मुस्ताङको जोमसोम प्रहरीद्धारा सडकमै ‘हाईअल्टिच्युड’ शिविर स्थापना (फोटो फिचर)



जोमसोम— धार्मिक तथा पर्यटक गन्तव्य हिमालपारीको जिल्ला मुस्ताङमा पर्यटक तथा दर्शनार्थी लक्षित एक हप्ते हाईअल्टिच्युड स्वास्थ्य शिविर स्थापना गरिएको छ । गण्डकी प्रदेशको प्रदेश प्रहरी अस्पतालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा आईतबारदेखि मुस्ताङको जोमसोममा हाईअल्टिच्युड स्वास्थ्य शिविर संञ्चालन गरिएको हो ।

समून्द्री सतहको ३८ सय मिटरको उचाईमा मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी तथा मुस्ताङ भ्रमण गर्न आउने पर्यटकलाई यहाँको उच्च उचाईको क्षेत्रमा हाईअल्टिच्युडको जोखिम हुने गरेको छ । अक्सर बेसीको समथरिलो स्थानबाट समून्द्री सतहको २५ सय मिटरको अग्लो उचाईको स्थानमा आउँदा पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा पछिल्लो ३ आर्थिक वर्षमा २८ जना आन्तरिक तथा बाह्य पर्यटकले हाईअल्टिच्युड समस्याका कारण अकालमा ज्यान गुमाईसकेका छन् ।


मुस्ताङमा बर्सेनि बैशाख —जेठ र असोज—कार्तिकमा उल्लेख पर्यटक आउने गर्छन । यसै परिपेक्षमा चैत्र दशै पर्व र चैते दशै औशी तिथिलाई मध्यनजर गरी गण्डकी प्रदेशको प्रदेश प्रहरी कार्यालयद्धारा मुस्ताङ प्रहरीको समन्वयमा एक हप्ते हाईअल्टिच्युड स्वास्थ्य शिविर संञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बेसीको कम उचाईबाट उच्च उचाईको मुस्ताङ आउँने पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेकाले यसै तथ्यलाई आत्मसाथ गर्दे प्रहरी निकायको समन्वयमा प्रदेश प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीबाट हाईअल्टिच्युड शिविर संञ्चालन गरिएको मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले जानकारी दिए । उनले शारिरीक रुपमा अशक्त,उमेर कटेका र दीर्घ रोगका समस्या भएकाहरुलाई हाईअल्टिच्युडको जोखिम हुने गरेको जनाए । धार्मिक क्षेत्रमा आउने पर्यटकको स्वास्थ्य रक्षा गर्नु प्रहरीको मानवीय धर्म भएकाले स्वास्थ्य परीक्षण कार्यले पर्यटकको स्वास्थ्य जोखिम न्यूनिकरण हुने अपेक्षा गरे ।


 हिमाली जिल्ला मुस्ताङको जोमसोम—कोरला  मुख्य राजमार्गमै प्रहरी निकायद्धारा पहिलो पटक हाईअल्टिच्युड स्वास्थ्य शिविर  तथा सचेतनामूलक कार्यक्रम स्थापना गरिएको हो । शिविरमा प्रदेश प्रहरी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. मृदुषा श्रेष्ठसहित ३ जना स्वास्थ्यकर्मी खटिएका छन् । शिविरलाई मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ भने जिल्ला प्रहरी कार्यालय मुस्ताङले पर्यटक तथा सवारी साधन व्यवस्थापनमा सहजीकरण गरिरहेको छ । 

मुस्ताङको जोमसोममा स्थापना गरिएको पर्यटक तथा दर्शनार्थी लक्षित हाईअल्टिच्युड स्वास्थ्य शिविरमा चेकजाँच गराउनेहरुलाई हाईअल्टिच्युड जोखिमका बारेमा सचेतनामूलक जानकारी दिईएको प्रदेश प्रहरी अस्पतालकी मेडिकल अधिकृत डा. मृदुषा श्रेष्ठले उल्लेख गरिन् । शिविरमा पर्यटक तथा दर्शनार्थीलाई मुस्ताङको उच्च उचाईमा आउँदा औषधि सेवन गरेनगरेको,स्वास्थ्यमा समस्या भएनभएको, यसअघि यो भन्दा माथिको उचाईमा यात्रा गरेनगरेको र मुस्ताङसम्मको यात्रा गर्दा कहाँ कहाँ बिश्राम गर्नु भयो या सिधै आईपुग्नु भयो भनी सोध्ने गरिएको मेडिकल अधिकृत डा. श्रेष्ठले जानकारी दिईन् ।

डा. श्रेष्ठका अनुसार उच्च उचाईको स्थानमा आउँदा  अक्सिजन कमीका कारण स्यास्या हुने,टाउँको दुख्ने,वाकवाकी हुने, रिङगटा लाग्ने, आँखा धमिलो हुने,निद्रा नलाग्ने, खान मन नलाग्ने,फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गारो हुँने गर्छ । यस्तो समस्या देखिएमा हाईअल्टिच्युड लागेको प्रमाणित हुने तुरुन्तै उच्च उचाईबाट तलतल झर्नुपर्ने डा. श्रेष्ठको भनाई छ ।


पछिल्लो समय मुस्ताङ प्रहरीले म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा पर्यटक तथा दर्शनार्थीहरुलाई हाईअसल्टिच्युड सचेतना दिन थालेको छ । मुस्ताङमा हाईअल्टिच्युड समस्याका कारण मृत्यु हुनेमा अधिकाँश भारतीय पर्यटक रहेको तथ्यांकमा उल्लेख छ । मुस्ताङमा आउने पर्यटक तथा तिर्थालुहरुलाई हाईअल्टिच्युडको समस्या हुने गरेको बताए । यो स्थानमा घुम्न र दर्शन गर्न आउने पर्यटक अल्टिच्युडले मृत्यु हुने खबर राम्रो नभएको उनले बताए । मुस्ताङको हावापानी बुझेर यात्रा गर्नु पर्ने यहाँ आउने पर्यटक तथा दर्शनाथीले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गराएर मात्रै आउनु पर्ने यातायात व्यवसायी बिसीको भनाई छ । उनले प्रहरीद्धारा राखिएको हाईअल्टिच्युड शिविर यहाँको लागि उपयुक्त र सान्र्दर्भिक भएको टिप्पणी गरे ।

मुस्ताङमा मुक्तिनाथ दर्शन गर्न आउँने क्रममा प्रहरीले स्थापना गरेको हाईअल्टिच्युड शिविरमा स्वास्थ्य परीक्षण गर्ने मौका पाउँदा खुसी लागेको काठमान्डौंका दर्शनार्थी रामेश्वर उपाध्यायले बताए । समुदाय प्रहरी अवधारण अन्तर्गत नागरिकको ज्यूधन प्रति प्रहरी जिम्मेवारी रहेको उल्लेख गर्दै दशनार्थी उपाध्यायले यात्राका क्रममा हुने सबै प्रकारका जोखिम न्यूनिकरण गर्न शिविरले ठुलो योगदान पुग्ने जनाए 

मुस्ताङमा आउने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युड दुर्घटनाबाट जोगाउन संम्वन्धित ट्राभल एजेन्सी,होटल व्यवसायी,प्रहरी ,प्रशासन र स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । शारिरीक रुपले अशक्त ,दीर्घ रोगका बिमारी र उमेर कटेका व्यक्तिलाई मुस्ताङ ल्याउँदा ठाउँ ठाउँमा बिश्राम गराएर मात्रै ल्याउनु पर्ने हुन्छ । बेसीबाट हतार हतारको निरन्तर यात्रा गरी एकै साथ मुस्ताङ आउँदा यहाँ हाईअल्टिच्युडको जोखिम बढ्ने गर्छ । 

मुक्तिनाथमा हाईअल्टिच्युड स्वास्थ्य शिविर स्थापना भएपनि जनशक्ति अभावका कारण प्रभावकारी हुन सकेको छैन । 



प्रतिक्रिया