जैविक तथा अजैविक फोहोर व्यवस्थापनमा जुट्दै घरपझोङ


जोमसोम— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले जैविक तथा अजैविक फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि घरपझोङले ऐन र कार्यविधि बनाएर गाउँपालिकालाई  फोहोर मुक्त गाउँपालिका बनाउने अभियानमा जुटेको हो ।
सदरमुकाम समेत रहेको घरपझोङले पर्यटन,कृषि,मानव स्वास्थ्य र पर्यावरणको रक्षा गर्दै गाउँपालिकालाई स्वच्छ,सुन्दर र सफा गाउँपालिका बनाउने परिकल्पना अनुसार फोहोर मैला व्यवस्थापन अभियानमा जुटेको  ।  अभियान अन्तर्गत गाउँपालिकाले जथाभावी फोहोर गर्ने व्यक्तिलाई आवश्यक दण्ड सजाय समेत हुने गरी यसअघिनै कार्यविधि र ऐन निर्माण गरिसकेको हो ।
तर, फोहोर मैला व्यवस्थापनका लागि गाउँपालिकाले लिएको नीति नियम र कार्यविधि स्थानीय गाउँपालिकाका भित्रका नागरिकहरुलाई सचेतना नदिईकन एकैसाथ  कार्यान्वयमा लैजादा व्यवहारिक नहुने  भएकाले गाउँपालिकाले फोहोर मैला व्यवस्थापनका लागि स्थानीय नागरिकहरुलाई सचेतना अभियान समेत चलाएको हो ।
 फोहोर मैला व्यवस्थापन अभियान अन्तर्गत चालु आर्थिक वर्षको वार्षीक स्वीकृत कार्यक्रम अनुसार घरपझोङ गाउँपालिकाले ५ वटै वडाहरुमा जैविक तथा अजैविक फोहोरलाई कसरी व्यवस्थापन गर्ने सन्दर्भमा नागरिक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराएको छ । गत जेठ २४ गतेदेखि १० दिनसम्म गाउँपालिकाका प्रतिनिधि र सहजकर्ता पुगेर फिल्डमै फोहोर व्यवस्थापन सम्वन्धि तालिम दिएका हुन् ।
 
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले धार्मिक तथा पर्यटकीय जिल्ला त्यसमाथि मुस्ताङ सदरमुकाम समेत रहेको गाउँपालिकालाई प्रदुषमुक्त बनाएर पर्यावरणको रक्षा ,मानव स्वास्थ्य , कृषि र पर्यावरणमा  वातावरणीय प्रदुषणले पू¥याउने हानी नोक्सानीका  साथै यहाँ उत्पन्न हुने जैविक फोहोरलाई कसरी पून प्रयोगमा ल्याउने र  अजैविक फोहोरलाई कसरी व्यवस्थापन गर्ने यसबाट कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने लगायतको उद्देश्य राखेर गाउँपालिकाले १० दिने फोहोर व्यवस्थापनको तालिम संञ्चालन गरेको जानकारी दिए । अध्यक्ष लालचनले घरपझोङ गाउँपालिकाले फोहोर मैला व्यवस्थापनलाई उच्चप्राथमिकतामा राखेको बताए ।
‘हामीले फोहोर मेला व्यवस्थापन सम्वन्धि कार्यविधि र ऐन बनाईसकेका छौं,यसमा जथाभावी फोहोर मिल्काउनेलाई दण्ड सजायको व्यवस्था उल्लेख छ ,’अध्यक्ष लालचनले भने ,जबसम्म नागरिकमा चेतनाको विकास हुदैन, फोहोर मैला व्यवस्थापनमा समेत चुनौती हुन्छ ।’ नागरिक सुसुक्षित नभएसम्म कानुन कार्यान्वयन गर्न सहज नहुने अध्यक्ष लालचनले जनाए ।
 मुस्ताङको घरपझोङ गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा फोहोर मैला व्यवस्थापन कार्यविधि निर्माण गरेको थियो । कार्यविधिमा गाउँपालिका भित्र सिसाजन्य बियर ल्याउन प्रतिबन्ध लगाएको थियो । गाउँपालिका आगामी आर्थिक वर्षदेखिन बियरका बोतल मात्र नभई अन्य सिसाजन्य पदार्थमा प्याकेजिङ गरिएका मदिराका बोतलहरुलाई निरुत्साहित गर्दै लैजाने जनाईएको छ । गाउँपालिकाले फोहोर मुक्त पालिका अभियानलाई मूर्त रुपमा दिन गाउँपालिका आफैले प्लाष्टिकका झोलाको बिकल्पमा कपडाको झोला वितरण समेत गरिरहेको छ ।
गाउँघर र टोलबाट निस्किने फोहोरलाई व्यवस्थापन गर्दै कसरी लाभ लिने सकिन्छ र रासायनिक मलको बिकल्पमा कसरी जैविक मल बनाएर प्रयोगमा ल्याउन सकिन्छ भन्ने बिषयमा ५ वटै वडामा गरी १० दिने तालिम दिईएको हो । तालिमका सहजकर्ता शेखरनाथ पन्थीले फोहोरको बर्गीकरण गर्ने र फोहोरलाई पूनः प्रयोगमा ल्याउने र फोहोरलाई पून निर्माण गर्ने मुलमन्त्रहरुको बिषयमा तालिम अभ्यास दिईएको जानकारी दिए । उनले फोहोरलाई जिरो लेवलमा लैजान अपनाउन सकिने माध्यमहरुका बिषयमा स्थानीय नागरिकलाई सिकाई अभ्यास भएको उनले बताए । उनले एक प्लाष्टिक जलाउँदा ८ जना व्यक्तिको दैनिक अक्सिजन नष्ट हुने  भएकाले यस्ता अजैविक फोहोरहरुको समुचित व्यवस्थापन  र प्रयोग गर्न सकियो भने फोहोरनै मोहरमा परीणत हुने जनाए । अजैविक पदार्थलाई जथाभावी नष्ट गर्दा यहाँ उत्पादन हुने रैथानेबालीलाई ठुलो क्षति पुग्ने सहजकर्ता पन्थीको भनाई छ ।
सहजकर्ता पन्थीले आफै गलेर जाने जैजिक फोहरलाई कम्पोष्ट मल बनाउन तरिका समेत स्थानीय नागरिकलाई वडावडामा पुगेर सिकाएका थिए । हामीले आफैले उत्पादन गरेको जैविक फोहोरलाई कम्पोष्ट मल तयार गरेर कृषि क्षेत्रमा प्रयोग गर्न सकियो भने मात्रै पर्यटक थप वृद्धि हुने र स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न सकिने सहजकर्ता पन्थीको भनाई छ । उनले जैविक फोहोर र अजैविक फोहोर व्यवस्थापनका लागि गाउँपालिका ,वडा र आमासमुहरुहरुले अनुगमन र व्यवस्थापन गर्नसकेमात्र तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा लैजान सकिने बताए ।
जैविक तथा अजैविक फोहोर व्यवस्थापन सम्वन्धि सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रशिक्षण्बाट ५ वटै वडाका १५० जना भन्दा बढी नागरिक लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ,घरपझोङका ५ वटा मध्ये मार्फा,स्याङ, जोमसोम र पुथाङ एअरपोर्टमा फोहोर व्यवस्थापन मुख्य चुनौती छ । यहाँका होटलहरुमा उत्पन्न हुने जैविक र अजैविक फोहोर व्यवस्थापनमा समस्या रहेको गाउँपालिकाले उल्लेख गरेको छ । यस्तै मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले जथाभावी फोहोर मिल्काउने परिपाटीका कारण पनि प्रदुषणको जोखिम बढेको हो । यसका लागि घरपझोङ गाउँपालिकाले पर्यटकीय चहलपहल हुने स्थानमा फोहोर व्यवस्थापन सम्वन्धि सूचना बोर्ड समेत राख्ने तयारी गरेको छ ।
घरपझोङ गाउँपालिकाले गाउँपालिका केन्द्र नजिकै फोहोर संकलन स्थल बनाईसकेको छ । आगामी आर्थिक वर्षदेखि वडा वडाका अजैविक फोहोरहरुको पहिचान गरेर गाउँपालिका आफैले संकलन गर्ने र त्यसको व्यवस्थापन तथा ढुवानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ( एक्यापले जिम्मा लिने बताईएको छ ।


प्रतिक्रिया