधाममा दिवंगत पितृको नाममा श्राद्ध ,तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटकहरु वृद्धि भएको पाईएको हो । यसैगरी लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटकहरु जोमसोमबाट हवाईमार्ग हुँदै फर्किने गर्छन ।

 मुस्ताङ आउने पर्यटकहरुले यहाँको ढुम्बाताल,यारुझो भ्युटावर,जोमसोम बजार, मार्फा गाउँ लगायतका अवलोकन गर्न छुटाउँदैनन् ।

 



प्रतिक्रिया