कालिगण्डकी नदी कटानले टुकुचे वस्ती जोखिममा,नदी उकास घटाईदै

मुस्ताङ,१८, साउन ।

कालिगण्डकी नदीको सतह उच्च हुँदा मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे वस्ती जोखिममा परेको छ । आईतबार साँझ कालिगण्डकी नदीको धारले टुकुचे वस्ती संरक्षणका लागि लगाईएको तटबन्ध भत्काएपछि टुकुचे वस्ती र स्याउबारी जोखिममा परेको हो ।

 बर्खायामसंगै मनसुन सक्रिय हुँदा मुस्ताङ स्थित कालिगण्डकी नदीको जल सतह शनिबारदेखि उच्च भएको छ । बर्सेनि कालिगण्डकी नदी तटमा थुप्रिने ढुंगा,गिट्टी,बालुवा र गेग्रानका कारण नदी उकास वृद्धि भईरहँदा कालिगण्डकी नदी आसपासका वस्ती बर्सेनि नदी कटानको जोखिममा पर्ने गर्छन ।

 मुस्ताङको थासाङ स्थित टुकुचे गाउँमाआईतबार साँझ कालिगण्डकी नदीले धार परिवर्तन गरी तटबन्धमा क्षति पु¥याउँदा गाउँ पछाडीको कालिगण्डकी तटको स्याउबारी पुरै जलमग्न भएको त्यहाँका वडाध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो । वडाध्यक्ष थकाली अनुसार कालिगण्डकी नदी कटानले स्याउबारी जलमग्न भएपनि वस्ती क्षेत्रमा असर पु¥याएको छैन । टुकुचे गाउँको सिरान टोलदेखि वस्ती रहेको तल्लो भागसम्म कालिगण्डकी कटान रोक्न ग्याविन वाल लगाईएको भएपनि करिव १०० मिटर बढी तटबन्ध कालिगण्डकी नदीले क्षति पु¥याएको वडाध्यक्ष सुरेश थकालीको भनाई छ ।

 कालिगण्डकी नदीको जलसतह उच्च भएको र नदीको उकास बढेकाले टुकुचे गाउँमा कालिगण्डकी नदीको जोखिम बढेको हो । कालिगण्डकी नदीले धार परिवर्तन गरी वस्तीतर्फ सोझिएपछि वडाध्यक्ष थकालीसहितको सक्रियतामा जिल्ला सुरक्षा समितिलाई सहयोग माग गरिएको हो । कालिगण्डकी नदी कटानको सूचनापछि मुस्ताङका सिडियो अजिता शर्मासहित जिल्ला सुरक्षा समितिको टोली आईतबार नदी कटान क्षेत्र टुकुचेमा पुगेको थियो । वडाध्यक्ष थकालीका अनुसार जिल्ला सुरक्षा समिति तथा थासाङ गाउँपालिकाको समन्वयमा कालिगण्डकी नदीको कटान रोक्न दुई वटा स्काभेटर (डोजर) परिचालन गरिएको वडाध्यक्ष थकालीले जानकारी दिनुभयो ।

 वडाध्यक्ष थकालीका अनुसार नदी कटान रोक्न कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक र थासाङ गाउँपालिकाबाट निर्माण व्यवसायी कृष्णकुमार शेरचनको स्काभेटर प्रयोग गरी कालिगण्डकी नदी उकास घटाउने काम भईरहेको छ । यसैगरी कालिगण्डकी नदीको कटान छेक्न जिल्ला सुरक्षा समितिको समन्वयमा खानेपानी जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालयबाट ११० थान ,थासाङ गाउँपालिकाबाट ३० थान र एक्याप कार्यालयबाट १० थान गरी १५० थान ग्याविन तारजाली प्राप्त भएको छ ।

 कालिगण्डकी नदी कटानले क्षति पु¥याएको साविकको ग्याविन तटबन्ध रहेको स्थानमा टुकुचे गाउँका करिव २०० जना भन्दा बढी स्थानीयको जनश्रमदानबाट कालिगण्डकी नदीको कटान रोक्न तटबन्ध निर्माण गर्ने कार्य भईरहेको छ । वडाध्यक्ष थकालीका अनुसार कालिगण्डकी उकास घटाउन र ग्याविन तटबन्ध लगाउन कम्तिमा दुईदिन बढी समय लाग्ने अनुमान रहेको जानकारी दिनुभयो ।

कालिगण्डकी नदी उकासका कारण नदीले बर्सेनि धार परिवर्तन गर्दा टुकुचे गाउँ जोखिममा पर्ने गरेकाले नदी क्षेत्रमा थुप्रिएको कालिगण्डकी नदीक्षेत्रको ढुंगा,गिट्टी,बालुवा र गेग्रानको समुचित व्यवस्थापन हुनुपर्ने वडाध्यक्ष थकालीको भनाई छ ।


प्रतिक्रिया