जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले सार्वजनिक स्थानमा सवारी पार्किङ गरे कारवाही गर्ने जनाएको छ । गाउँपालिका कार्यालयद्वारा सोमबार आयोजित बसपार्क कार्यान्वयनका बिषयमा भएको छलफल तथा अन्तरक्रियामा यस्तो निर्णय गरेको हो ।
घरपझोङ गाउँपालिकका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको बसपार्क कार्यान्वयनलाई प्रभावकारी बनाउने बिषयमा भएको छलफल तथा अन्तरक्रियामा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय,गाउँपालिका वडाध्यक्ष तथा सदस्यहरु,यातायात व्यवसायीहरु पर्यटन व्यवसायीहरु ,पत्रकार लगायतको उपस्थिती थियो । गाउँपालिकाद्वारा आयोजित बैठकले घरपझोङ गाउँपालिकामा निर्माण सम्पन्न दुई बसपार्कलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थानमा सवारी पार्किङ नगर्न सम्पूर्ण होटल व्यवसायी र पर्यटक लगायतलाई अनुरोध गर्ने र नियम पालना नगरी अटेरी गरेको पाईएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । घरपझोङ ३ र ४ वडामा रहेका बसपार्कको संञ्चालनलाई थप व्यवस्थित गर्दै लैजाने निर्णय गरिएको छ ।
यस्तै घरपझोङका दुई वटै बसपार्कलाई थप व्यवस्थित गर्न सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
घरपझोङ गाउँपालिकाको वडा ३ र ४ मा दुई वटा बसपार्क निर्माण भईसकेको छ । घरपझोङ—३ एक्लेभट्टीमा २०७५ सालदेखि गाउँपालिकाले ४८ लाख लागतमा बसपार्क निर्माण सुरु गरेको थियो ।यसैगरी घरपझोङ —४ जोमसोममा सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङले २ करोड ५० लाख खर्चिएर बसपार्क निर्माण गरेको थियो । सहरी विकासले निर्माण गरेको बसपाकैपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
घरपझोङ गाउँपालिकामा निर्माण सम्पन्न दुई बसपार्क कार्यान्वयनमा लैजाने गाउँपालिकाले राष्ट्रिय पत्रीका मार्फत ठेक्का आह्वान गरेको थियो । सोही ठेक्का आह्वान मार्फत जोमसोमका स्थानीय सुरेश शेरचनले बार्षिक २० लाख बुझाउने गरी दुई बासपार्क जिम्मा लिएका थिए ।
बसपार्क कार्यान्वयन गर्ने बिषयमा गत २ चैत्र २०८० मा सरोकारवाला सम्मिलित बैठकले बसपार्क कार्यान्वयन पूर्व तयारी गरी चैत्र १५ गतेदेखि बसपार्क संञ्चालन गर्ने गरी निर्णय गरेको थियो । गाउँपालिकाले गाउँपालिकाको आफ्नो आधिकारिक फेसबुक पेज , सार्वजनिक स्थानमा पर्चा, पम्लेट टाँगेर सार्वजनिक सूचना जारी गरेको थियो ।
गाउँपालिकाले बसपार्क संञ्चालन गर्ने सूचना जारी गरेपनि केही पर्यटन व्यवसायी तथा केही यातायात व्यवसायीले बसपार्क कार्यान्वयनलाई बेवास्ता गर्दा बसपार्क संञ्चालनमा चूनौति सृजना भएको हो ।
घरपझोङ गाउँपालिकाले बसपार्क कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाएर लैजाने र यसका लागि थप पूर्वाधार निर्माण गर्न चालु वर्ष १० लाख बजेट विनियोजन भएको जनाएको छ । गाउँपालिकाले यातायात तथा पर्यटन व्यवसायीहरुलाई बसपार्क कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सार्वजनिक अपिल समेत गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।
बैठकमा सरोकारवालाहरु आ—आफ्ना समस्या र चुनौतीहरु पेश गरेका थिए । विकास र समृद्धिको मार्गलाई कसैले अवरोध सृजना गर्न नहुँने सरोकारवालाहरुले सुझाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता