मुस्ताङका ३९ मतदान स्थलमा २४० कर्मचारीसंगै ८६ स्वंयसेवक परिचालन हुने

जोमसोम ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदान स्थलमा २४० जना कर्मचारी खटाईने भएको छ । यहाँ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदान स्थलमा ६ जना कर्मचारी रहने गरी उक्त संख्यामा निर्वाचन स्थलमा कर्मचारी खटाउने तयारी गरेको हो ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदान स्थलमा  मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी ७८ जना कर्मचारी खटाईने तयारी भईरहेको छ । निर्वाचनका लागि एक मतदान स्थलमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत,तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत पौडेलले बताउँनुभयो ।

 घोषित प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा खटाईने कर्मचारीहरु पहिलोे प्राथमिकतामा संघीय कार्यालय, दोस्रो प्राथमिकतामा प्रादेशिक कार्यालय र तेस्रो प्राथमिकतामा स्थानीय तहका कर्मचारीलाई समावेश गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार मुस्ताङको अस्थायी मतदान स्थलका लागि पनि थप मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ६ जना कर्मचारी खटाईने बताएको छ ।

यसैगरी हिमाली जिल्ला मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदान स्थलको संख्या ८ वटा र ५०० भन्दा कम मतदाता रहेको मतदान स्थलको संख्या ३१ वटा रहेको जनाईएको छ । यसका अलवा थप एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारा शाखामा कायम गरिएको छ ।

निर्वाचनका लागि यहाँका ३९ वटै मतदान स्थलहरुमा ८६ जना स्वंयसेवक परिचालित हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५०० भन्दा बढी मतदाता रहेको मतदान स्थलमा तीन जना स्वंयसेवक र ५०० भन्दा कम मतदाता रहेको मतदान स्थलमा २ जना स्यंवसेविक राख्न पाउँने व्यवस्था मिलाईएको छ । निर्वाचनमा खटाईने स्वंयसेवकहरु सम्वन्धित मतदान स्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सिफारिसमा नियुक्ति गरिने जनाईएको छ ।

यसैगरी जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग र खाद्यसंस्थान गरी ९५ प्रतिशत निर्वाचन सामग्री उपलब्ध भईसकेको जनाएको छ । मतपेटिका बाँकस कार्यालयमै मौज्याद रहेको मतपत्र ढुवानी हेलिकोप्टर माफैत उपलब्ध  हुने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।


प्रतिक्रिया