मुस्ताङमा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा(एच.पि.भी.) विरुद्धको खोप अभियान भएको छ । हिमाली जिल्लाको प्रतिकुल मौसमले रोकिएको खोप अभियान मुस्ताङको वारागुङ गाउँपालिकामा आईतबारदेखि सुरु भएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत जनशान्ति मा.वि. कागबेनी र लुप्रा आधारभुत विद्यालय लुप्रामा खोप कार्यक्रम भएको वारागुङका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बोहोराले जानकारी दिए । अभियान अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने दुई वटा विद्यालयका गरी कुल ६०जना किशोरीहरुलाई ह्युमन प्यापिलोमा (एच.पि.भीं) खोप लगाईएको उहाँले बताउँनुभयो । गाउँपालिका भित्र कक्षागत र बाहिरको उमेर समुहका कतिपय किशोरीहरुले बेंसीमानै खोप लगाईसकेको स्वास्थ्य शाखा प्रमुख बोहोराले खुलाउनुभयो ।
मुस्ताङको घरपझोङमा करिव दुई सय भन्दा बढी किशोरीहरुलाई ह्युमन प्यापिलोमा (एच.पि.भीं) खोप लगाउने योजना रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर थकालीले जानकारी दिए । त्यसैको तयारी स्वरुप सोमबार खोप अभिमुखिकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखाप्रमुख थकालीले बताउनुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति जनशक्ति र स्वंयसेवक परिचालन गरिने उहाँको भनाई छ । यसैगरी थासाङ गाउँपालिकामा पनि ह्युमन प्यापिलोमा (एच.पि.भीं) लगाउने तैयारी भईरहेको बताईएको छ ।
प्रतिकुल मौसमका कारण मुस्ताङका तीन पालिकामा मात्रै यसप्रकारको कार्यक्रम गर्ने कार्ययोजना रहेको हो । उपल्लो मुस्ताङका अधिकाँश विद्यालय जाडो छल्न घुम्ती विद्यालयका रुपमा बेसीमा रहेकाले उपल्लो मुस्ताङमा अभियान सञ्चालन हुन नसक्ने जनाईएको छ । त्यहाँका किशोरीहरुलाई बेर्समा खोप अभियानमा जोडिसकिएको छ । यसैगरी वारागुङ,थासाङ र घरपझोङका एसईई परीक्षा दिने कतिपय किशोरीहरुले पनि बेसीमानै खोप प्राप्त गरिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यसप्रकारको खोप अभियान ७७ वटै जिल्लामा फागुन ६ गतेसम्म तय गरिएको थियो । तर, हिमाली जिल्ला मुस्ताङमा प्रतिकुल मौसमका कारण खोप अभियान केही ढिलो गरी गरी सुरु गरिएको हो ।
अभियान अन्तर्गत कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत किशोरीहरुका साथै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई ह्युमन प्यापिलोमा (एच.पि.भीं) खोप लगाईने छ ।तर स्थानीय तहहरुको अभिलेखमा खोप अभियानमा जोडिने किशोरी संख्या निर्धारण भएपनि एक तिहाइ किशोरीले भने बेसीमानै खोप लगाईसकेका छन् ।
मुस्ताङका तीन पालिकामा फागुन १८ गतेदेखि फागुन २४ गतेसम्म महिलाको पाठेघरको मुखमा हुने ह्युमन प्यापिलोमा (एच.पि.भी) खोप अभियान चल्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली