मुस्ताङमा भारतीय पर्यटकले उडाउँदै गरेको ड्रोन प्रहरी नियन्त्रणमा

अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । बुधबार साँझ ५ बजे मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङ खोला पुल नजिकै बिना अनुमति ड्रोन क्यामेरा उडाईरहेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको हो ।

भारत बिहार प्रदेश वैशाखी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय भारतीय पर्यटक शिवम कुमारको डीजीएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

 जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडान सम्वन्धी कार्यविधि २०७५ को १७ (क) बमोजिम आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्यन प्राविधिकरणको जोमसाम शाखा कार्यालयमा पठाईएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

  ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता भएको हुनुपर्छ । यसैगरी मुस्ताङमा अन्नपूर्ण सरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्व लिखित अनुमति लिनुपर्ने हुन्छ । भारतीय पर्यटकले प्रयोग गरेको ड्रोन क्यामेरा प्राधिकरणमा दर्ता नभएको र स्थानीय प्रशासन र एक्यापको अनुमति समेत नलिएका नियन्त्रणमा लिई जफत गरिएको हो । यसैगरी जोमसोम विमानस्थल क्षेत्रको मापदण्ड भित्र पर्ने दुरीमा ड्रोन उडाईएकाले समेत नियमको उलंघन भएको प्रहरीको भनाई छ । 

मुस्ताङमा चलचित्र तथा डकुमेन्ट्री छायांकनका लागि ड्रोन क्यामेरा प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोन क्योमराको आधिकारिक दर्ता विवरण र प्रशासन र एक्यापको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ  । मुस्ताङमा कतिपय पर्यटक तथा सरोकारवाला व्यक्ति र संस्थाहरुलाई लुकिछिपी बिना अनुमति ड्रोन क्यामरो उडान गरिरहेका हुन्छन् । प्रहरी निरीक्षक बस्यालले बिना अनुमति ड्रोन क्यामेरा प्रयोग गरेको सूचना उपलब्ध भएमा आवश्यक कारवाही हुने बताउँनुभयो ।


प्रतिक्रिया