मुस्ताङमा लोपोन्मुख लुलु गाई पालन संस्कृति संकटमा


जोमसोम—  कृषकहरुले पालन गर्ने विभिन्न प्रजातीका गाईहरु मध्ये लुलु गाई पनि एक हो । यो हिमाली जिल्ला मुस्ताङ ,मनाङ र उपल्लो डोल्पामा पाईने गर्छ । पारिस्थितीक प्रणाली (ईको सिस्टम¬)मा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ ।

नेपालमा पाईने स्थानीय गाईहरु मध्ये जुरो नभएको गाई अन्तर्गत त्यस बर्गमा पर्ने एक गाई हो लुलु गाई । लुलु गाई अन्तर्गत भाले र पोथीको सहबासबाट प्रजजन् हुने गर्छ । अन्य गाई भन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिएका लुलु गाई कद केही होचो हुन्छ । यो समून्द्री सतहदेखि दुई हजार ५ सय मिटरको उचाईदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

मुस्ताङमा सदिंयौ वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआईरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख एवं पशु चिकित्सक डा. लालमणी अर्यालले जानकारी दिनुभयो । मुस्ताङमा दश वर्षअघि करिव १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचै पालिकामा गरी करिव ६ हजारको संख्यामा लुलु गाई पालन गरिएको डा. अर्यालले उल्लेख गर्नुभयो ।‘मुस्ताङमा लुलु गाई पालन बर्सेनि घ्ट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकहरुले खासै चाँसो दिएको पाईएन’, पशु चिकित्सक डा अर्यालले थप्नुभयो,‘ दुध उत्पादन कम हुने र अन्य बैकल्पिक अवसरहरुले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।’

मुस्ताङका कृषकहरुले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दुध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दुध उत्पादन गर्ने भएकाले कृषकहरुले लुलु गाई पालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशुशाखा प्रमुख आईतलाल थकालीले बताउँनुभयो ।‘ कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ सम्वेदनशील भएको पाईदैन, यो निकै चिन्ताको बिषय बनेको छ’ पशुु शाखा प्रमुख थकालीले भने, ‘गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्ने लगायतमा सहयोग गर्ने गरेको छ ।’

 मुस्ताङका कृषकहरुले पालन गर्ने लुलु गाई  हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाई छ ।

मुस्ताङमा बिस्थापित हुने अवस्था रहेको लुलु गाई पालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसंगै मुस्ताङका कृषकहरुले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकहरुले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताउँनुभयो । ‘ अन्य वस्तुभाउ भन्दा लुलु गाईलाई कृषकहरुले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले’, कृषक थकालीले भने,‘ कोही कृषि र होटलहरु चलाउन थालेपछि कृषकहरुले लुलु गाई पाल्न छाडेका हुन् ।’ पहिला पहिला एउँटै घरमा १०÷१२ वटा सम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउँटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाई छ । कृषि र पर्यटनको विकाससंगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाउँनछन् ।

 लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दुध उत्पादन गर्ने गर्छ । कम दुध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् । त्यस्तै कृषकहरुले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाईदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौति बनेको हो । 

जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्चलेंक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको , चरनक्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकहरुले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफै आहारा व्यवस्थापन गर्ने क्षमता भएपनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काईएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ती गर्ने गरेको पाईएको छ ।


प्रतिक्रिया