मुस्ताङको खिङ्गामा ‘धछ्याङ ’ पर्व मनाईदै

मुस्ताङ,२०,बैशाख ।

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ खिङ्गा गाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाई तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चारदिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यसप्रकारको धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’मनाउने प्रचलन रहेको छ । वारागुङ मुक्तिक्षेत्र ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गुरुङ र बिष्ट समुदायहरुले बर्सेनि यसप्रकारको ‘धछ्याङ’ पर्वलाई हर्षउल्लासका साथ मनाउने गर्छन ।

स्थानीय भाषामा ‘ध’को शाब्दिक अर्थ धनुषवाण (तारा) र ‘छ्याङ’को शाब्दिक अर्थ झाङ अर्थात (घरेलु पेय) पदार्थ भन्ने गरिन्छ । खिङ्गा गाउँका मुखिया  ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीहरुले घरेलु मदिरा सेवन गर्दै धनुषवाण (तारा) हान्ने खेल परम्परा भएकाले यसपर्वलाई ‘धछ्याङ’ पर्व भन्ने गरिएको बताउँनुभयो ।

यसवर्षको अघिल्लो हप्ता यहाँको वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत लुप्रा र झारकोट गाउँमा धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सम्पन्न भईसकेको छ । खिङ्गाका गाउँ मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार शुक्रबारदेखि यहाँको पुराङ रानीपौवा र खिङ्गा गाउँमा एकैसाथ अलग÷अलग ‘धछ्याङ पर्व भईरहेको उल्लेख गर्नुभयो । 


बर्सेनि मनाईने धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ केवल घरेलु पेय पदार्थ झाँङ खाएर धनुषवाण खेल्नेमा मात्रै सीमित नरहेको वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गर्नुभयो । धछ्याङ पर्व मनाईनेपछि हिउँदयाम सकिएर बर्खायाम सुरु भएको सूचकको रुपमा मनाउने प्रचलन रहेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । बशन्तऋतुको आगमनसंगै मनाईने यसप्रकारको ‘धछ्याङ’ पर्वमा स्थानीयले विश्वशान्तिको कामना गर्दै खेतीपाती र कृषि पालन व्यवसाय राम्रो होस्,प्राकृतिक विपद्का घटनाहरु नहोस, रोगब्याधि र अनिष्ठ नहोस् भन्ने कामना गर्दै ‘धछ्याङ’ पर्वमा विशेष पुजा आराधना गर्ने प्रचलन रहेको छ ।

यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता बोकेको परम्परागत ‘धछ्याङ’पर्व सदिंयौ वर्षदेखि मनाउँदै आईरहेको पाइएको छ । पर्वमा स्थानीय धर्मसंस्कृति, भेषभूषा अनुसारको पोशाक र गहना लगाएर स्थानीय पर्वमा सहभागी हुने गर्छन । धछ्याङ र यार्तुङ पर्व हिमाली जिल्ला मुस्ताङको पर्व मात्र नभई सांस्कृतिक धरोहरको रुपमा रहेको वडाध्यक्ष गुरुङको भनाई छ । पछिल्लो समय युवापुस्ताहरु विदेशी पलायन हुने क्रम बढेकाले धार्मिक तथा सांस्कृतिक परम्परा धान्न मुश्किल परेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

यहाँको वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत रहेको खिङ्गा गाउँमा ३२ घरधुरीको बसोबास रहेको छ । यहाँका स्थानीयको मुख्य आयआर्जको स्रोत भनेकै कृषि र पशुपालन व्यवसाय हो । गाउँका केहीले होटल व्यवसाय समेच चलाएका छन् ।

खिङ्गामा बर्सेनि मनाईने यसप्रकारको ‘धछ्याङ’ पर्वमा गाउँका १८ वर्षदेखि माथिका सबै स्थानीय उपस्थित हुनुपर्छ । पर्वमा सहभागी नहुनेलाई गाउँको निर्णय अनुसार जरिवाना समेत तिराईन्छ । युवादेखि ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागीतामा पर्व मनाउने प्रचलन रहेको छ । धछ्याङ पर्वको अवधिभर गाउँको समाजघरमा सबै गाउँलेहरु आपसमा भेला भएर सामुहिक रुपमा पर्व मनाउने गरिन्छ ।

पर्वमा मिठो मिठो खानेकुरा पकाएर खाने, राम्रो लगाउने र स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाँच नाच्ने प्रचलन रहीआएको छ ।


प्रतिक्रिया