चर्को कर उठाएको भन्दै जोमसोमका पर्यटन व्यवसायी आन्दोलित

जोमसोम—मुस्ताङको घरपझोङ—४ जोमसोमका पर्यटन व्यवसायी आन्दोलित भएका छन् । गाउँपालिकाले व्यवसायीसंग संकलन गर्ने वार्षिक राजश्व कर वैज्ञानिक नभएको र व्यवसायीहरुसंग व्यवसाय दर्ता तथा नविकरण गर्ने नाममा दोहोरो कर संकलन गरेको भन्दै त्यसप्रति विरोध जनाएका हुन् ।

संघीयता कार्यानवयन भएको ७ वर्ष पुग्दा समेत घरपझोङ गाउँपलिकाकाले व्यवसायीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्र बिनै वार्षिक राजश्व कर संकलन गर्दैआईरहेको थियो । राज्यको राजश्व कर उठाउँदा सम्वन्धि तहले व्यवसायहरुको अभिलेखिकरण तथा व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउनु पर्ने प्रावधान छ । तर, विगतका वर्षहरुमा घरपझोङ गाउँपालिकाले व्यवसाय दर्ता बिनै व्यवसायीहरुसंग कर संकलन गर्दैआईरहेको थियो । 


घरपझोङले गतवर्षको असार मसान्तमा पालिका भित्र संञ्चालनमा रहेका व्यवसायीहरुसंग व्यवसाय कर संंकलन गरेको थियो । उक्त कर पनि व्यवसायीहरुको ठाँड सेक्ने गरी गाउँपालिकाले चर्को कर राजश्व उठाएको भन्दै जोमसोमका पर्यटन व्यवसायीहरु आन्दोलित भएका हुन् ।  यस्तै जोमसोमका पर्यटन व्यवसायीहरुले चर्को राजश्व संकलन गर्दागर्दै थप व्यवसाय दर्ताको नामका अर्को कर असुल्न खोजेको उनीहरुको भनाई छ । व्यवसायीहरुले वार्षिक कर शुल्कलाई घटाएर बैज्ञानिक बनाईनु पर्ने र व्यवसाय दर्ता तथा नविकरण शुल्क निःशुल्क गरिनुपर्ने माग राख्दै घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीलाई गाउँपालिकामै पुगेर लिखित निवेदन पेश गरे ।

यसअघि जोमसोमका पर्यटन व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरणको बिषयमा बुझ्न  जोमसोम वडाकार्यालयमा डेलिगेशन गएका थिए । गाउपालिका र वडाले संकलन गर्ने राजश्वले व्यवसायी मर्कामा परेको भन्दै वडाध्यक्ष यामप्रसाद थकालीको ध्यानार्कषण गराएका थिए । वडाध्यक्ष थकालीले व्यवसाय दर्ता तथा नविकरण गर्ने निर्णय भएको भएपनि पैसा उठाउने निर्णय आफुलाई थाहा नभएको व्यवसायीहरु समक्ष बताए । ‘ व्यवसाय दर्ता तथा नविकरण गर्ने निर्णय भएको थाहा थियो, त्यस वापत राजश्व संकलन गर्ने भन्ने मलाई थाहा भएन,’वडाध्यक्ष थकालीले भने, एक पटक मलाई नसोधी व्यवसाय दर्ताका लागि किन पैसा तिर्नुभयो, यसबारे थप बुझन परे गाउँपालिका कार्यालयमै जानुहोस्, गाउँपालिकालेनै यो समस्या सुल्झाउला ।’

यता, चर्को राजश्व शुल्क समायोजन र व्यवसाय दर्ता तथा नविकरण शुल्क लिने प्रावधान खारेज गर्नुपर्ने माग राखेका पर्यटन व्यवसायीहरुले गाउँपालिकासंग जवाफ माग गरेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमलाल शर्माले व्यवसाय दर्ता तथा नविकरण शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाकै बैठकबाट लिखित निर्णय भएको जानकारी दिए । ‘ कार्यपालिका बैठकमा व्यवसाय दर्ता तथा नविकरणको बिषयमा निर्णय भएको थियो,पहिलो वर्ष दर्ता शुल्क २ सय र अतिरिक्त शुल्क ५ सय गरी ७ सय रुपैया उठाउने निर्णय भएको हो,उनले भने,‘ दोश्रो वर्षपछि केवल नविकरण शुल्क वापत २ सय मात्रै उठाउने कार्यपालिकाको निर्णय भएको हो, यो निर्णय गाउँसभा बैठकमै पनि जानकारी गराईएकाले सबै जनप्रतिनिधिलाई थाहा हुनेनै भयो ।’

 उपाध्यक्ष जमुन थकालीले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माकै भनाईलाई दोहो¥याउदै उक्त निर्णय कार्यपालिका बैठकले गरेको बताईन् । उपाध्यक्ष थकालीले यस विषयमा आफु एक्लैले निर्णय गर्ने नसक्ने भएकाले चाँडै कार्यपालिकाको बैठक बसेर निर्णय लिईने जानकारी दिईन् । 


पर्यटन व्यवसायीहरुले कठिन भूगोलमा ६ महिना मात्रै राम्ररी व्यवसाय गर्न पाउने र ६ महिना ठप्प हुने भएकाले गाउँपालिकाको वार्षिक कर प्रणालीले बैज्ञानिक तुल्याउन आवश्यक रहेको व्यसायी कुन्चाङ गुरुङले उल्लेख गरिन् । स्थानीय तहले लिने व्यवसाय कर चर्को भएको भन्दै जोमसोमका करिव ६० जना पर्यटन व्यवसायी वडा कार्यालय र  गाउँपालिका कार्यालयमा डेलिगेशनमा पुगेका थिए ।


प्रतिक्रिया