मुक्तिनाथको भेटी पाँच बैंकमा एघार करोड ७६ लाख मौज्याद

मुस्ताङ,३०, साउन ।

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरको समिति बैंक खातामा एघार करोड ७६ लाख ३३ हजार रुपैया बढी नगद मौज्याद रहेको मुक्तिनाथ विकास समितिले जनाएको छ । समिति गठन भएदेखि आव २०८२÷०८३ को असार महिनासम्म समितिको पाँच वटा बैंक खातामा उक्त रकम मौज्याद रहेको हो ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आएका धार्मिक स्वदेशी तथा विदेशी भक्तजनहरुले चढाएको नगद भेटी रकम समितिको विभिन्न बैंक खातामा जम्मा गर्ने गरिएको जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा समितिका कर्मचारीबाट रसिद काटेको नगद भेटीदान र चन्दा भेटी बाकसमा संकलन भएको नगद भेटी रकम समितिको बैंक खातामा जम्मा राखिने गरिएको व्यवस्थापक भुसालले बताउँनुभयो ।

 मुक्तिनाथ मन्दिरमा भक्तजनहरुले दान गरेको भेटीलाई समय सापेक्षिक रुपमा गणना गर्ने गरिएको छ । व्यवस्थापक भुसालका अनुसार मुक्तिनाथ विकास समितिको मौज्याद रकम मध्ये कृषि विकास बैंकमा सात करोड १६ लाख ३२ हजार,सांग्रिला बैंकमा तीन करोड ९२ लाख ९५ हजार, प्रभू बैंकमा पचपन्न लाख ६४ हजार,नेपाल बैंकमा एघार लाख २३ हजार र माछापुच्छ«े बैंकको खातामा सत्र हजार ५०० रुपैया नगद मौज्याद रहेको छ ।

मुक्तिनाथ विकास समितिले आव २०८२÷०८३ को बाह्र महिना अवधिमा कर्मचारी मार्फत एक करोड ५२ लाख ५९ हजार रुपैया बढी रसिद काँटेर संकलन गरेको छ । व्यवस्थापक भुसालका अनुसार मक्तिनाथ विकास समितिले गत वर्ष संकलन गरेको रसिद काटेको भेटी रकम मध्ये एक करोड २५ लाख ३६ हजार रुपैया बढी समिति बैंक खातामा जम्मा भएको उल्लेख गर्नुभयो । संकलित रकम मध्ये तीन लाख ५ हजार रुपैया बढी कर्मचारीको तलब भत्ता र व्यवस्थापनमा खर्च भएको उहाँले बताउँनुभयो । यसैगरी गतवर्ष संकलन भएको भेटी रकम मध्ये सटही हुन नसकेको भारतीय रुपैया पन्ध्र लाख ११ हजार बढी र विभिन्न एघार देशका विदेशी भक्तजनहरुले चढाएको विदेशी मुद्रा समितिसंग नगद मौज्याद रहेको व्यवस्थापक भुसालले जानकारी दिनुभयो ।

यसैगरी मुक्तिनाथ विकास समितिले आव २०८२÷०८३ मा चार पटकसम्म मुक्तिनाथ मन्दिरको दान पेटिका बाँकसमा संकलन भएको भेटी रकम गणना गरेको छ । मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं भूमि प्रशासन कार्यालय मुस्ताङका प्रमुख सूर्य शर्मा अर्यालका अनुसार मुक्तिनाथ मन्दिरको भेटी दान पेटिकामा गतवर्ष नेपाली र भारतीय रुपैया गरी पैतिस लाख ५२ हजार ४७५ रुपैया संकलन भएको छ । दान पेटिकामा एघार लाख १ हजार ५७१ रुपैया भारतीय रुपैया र चौबिस लाख ५० हजार ९०४ रुपैया नेपाली रुपैया संकलन भएको सदस्य सचिव अर्यालले उल्लेख गर्नुभयो ।

मुक्तिनाथ मन्दिरमा समितिको पाँच वटा भेटी दान पेटिका राखिएको छ । विस २०८२ असोज ९ गते भेटी दानपेटिकाको रकम गणना हुँदा तीन लाख ४९ हजार र भारतीय रुपैया पन्ध्र हजार ४८५ र विस २०८२ पुस १७ गते गणना हुँदा  छ लाख ५३ हजार र भारतीय रुपैया उनान्सय हजार ५७७ रुपैया जम्मा भएको छ ।

यस्तै समितिले तेस्रो पटक विस २०८२ चैत्र ११ गते दानपेटिकाको भेटी गणना गर्दा चार लाख ९७ हजार ५३५ रुपैया नेपाली र एक लाख १४ हजार ७२० रुपैया भारतीय रुपैया संकलन भएको छ । समितिले चौथो तथा अन्तिम पटक विस २०८२ साल जेठ ३ गते दानपेटिकाको रकम गणना गर्दा नौ लाख ५० हजार २६० नेपाली र चार लाख ५८ हजार ७०० रुपैया भारतीय रुपैया जम्मा भएको सदस्य सचिव अर्यालले बताउँनुभयो ।

 मुस्ताङमा पछिल्लो समय बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक गरी करिव सात लाख बढीले मुक्तिनाथ दर्शन गर्ने गरेका छन् । मुक्तिनाथमा सार्क तथा अन्य राष्ट्र मध्ये ९० प्रतिशत बढी भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गर्न गरेका छन् । समितिले सटही हुन नसकेका भारतीय तथा अन्य राष्ट्रका विदेशी मुद्रा र गरगहनाहरु सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा राख्ने गरेको छ ।


प्रतिक्रिया