-
तस्विरः निर्माणधिन (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुल
जोमसोम—राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—२ को कोवाङ—सौरु जोड्ने सस्पेन्सन पुलको योजना २०७४ सालमा प¥यो । सस्पेन्स ब्रिज डिभिजन कार्यालय काठमान्डौले थासाङको एउँटै वडामा पर्ने कालिगण्डकी नदी वारिपारीका गाउ (कोवाङ—सौरु)जोड्ने दुई मिटर चौडा हुने गरी ५७० मिटर लामो सस्पेन्सन पुलको ठेक्का खुलायो ।
कालिगण्डकी नदीमा निर्माण हुने पुलको ठेक्का ईलाईट रुविना जेभी कन्ट्रक्सनले पायो । बर्सेनि बर्खायाममा कालिगण्डकी नदी वारपार गर्न सधै जोखिमपूर्ण यात्रा गर्नुपर्ने सौरु र सिर्खुम गाउँका स्थानीय नागरिक पुलको योजना परेकोमा िनिकै उत्साहित बने । पुल बन्ला र बर्खायाममा जोखिम मोलेर कालिगण्डकी नदी तर्नुपर्ने परिस्थिती हट्ला भन्ने पर्खाइमा बसेका सौरु र सिर्खुमबासीको सपना ७ वर्ष बितिसक्दा समेत पुरा हुन सकेन । पुल बन्ने पर्खाईमा रहेका त्यस क्षेत्रका स्थानीय नागरिकहरुको धैर्यताको बाँध पुल अलपत्र परेपछि टुट्दै जान थालेको छ ।
२०७४ साल कार्तिक महिनामा ५ करोड लागतमा ईलाईट रुविना जेभी कन्ट्रक्सनले ३० महिनामा पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । २०७७ साल बैशाखमा सम्पन्न हुनुपर्ने कालिगण्डकी नदीमा निर्माणधिन सस्पेन्सन पुल ७ वर्ष पुग्दा समेत सम्पन्न हुन नसकेको हो । भौगोलिक बिषमता,हिमपात,प्रतिकुल मौसम र कोरोना कहर लगायतको कारण देखाउँदै पटक÷पटक म्याद हुँदै आईरहेको मुस्ताङको (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुलको काम पछिल्लो समय पूनः गतवर्षको जेठदेखि अलपत्र परेको छ ।
त्यसो त जोईन कम्पनीको रुपमा ठेक्का सम्झौता भएको कोवाङ—सौरु जोड्ने सस्पेन्सन पुलको सुरुवाती चरणमा रुविना कन्ट्रक्सनका प्रतिनिधि जयदेव थापाले पुल बनाउने जिम्मा लिएका थिए । प्रतिनिधि थापाले पुलको सुरुवाती आशिंक काम गरेपछि त्यसयता पुलको कामलाई अघि बढाउन सकेनन् । पुल बनाउने प्रतिनिधिनै पुलको काम अघि बढाउन छोडेर लामोसमय सम्पर्कविहिन रहे । त्यसपछि कोवाङ—सौरु पुल निर्माणको काम पुरै ठप्पै बन्यो । रुविना कन्ट्रक्सनका थापाले पुल अलपत्र छाडेकाले गतवर्षदेखि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जोईनको अर्को पार्टनर ईलाईट कन्ट्रक्सनलाई पुल बनाउने अख्तियारी दिएर फिल्डमा फर्कायो । ईलाईट मार्फत सहायक ठेकेदार निकेश श्रेष्ठ प्रतिनिधि बनेर (सौरु—कोवाङ) पुल बनाउन जुटे । गतवर्ष बैशाखमा पुलको अधुरो कार्य सुरु गरेका निकेशले पनि जेठ लागेपछि निर्माण कार्यलाई तिब्रता दिन सकेनन् । उनले पुलका लागि व्यवस्थापन गरेको मेट्रियल बाढीले बगाएकाले निर्माणको काम रोकिएको जनाएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका स्थित (कोवाङ—सौरु) जोड्ने सस्पेन्सन पुलको पछिल्लो भौतिक प्रगती ७० प्रतिशत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर प्रवेश रेग्मले जानकारी दिए ।‘पुलको काम केही बाँकी छ, त्यसलाई बैशाख महिना भित्र पुरा गर्ने भनेका छौं, ईन्जिनीयर रेग्मीले भने,‘ सिभिल र पुलको फिटिङ गर्ने काम छ, निरन्तर काम भएमा धेरै समय लाग्दैन ।’ उनले निर्माण कम्पनीका प्रतिनिधि दसै,तिहार र छठ पर्व सकिने बित्तिकै काममा फर्किने जनाए । यता, ईलाईटका प्रतिनिधि निकेश श्रेष्ठले (कोवाङ—सौरु) जोड्ने पुल बैशाख अगावै सकिने दावी गरे । उनले पुलको काम सुरु गर्न जनशक्ति र उपकरण फिल्डमा परिचालन गर्ने तयारी गरेको बताए । ‘पुलको केही सिभिलको काम र पुल फिटिङको काम बाँकी छन्, सबै पुललाई सामानहरु कार्यस्थलमा व्यवस्थापन गरिएको छ । केही प्राविधिक कारणले गर्दा पुलको काममा बाधा परेको थियो’ उनले भने ।’
राष्ट्रिय राजमार्गको कालिगण्डकीपारी पूर्वमा अवस्थित सौरु र सिर्खुम गाउँमा करिव १२० घरधुरीको बसोबास छ । कालिगण्डकी नदीमा पुल नहुँदा बषौवर्षदेखि त्यस क्षेत्रका नागरिकहरुले बर्खायाममा निकै कष्ठ र सास्ती झैल्दैआईरहेको वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । कालिगण्डकी नदीमा पुल नहुँदा त्यहाँका नागरिकहरुले शिक्षा ,स्वास्थ्य र स्थानीय तहको विभिन्न सेवा लिन कोखेठाँटीको पुल हुँदै करिव २ घण्टाको फेरोमा पैदल हिड्नु पर्ने हुन्छ । कालिगण्डकी नदीमा पुल नबन्दा त्यहाँ उत्पादन हुने कृषि उपजको समेत सहज बजारिकणमा समेत समस्या पर्ने गरेको सौरु गाउँका स्थानीय सोजन हिराचनले जानकारी दिए । उनले बर्सेनि बर्खायाममा खोला पार गर्न कालिगण्डकी नदीमा काठको साँघो हाल्ने र झिक्ने सास्ती व्यवहोर्न परेको बताए ।
२७ कार्तिक २०८१, बुधबार ०९:२४ मा प्रकाशित
694
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली