मुस्ताङमा पर्यटकको सारथि पर्यटक प्रहरीलाई जग्गाको लालपूर्जा हस्तान्तरण

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा पर्यटकको सारथि मुस्ताङ पर्यटक प्रहरी कार्यालयले  जग्गाको लालपुर्जा प्राप्त गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को ५ भदौ देखि जग्गा प्राप्तिका लागि पहल अघि बढाएको पर्यटक प्रहरी कार्यालय मुस्ताङले अन्ततः ६ महिनापछि मुस्ताङ सदरमुकाम जोमसोममा भवन निर्माणका लागि १ रोपनी जग्गा प्राप्त गरेको हो ।

मुस्ताङमा पर्यटक प्रहरी कार्यालय भवन प्रयोजनार्थ १ रोपनी क्षेत्रफल बराबर जग्गाको लालपुर्जा नेपाल सरकारको नाममा पर्यटक प्रहरी कार्यालयलाई आईतबार हस्तान्तरण भएको मालपोत कार्यालय मुस्ताङका प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए । उनले वडा कार्यालयको सिफारिसमा प्रशासन,मालपोत,नापी लगायतका स्थानीय जग्गा रिफारिस समिति लगायतको प्रयासममा  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पर्यटक प्रहरी मुस्ताङलाई कार्यालय भवन बनाउन जग्गा सुनिश्चित गर्ने सहमतिपत्र पठाएको थियो । पर्यटक प्रहरी र सरोकारवाला निकायको अथक प्रयासले अब जोमसोममा कार्यालय भवन बनाउन बाटो खुलेको पर्यटक प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर बनबरियाले जानकारी दिए  ।

 धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटक प्रहरी कार्यालयको युनिट २०७० सालमा स्थापना गरिएको थियो । लामो समयदेखि व्यक्तिको निजी घरमा लिजमा कार्यालय संञ्चालन हुँदै आईरहेको पर्यटक प्रहरीलाई आफ्नै कार्यालय भवन नहुँदा समस्या हुँदै आईरहेको थियो ।मालपोत कार्यालय मार्फत जग्गाको लालपूर्जा हस्तान्तरण भएसंगै पर्यटक प्रहरीको भौतिक संरचना निर्माण गर्न बाटो खुलेको  पर्यटक प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर बनबरियाले बताए । पर्यटक प्रहरीले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित बसपार्क नजिकको खाली जग्गा प्राप्त गरेको अब भवन बनाउन बजेट विनियोजन हुँने अपेक्षा गरे ।

मुस्ताङमा  प्रहरी नायब निरीक्षक (सई)सहित १० जनाका दरबन्दी छ ।तर,हाल एक जना प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ७ जना पर्यटक प्रहरी कार्यरत छन् । मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सेवा सुविधाका लागि पर्यटक प्रहरीले सहजीकरण गर्ने गरेको छ । 

प्रतिक्रिया