मुस्ताङमा वन्यजन्तु पीडित २६ घरधुरीलाई क्षति राहत वितरण

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका वन्यजन्तु पीडित २६ घरधुरीलाई वन्य जन्तु क्षति राहत वितरण गरिएको छ । एक्यापले संरक्षित हिउँ चितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत रकम संम्वन्धित  पशुधन घरधुरीको र्बैंक खातामा भुक्तानी उपलब्ध गराएको जनाएको छ ।

बिहिबार जोमसोम स्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षतिको राहत सम्वन्धित पशुपालक घरधुरीहरुलाई वितरण  गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

 आ.व. २०८०÷०८१ र आ.व. २०८१÷०८२ वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकाका गरी कुल २६ घरधुरीको १११ वटा पशुधन क्षति भए वापतको १३ लाख १८ हजार रुपैया राहत स्वरुप हस्तान्तरण भएको जनाएको छ ।

कार्यालय प्रमुख राजेश गुप्तका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वन्यजन्तु क्षति राहत रकम पाउन नसकेकाहरुलाई एक्यापको वन्यजन्तु क्षति राहतको आपत्कालीन कोषबाट सम्वोधन हुने गरी राहत उपलब्ध गराईएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका  पाँच घुरधुरीका २४ पशुधनको दुई लाख ३६ हजार, घरपझोङ गाउँपालिका अन्तर्गतका  ११ घरधुरीका ६९ वटा पशुधनको क्षति राहत  सात लाख २५ हजार र थासाङ गाउँपालिका अन्तर्गतका १० घरधुरीका लागि ३० वटा पशुधन क्षति भए वापतको  तीन लाख ५७ हजार रुपैया राहत स्वरुप हस्तान्तरण भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा वारागुङ मुक्तिक्षेत्रमा हिउँ चितुवाको आक्रमणमा परी  याक ६ वटा र च्यांग्रा १६ वटा क्षति भएको थियो । घरपझोङमा  च्यांग्रा ५८ वटा,याक ८ वटा र घोडा ३ वटा क्षति भएको थियो । यसैगरी थासाङ गाउँपालिकामा  याक १८ वटा र २ वटा बाख्रा वन्यजन्तुको आक्रमण परी क्षति भएको थियो ।

मुस्ताङमा हिउँ चितुवाको आक्रमणमा परी पशुधनको क्षति हुने तथ्यांक बढ्दो रहेको पाईएको छ । एक्यापका अनुसार आ.व. २०७६÷०७७ मा  १६३ वटा पशुधन क्षति भएको थियो । यसैगरी आ.व. २०७७÷०७८ मा  ५४ वटा, आ.व. २०७८÷००७९ मा १३ वटा, आ.व. २०७९÷०८० मा  ३८ वटा पशुधन क्षति भएको थियो ।

यसैगरी पछिल्लो आ.व. २०८०÷०८१ मा  ५६ वटा र आ.व. २०८१÷०८२ मा ८८ वटा पशुधनमा क्षति पुगेको थियो । यहाँ आयोजित राहत हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले  वन्यजन्तु संरक्षणका लागि पुरस्कारको व्यवस्था र वन्यजन्तु संरक्षणका लागि सुक्ष्म अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताउँनुभयो । अध्यक्ष लालचनले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ र यहाँको संरक्षित वन्यजन्तुलाई पर्यटन प्रर्वद्धनसंग जोड्नु पर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

एक्याप प्रमुख राजेश गुप्तले एक्याप कार्यालय वन्यजन्तु पीडितहरुलाई जतिसक्दो छिटो छरितो राहत उपलब्ध गराउने गरी आन्तरिक राहत कोष खडा गरिएको बताउँनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध हुने वन्यजन्तु क्षति राहत उपलब्ध हुन ढिलाई हुने भएकाले एक्यापले त्यसैमा मिलाउने गरी एक्यापकै  बजेट दिएर पीडित पशुपालकको समस्या सामाधान गर्ने प्रयास भएको बताउँनुभयो ।


प्रतिक्रिया