मुस्ताङ, ४, भदौ ।
यहाँ स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङले च्यांग्रा जोनमा सुचिकृत किसानलाई विभिन्न एघार शिर्षकहरुमा अनुदान सहुलियत दिने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ लाख ४४ हजार रुपैया विभिन्न एघार शिर्षकमा अनुदानको कार्यक्रम रहेको कार्यालय प्रमुख भरत गौतमले जानकारी दिनुभयो ।
च्यांग्रा जोन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कृषक पाठशाला संञ्चालनमा दुई लाख ८५ हजार, च्यांग्रा पालक कृषकहरुलाई उन्नत प्रविधिको तालिम संञ्चालनमा दुई लाख ८५ हजार,बाली वस्तु विशेष स्थलगत तालिममा चौबिस हजार, पशु आहार व्यवस्थापन तथा तालिम कार्यक्रममा नौ लाख , जोन सुपर जोन क्षेत्रमा कृषि आधुनिकीकरण सहयोगमा पाँच लाख , नौ वटा खोर सुधार कार्यक्रमका लागि सत्ताईस लाख , दुई वटा पशु नश्ल स्रोत केन्द्र स्थापनामा आठ लाख, डुबाउने ट्याङकी निर्माण सहयोगमा चार लाख ५० हजार, कम्पोष्ट गोठे मल सुधार कार्यक्रममा पाँच लाख र २० वटा जोन क्षेत्रमा पशु नश्ल सुधार उत्पादन वृद्धि कार्यक्रममा बाह्र लाख अनुदान रहेको कार्यालयले गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङ अन्तर्गत संञ्चालित च्यांग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि पशु फार्म,समुह,सहकारी र निजी कम्पनी सुचिकृत भएका छन् । यहाँ आ.व. २०७८/०७९ देखि च्यांग्रा जोन कार्यक्रम कार्यान्वयनमा आएको हो ।
जोनको लक्ष्य जिल्लामा पालन भईरहेको च्यांग्रा पालक व्यवसायीहरुलाई बढी भन्दा बढी मात्रामा आवद्धता गराउने रहेपनि लक्ष्य अनुसार सुचिकृत हुन नसकेको कार्यालयका प्रमुख भरत गौतमले जानकारी दिनुभयो । यहाँ सम्वन्धित पालिकाको सिफारिस पत्रको आधारमा लक्षित च्यांग्रा पालक किसानलाई जोनमा आवद्ध गराईने गरिएको उहाँले बताउँनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका गरी १५ वटा वडाका च्यांग्रा पालक किसान च्यांग्रा जोन कार्यक्रममा सुचिकृत भएका हुन् । यहाँको घरपझोङ र थासाङ गाउँपालिकाबाट कुनै पनि च्यांग्रा पालक व्यवसायीहरुले जोनमा सुचिकृत हुन आवेदन पेश गरेका छैनन ।
मुस्ताङमा ५६ हजार च्यांग्रा र ५ हजार ५ सयको हाराहारीमा च्यांग्रा पालन भईरहेको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ ।तर, जिल्लामा उक्त संख्यामा च्यांग्रा पालन भईरहेको भएपनि यहाँको संघीय च्यांग्रा जोन कार्यक्रममा ७८ वटा सुचिकृत फार्म ,समुह,सहकारी र निजी कम्पनीका गरी १९ हजार ९९४ वटा मात्रै च्यांग्रा पालन भईरहेको पाईएको छ । च्यांग्रा जोनमा पालन गरिएका च्यांग्राको संख्या मध्ये १२ हजार बढी च्यांग्राका माउ रहेको कार्यालयले उल्लेख गरेको छ । यो जिल्लामा भएको च्यांग्रा पालनको कुल संख्या मध्ये जोनमा आवद्ध च्यांग्राको संख्या करिव ३३ प्रतिशत मात्रै हो ।
यहाँको च्यांग्रा जोन संञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङले जोनमा सुचिकृत हुन नसकेका च्यांग्रा पालकलाई संस्था दर्ता र पालिकाको सिफारिस भएमा कार्यालयबाट सहजीकरण गरी सुचिकृत गराईन सकिने कार्यालय प्रमुख गौतमको भनाई छ ।
यसैगरी मुस्ताङमा बर्सेनि औसत १० हजारदेखि २० हजारको हाराहारीमा यहाँ पालन गरिएका च्यांग्रा बिक्रीका लागि जिल्ला बाहिरिदा च्यांग्रा जोनमा आवद्ध किसानको मासुजन्य च्यांग्रा वार्षिक औसत ५ हजारको संख्यामा जिल्ला बाहिरिने गरेको कार्यालयले उल्लेख गरेको छ ।
मुस्ताङका किसानले मुख्यगरी मासु उत्पादनका लागि च्यांग्रा पालन व्यवसाय अपनाएको पाईएको छ । तर,पछिल्लो समय यहाँका च्यांग्रा पालक व्यवसायीहरु च्यांग्राको पश्मिना उत्पादनतर्फ पनि आर्कर्षित हुन थालेका छन् । यहाँ बर्सेनि प्रचि च्यांग्राबाट १५० ग्राम सम्म पश्मिनाको अप्रशोधित भुवा उत्पादन हुने गरेको च्यांग्रा जोन कार्यक्रमको सर्वेक्षणले देखाउँछ । यसैगरी यहाँ २ वर्षको वयस्क च्यांग्राको तौल ३५ केजी र बाख्रा (रमा)को तौल २७ केजीसम्म हुने गरेको कार्यालय प्रमुख गौतमले बताउँनुभयो । यहाँ च्यांग्रा जोनको सर्वेक्षणमा जोनमा आवद्ध किसानले पालन गरेको च्यांग्राको सम्पूर्ण आम्दानी र खर्चको औसत आय÷व्यय विश्लेषण गर्दा प्रति च्यांग्राको एक केजी जिवित तौल वृद्धि गराउन एक हजार १९२ रुपैया किसानको प्रत्यक्ष लगानी रहने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली