प्रशासनको घुम्ती सेवाले नागरिकलाई सहज

जोमसोम ।

उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाईएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा ईलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्वधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकहरुलाई घरदैलोमै पुगेर सेवा पु¥याउने गरी राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिएको हो ।

उत्तर चिनसंग सिमाना जोडिएको उपल्लो मुस्ताङका नागरिकहरुलाई सदरमुकाम जोमसोमसम्म धाएर राष्ट्रिय परिचयपत्र दर्ता गर्न समस्या हुने भएकाले त्यहाँका स्थानीय नागरिकहरुलाई लक्षित गरी घरदैलौमै सेवा प्रवाह गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकार नन्दराम परियारले जानकारी दिनुभयो । यहाँ जिल्ला प्रशासन कार्यालय जोमसोमबाट उपल्लो मुस्ताङका सिमावर्ती पालिकामा पुग्न झन्डै एक सय किलोमिटर दुरी पर्ने भएको र सानो काममा धेरै खर्च र समय लाग्ने भएकाले उनीहरुको सहजताका लागि स्थानीय स्तरमै पुगेर जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीले शिविर संञ्चालन गरी सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाई छ ।

 जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित घुम्ती राष्ट्रिय परिचयपत्र घुम्ती दर्ता शिविर भदौं ३ गतेदेखि ११ गतेसम्म कायम रहेको थियो । शिविरमा दर्ता गर्न आउने नागरिकहरुका लागि फोटो खिचाउने, बायोमेट्रिक विवरण तथा नामाङ्कन विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता गर्ने लगायतका कार्यहरु सम्पन्न भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताउँनुभयो ।

राष्ट्रिय परिचयपत्र दर्ता शिविर चलाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारको नेतृत्वमा कम्प्युटर अपरेटर बुद्धिरत्न थकाली, नायव सुब्बा देबेन्द्र थापामगर र लेखापाल प्रकाश नेपालीसहित ४ जना कर्मचारी उपल्लो मुस्ताङ पुगेका थिए । त्यहाँ ईलाका प्रशासन कार्यालयका कर्मचारी र सम्वन्धित स्थानीय तहका कर्मचारीहरुले शिविर संञ्चालनमा सहयोग पु¥याएका थिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन स्थानमा र लोमान्थाङ गाउँपालिकाको एक स्थानमा गरी चार स्थानमा त्यहाँका नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र दर्ता सम्वन्धि सेवा प्रदान गरिएको थियो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही,ज्येष्ठ नागरिक,एकल महिला,अपांगता,बालबालिका लगायत सामाजिक सुरक्षा भत्ता नपाउने नागरिकहरुलाई विवरण संकलन गरी राष्ट्रिय परिचयपत्रको निमित्त दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले उल्लेख गर्नुभयो 

उपल्लो मुस्ताङमा आयोजित एक हप्ते राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा पाँच सय २९ जना प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँको लोघेकर दामोदरकुण्डमा एक सय ८९ जना र लामान्थाङ गाउँपालिकामा तीन सय ४० जनाको राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता विवरण संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । उहाँका अनुसार लोघेकरको वडा ३ घीलिङमा १५ जना, वडा—२ घमीमा ५१ जना र वडा—१ चराङ केन्द्रमा एक सय ५३ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको छ । 

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न ,बैङक खाता खोल्न र विदेश जानका लागि राहदानी (पासपोर्ट) बनाउन र प्रशासनिक कामकाजहरुमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले राष्ट्रिय परिचयपत्र लिनका लागि दर्ता गर्नेको संख्या उल्लेख वृद्धि भएको हो । प्रशासनबाट खटिएको राष्ट्रिय परिचयपत्र घुम्ती शिविर टोलीले त्यहाँ सेवाग्राहीहरुलाई घरदैलामै पुगेर अफलाईन दर्ता गराएको हो । दर्ता भएका सेवाग्राहीका लागि जोमसोममा अनलाईन दर्ता गरेपछि मात्रै राष्ट्रिय परिचपत्र दर्ता नं उपलब्ध गराईने कम्प्युटर अपरेट बुद्धिरत्न थकालीले जानकारी दिनुभयो । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

 लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय नागरिकहरुको सेवाका लागि प्रशासनबाट खटिएको घुम्ती शिविरले निकै ठुलो राहत पुगेको उल्लेख गर्नुभयो । यहाँबाट जोमसोम आउजाउ गर्दा दुई दिनको समय लाग्ने र खर्च पनि प्रति व्यक्ति पाँच हजार बढी हुने भएकाले यसप्रकार सेवाप्रवाहरुले नागरिकहरुको समस्यामा प्रशासनबाट सम्वोधन भएको सुनाउँनुभयो ।

 यसअघि गत बैशाखको तेस्रो हप्तामा पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङले राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । त्यसबेला उपल्लो मुस्ताङबाट जोमसाम आएर राष्ट्रियपत्रका लागि नामाङ्कन विवरण, बायोमेट्रिक र फोटो खिचेर गएका सेवाग्राहीहरुलाई प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाले घरदैलोमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरेको शाखाका कम्प्युटर अपरेटर थकालीले बताउँनुभयो ।


प्रतिक्रिया