जोमसोम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको निगरानीमा परेको मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँच वटा वडा जोड्ने रिङरोड सडकलाई निगरानीमा राखेको छ । ‘घरपझोङ सडकमा कमसल कालोपत्र’ शिर्षकमा समाचार प्रकाशित गरेपछि उक्त रिङरोड सडक अख्तियारको निगरानीमा परेको थियो ।
अख्तियार कार्यालय पोखराले गतवर्षको १४ चैत्रमा प्रतिक्रियासहित कमसल कालोपत्र सडकको प्रमाणित कागजात उपलब्ध गराउने सम्वन्धमा पूर्वाधार विकास कार्यालयलाई पत्र पठाएको थियो । उक्त निर्माण कमसल कालोपत्रका सम्वन्धमा यहाँ कार्यालयमा उजुरी दर्ता भएको उल्लेख गर्दै अख्तियार कार्यालय पोखराले छानविनको क्रममा रहेको भन्दै पुष्ठ्याई हुने कागजात पूर्वाधार विकास कार्यालयसंग माग गरेको थियो । अख्तियार कार्यालयले सडकको नाली निर्माणसहित ८ मिटर चौडा सडक अन्तर्गत जोमसोम—ठिनी—ढुम्बासम्म पाँच किमी दुरीमा प्रिमिक्स कालोपत्र गर्ने कार्य गुणस्तरहीन र अत्यन्तै कमजोर भएको उल्लेख गरेको छ । अख्तियारले उक्त सडक योजनाको बजेट लागत अनुमान,ठेक्का प्रक्रिया,सम्झौता,नापी किताब कार्य सम्पन्न प्रतिवेदन,गुणस्तर परीक्षण प्रतिवेदन र भुक्तानी भौचरसहितका विवरण पठाउन पूर्वाधार विकास कार्यालयलाई पत्रचार गरेको थियो ।
अख्तियार कार्यालयले गतवर्षको २० असारसम्म कालोपत्र मर्मत तथा सुधार गर्न अल्टिमेटम दिएको भएपनि निर्माण कम्पनीले गतवर्षको २८ असारदेखि कालोपत्र सुधारको काम गरिरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठले यहाँको घरपझोङ रिङरोड सडकलाई अख्तियार कार्यालयले छानविन चलाएको बताउँनुभयो ।
’एक निर्वाचन क्षेत्र,एक एक सडक’ योजनाको लागि गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले आ.व. २०७६ साल कार्तिक २४ गते २१ करोड ४३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने जोमसोम,ठिनी,सम्ले,ढुम्बा,छैरो र चिमाङ जोड्ने रिङरोड सडकमा निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण सात वर्षसम्म पनि १० दशमलव ५ किमी सडक सम्पन्न हुन सकेको छैन । जोमसोमदेखि ढुम्बासम्म ५ किमी प्रिमिक्स कालोपत्र र ढुम्बादेखि चिमाङसम्म ५ दशमलव ५ कि.मी. सडक ग्राभेल गर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय प्रमुख अजय श्रेष्ठको भनाई छ ।
घरपझोङ रिङरोड सडक अन्तर्गत निर्माण कम्पनी जलजला निर्माण सेवाले सडकको छैटो पटक म्याद भईसक्दा गतवर्षको कार्तिक महिनामा जोमसोम—ठिनी सडकमा दुई हजार ८ सय मिटर कालोपत्र सम्पन्न गरेको थियो ।तर, उक्त कालोपत्र सडकका निकै कमसल,गुणस्तरहीन र ठेक्का सम्झौता अनुसार कार्यसम्पन्न नभएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भएको थियो । त्यहाँ वडाध्यक्ष प्रदीप थकालीले कालोपत्रको बिषयमा पूर्वाधार कार्यालयलाई लिखित रुपमा पत्र पठाएर स्पष्टिकरण माग गरेका थिए ।
स्थानीय स्तरमा असन्तुष्टि र अख्तियारको छानविनमा परेपछि पूर्वाधार विकास कार्यालय मुस्ताङले कमसल कालोपत्र मर्मत सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । कार्यालय प्रमुख श्रेष्ठले निर्माण कम्पनीले गरेको हतारो काम र उसले गरेको त्रुटी सच्याउने गरी कालोपत्र सुधारकार्य भईरहेको जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठले जोमसोम—ठिनी सडकको कालापत्रे सुधार गर्ने कार्य ७० प्रतिशत सम्पन्न भईसकेको बताउँनुभयो ।
‘हामीले यहाँ कार्यालयबाट कालोपत्र भुक्तानीका लागि विल भर्पाई पेश गरिएको भएपनि भुक्तानी रोकेर राखेका छौं, जहाँ जहाँ कमसल र त्रुटी भएको छ, त्यहाँ सच्याउन लगाएका छौं,’कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, कालोपत्र सुधारको प्रतिवेदन अख्तियारमा पठाईसकेपछि त्यहाँबाट सफाई पाएपछि मात्रै हामीले कम्पनीलाई बिल भुक्तानी दिनेछौं ।’’ प्रमुख श्रेष्ठले जोमसोम—ठिनी सडकको कालोपत्र भुक्तानीका लागि ४२ लाख रुपैयाका बिल पेस भएको जानकारी दिनुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको ५ वटै वडा जोड्ने रिङरोड सडकको सुरुआत ठेक्का सम्झौतामा भिओ वृद्धि भई २४ करोड ४५ लाख पुगेको कार्यालय प्रमुख श्रेष्ठले जनाउँनुभयो । यहाँको घरपझोङ रिङरोड सडकको हालसम्म भौतिक प्रगती ७६ प्रतिशत र वित्तिय प्रगती ७५ प्रतिशत रहेको कार्यालय प्रमुख श्र्ेष्ठले उल्लेख गर्नुभयो ।
पछिल्लो समय सार्वजनिक खरिद ऐन चौधौ संशोधन अनुसार रिङरोड सडकको सातौ पटक थपिएको म्याद चालु आ.व.को असार १० गतेसम्म रहेको जनाईएको छ ।
हालसम्म रिङरोड सडकको सम्झौता अनुसार केही स्थानमा सडक चौडा नभएको र कालोपत्र सुधारको काम अघि बढाउन कार्यालय निर्देशन दिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयमा आवश्यक जनशक्ति नहुनु र कार्यालयको कार्यक्षेत्र ठुलो भएकाले पूर्वाधार विकासको अनुगमनमा केही समस्या उत्पन्न भएको स्पष्ट पारेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली