जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङमा पर्यटक लोभ्याउने कलात्मक भव्य बोन गुम्बा निर्माण भएको छ ।मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र तथा विदेशी फाउन्डर संघसंस्थाहरुको आर्थिक सहयोगमा शेम्तेन थाग्यालिङ धार्मिक बोन गुम्बा एवं आध्यामिक अध्ययन केन्द्र परियोजनाले पाक्लिङमा भव्य लोभलाग्दो कलात्मक बोन गुम्बा निर्माण सम्पन्न गरेको हो ।
नवनिर्मित धार्मिक कलात्मक बोन गुम्बाको धार्मिक पुजापाठसहित बुधबार उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको छ । गुम्बाको ३४ औं मेनरी मठाधिस परमपुज्य लुङतोक धावा धाग्र्याल रिन्पोर्छे तथा पुज्यनीय मेनरी पोनलोव ठिनले ङिमा रिन्र्पोछे,गुम्बाका प्रमुख लामा खेन्पो छुल्डीम तेन्जिङ रिन्पोर्छे र मुस्ताङ संस्कृतिक तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम लगायत दर्जनौ बुद्धिस लामाहरुको सहभागितमा धार्मिक अनुष्ठानसहित औपचारिक रुपमा गुम्बा उद्घाटन भएको संस्थाकी सचिव शर्मिला गुरुङले कार्यक्रममा बताईन् ।गुुम्बा उद्घाटन समारोहमा पूर्व सांसद तथा स्थानीय तहका जनप्रतिनिधि ,समाजसेवी,शिक्षाप्रेमी र स्थानीयबासीको उल्लेख्य सहभागी रह्यो । गुम्बा उद्घाटन तथा प्राणप्रतिष्ठानपछि आयोजित कार्यक्रमा गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न निकायहरुलाई मुस्ताङ संस्कृतिक तथा शिक्षा केन्द्रले प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
२१ करोड लागतमा निर्माण सम्पन्न भएको धार्मिक बोन गुम्बा स्थल वरपरबाट कालिगण्डकी करिडोर,सडकमार्ग र निलगिरी र धौलागिरी हिमाल निकै मनमोहक देखिन्छ । राष्ट्रिय गौरवको सडकमार्गबाट करिव २ सय मिटर पश्चिमतर्फको अग्लो उचाईमा धार्मिक बोन गुम्बा निर्माण भएको हो । सडकमार्गबाट नियाल्दा निकै आर्कषक देखिन बोन गुम्बामा धार्मिक क्रियाकलापका साथै पर्यटन प्रर्वद्धनमा समेत योगदान पू¥याउने विश्वाश गरिएको छ । परियोजना अन्तर्गत फेज वानको कार्ययोजना अनुसार त्यहाँ साँढे ३ तले धार्मिक बोन गुम्बा निर्माण भएको हो ।
परियोजना अन्तर्गत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले त्यहाँका बोन गुम्बाका अलावा विभिन्न पूर्वाधार निर्माण गर्न फेज थ्रिसम्मको कार्ययोजना बनाएको छ ।गुम्बाको सिभिल कन्ट्रक्सनको जिम्मा एमबी अमित जेभीले ११ करोडमा ठेक्का सम्झौता गरेको थियो । जसमा बोन गुम्बा,लामा निवास,लाईबेरी, हल,किचन,प्रशासनिक कक्ष, पानी ट्याङ्की,गुम्बा परिसर र एप्रोज सडक लगायतको काम गरेको थियो ।
यसका अतिरिक्त बाँकी १० करोडबाट प्रशासनिक खर्च,मूर्ती स्थापना,वातावरणमैत्री भौतिक संरचना,रंगरोगन,चित्रकला र कलात्मक थान्का पेन्टिङका कामहरु सम्पन्न गरिएको थियो । गुम्बामा १ करोड ४० लाख लागतको तामाको मूर्तीमा सुनको जलप प्रतिस्थापन गरिएको छ ।
कठिन परिस्थितीका बालबालिकाका लागि बोन धर्मप्रति उत्प्रेरणा जगाउने,बोन धर्मको संरक्षण तथा प्रर्वद्धन गर्ने र उनीहरुको शिक्षा र स्वास्थ्य योगदान पू¥याउने उद्देश्यले मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पूर्वाधार निर्माणका साथै विभिन्न कार्यहरु गर्दैआईरहेको छ ।