जोमसोम—नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा सुनदेवी रसाईलीसहित सिंगो कार्यसमिति निर्विरोध भएको छ । महासंघ मुस्ताङको अध्यक्षसहित सबैको एकल उम्मेदवारी परेकाले निर्वाचन समितिले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
नेपाल पत्रकार महासंघको संघ,प्रदेश र जिल्ला शाखा निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीको प्यानल र प्रेस सेन्टर र समाजवादी प्रेस संगठन लगायतको संयुक्त प्यानल खडा गरेर निर्वाचन प्रतिस्पर्धा भएको भएपनि मुस्ताङमा सबै महासंघ शाखामा आवद्ध संघ संगठनको आपसी सहमतिमा निर्वाचन गरिएको थियो । जसअनुसार मुस्ताङमा अध्यक्ष सहित ९ सदस्यीय कार्यसमिति निर्विरोध भएका थिए । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन, प्रेस युनियन र प्रेस सेन्टरसंग आवद्ध सदस्य छन् ।
पत्रकार महासंघ मुस्ताङ शाखाको पदाधिकारीतर्फ खुल्ला उपाध्यक्षमा तृष्णाा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिवमा आदित्य रसाईली,कोषाध्यक्षमा निरज थकाली,सहसचिव सरस्वती ल्वागुन र समावेशी सहसचिव हिक्मत नेपालीको एकल उम्मेदवारी परेको थियो ।
सदस्यमा पेमा छेतेन विक र वसन्त पौडेल निर्विरोध भए । महासंघ मुस्ताङ शाखाबाट केन्द्रिय परिषद सदस्यमा चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेलको एकल उम्मेवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको लागि सर्वसम्वत निर्वाचन सम्पन्न गराउन शाखाले पहल गरेको थियो । निर्वाचनमा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीमबहादुर रसाईलीसहित जिल्ला अदालतबाट लेखनाथ लामिछाने र जिल्ला सरकारी वकिलको कार्यालयबाट किरण किसान निर्वाचन अधिकृतको रुपमा खटिएका थिए ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष सुन्दरकुमार थकालीले निर्वाचित कार्यसमितिलाई शनिबार पद हस्तान्तरण गरेका थिए । यस्तै ,नयाँ कार्यसमितिलाई निर्वाचन समितिले प्रमाणपत्रसहित पद तथा गोपनीयताको सपथ ग्रहण गराएको थियो ।