जोमसोम— मुस्ताङमा उच्च घनत्वमा आधारित स्याउ खेती सम्वन्धि प्राविधिक तालिम सम्पन्न भएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आयोजना गरेको उच्च घनत्वमा स्याउ खेती प्रविधि तालिममा मुस्ताङसहित १६ जिल्लाका १८ जना कृषि प्राविधिक सहायक र नायव प्राविधिक सहायकहरुले उत्साहजनक सहभागीता जनाएका छन् ।
संघ,प्रदेश र स्थानीय तहका प्रावधिक सहायक र नायव प्राविधिक सहायकहरुलाई उच्च घनत्वमा आधारित स्याउ खेती सम्वन्धि प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसप्रकारको तालिम उपलब्ध गरार्एको हो । आईतबार देखि सुरु भएको उच्च घनत्वमा स्याउ खेती प्रविधि तालिममा मुस्ताङसहित, मनाङदोलखा,डोल्पा,जुम्ला,पाल्पा, प्युठान, बाग्लुङ, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सल्यान, दार्चुला,बैतडी,दैलेख र तनहु जिल्लाका प्राविधिक सहायक र नायव प्राविधिक सहायकहरुलाई उच्च घनत्वमा आधारित स्याउ खेती प्रविधि तालिम प्रदान गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । तालिममा दोलखा र डोल्पाबाट दुईदुई जना र अन्य जिल्लामा समान एकएक जनाको प्रतिनिधित्व रहेको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।
मुस्ताङ स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती सम्वन्धि प्राविधिहरु देखाउने,सिकाउने र उत्पादनका लागि आवश्यक गुणस्तरीय विरुवा उत्पादनका प्रविधिहरु बारेमा कृषि प्राविधिकहरुलाई व्यवहारिक ज्ञानसीपका साथै सैद्धान्तिक शिक्षा प्रदान गर्नु रहेको केन्द्र प्रमुख आत्रेयले बताए । उच्च घनत्वमा स्याउ खेती प्रविधि तालिमको संयोजकका रुपमा शीतोष्ण बागवानी विकास केन्द्रमा कार्यरत प्राविधिक सहायक डम्बर सार्की खटिएका थिए । तालिमका प्रशिक्षार्थीलाई अधिकतम् रुपमा व्यहारिक अभ्यास गराईएको केन्द्र प्रमुख आत्रेयले खुलाए । तालिममा ६० प्रतिशत व्यवहारिक र ४० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन भएको केन्द्र प्रमुख आत्रेयको भनाई छ । केन्द्र प्रमुख आत्रेयले तालिम अभ्यासबाट नेपालमा उच्च घनत्व स्याउ खेतीको विकास र प्रर्वद्धनमा टेवा पुग्ने दावी गरे ।
विश्वमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती करिव सन् १९६० देखि सुरु भएको हो । नेपालमा यसप्रकारको स्याउ खेतीको ईतिहाँस खासै पुरानो छैन । सुरुवाती परीक्षणको रुपमा मनाङ एग्रोले मनाङमा यसप्रकारको उच्च घनत्वमा स्याउ खेती गरिएको थियो । मनाङमा गरिएको परीक्षणको नतिजा राम्रो देखिएपछि मुस्ताङसहित अन्य हिमाली जिल्लामा पनि विस्तार भएको हो । मुस्ताङमा यो प्राविधिको खेती अपनाउन थालेको आधा दशक भन्दा बढी भएको छैन । लगाएको पहिलो वर्षमै फ ल दिन सुरु गर्ने उच्च घनत्वको विरुवाहरु कम क्षेत्रफलमा धेरै विरुवा रोपण गर्न सकिन्छ ।
मुस्ताङमा निजी जग्गाका अलवा सार्वजनिक जमिन र कालिगण्डकी तटीय बगरमा समेत उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ ।
पछिल्लो समय मुस्ताङका किसान परम्परागत स्याउ खेतीलाई निरन्तरता दिदैं उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीलाई विशेष जोड दिन थालेका छन् ।