मुस्ताङका पाटनमा निर्माण गरिए घुम्ती गोठ

जोमसोम—  मुस्ताङको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौरी तथा च्यांग्रा पालक कृषकलाई घुम्ती गोठ निर्माण गरिएको छ ।

 हिउँदयामको जाडो महिनामा बेसीमा झारिने यहाँ पालन गरिने याकचौरी तथा च्यांग्राहरु गर्मीयाममा उच्चलेंकमा घुम्ती चरनक्षेत्रमा लगेर पालन गरिन्छ । उच्चलेंकमा याकचौरी तथा च्यांंग्रा रेखदेख गरी बस्ने कृषक (गोठाला)हरुको सुविधाका लागि मुस्ताङका चार वटा पालिकामा झन्डै दुई दर्जन बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको हो ।

मुस्ताङको थासाङ गाउँपालिकामा याकनाक तथा चौरीपालक कृषकहरुलाई लागि लक्षित गरी चालु आर्थिक वर्षको बजेट अन्तर्गत गाउँपालिकाले याकनाक तथा चौरी पालक कृषकहरुका लागि ‘‘याकचौरी पालक कृषकका लागि आवश्यक पूर्वाधार निर्माण’’ शिर्षकमा ८ लाख बजेट विनियोजन गरेको थियो । यसका अतिरिक्त थासाङ गाउँपालिकाका लागि ‘‘याक प्रर्वद्धन कार्यक्रम’’ शिर्षकमा संघीय सरकारको सशर्त अनुदान १० लाख विनियोजन भएको थियो । संघीय र पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदान सहुलियत दिने गरी घुम्ती गोठ निर्माण गरिएको हो ।

थासाङ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक राजन श्रेष्ठका अनुसार गाउँपालिका अन्तर्गतका हिमालयन चौरी पालक तथा संरक्षण समितिमा आवद्ध २० घरधुरीका याकचौरी पालकका लागि २० वटा अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण गरिएको जानकारी दिनुभयो । गाउँपालिका र संघीय सरकारको अनुदान १८ लाख र सम्वन्धित कृषक समितिको लागत साझेदारी १८ लाख गरी कुल ३६ लाख बजेट खर्चिएर थासाङको मार्चे लेंक,मुलीखर्क र बतासे लेंकमा १५ वटा याकचौरी पालक कृषक बस्ने अस्थायी गोठ निर्माण गरिएको  पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताउँनुभयो ।

 थासाङ गाउँपालिका अन्तर्गत हिमालयन चौरी पालक तथा संरक्षण समितिमा आवद्ध २० वटा घरधुरीका लागि ढुंगाको पर्खाल ,काठको बार र जस्ताले छाएर अस्थायी कृषक बस्ने गोठ निर्माण सम्पन्न गरिएको थासाङ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले उल्लेख गर्नुभयो ।

 थासाङ गाउँपालिका —२ का वडाध्यक्ष गौतम शेरचनले संघीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेंकमा १० वटा, मुलीखर्कमा ६ वटा र बतासे लेंकमा ४ वटा गोठाला बस्ने घुम्ती गोठ निर्माण सम्पन्न भएको बताउँनुभयो ।

वडाध्यक्ष शेरचनले थासाङका उच्चलेंकमा याकचौरी रेखदेख गरी बस्ने गोठालाहरुका लागि गोठ निर्माणले निकै ठुलो सहयोग पुगेको उल्लेख गर्नुभयो । ‘गोठाला बस्ने संरचना निर्माण भयो, अब बस्ने र खाने सुविधा सहज भएको छ ,’ वडाध्यक्ष शेरचनले,’ थप्नुभयो,‘ गोठ भित्रै बसेर दुध,दही, घ्यु र छुर्पी लगायतका परिकार बनाउन सजिलो भएको छ ।’’ थासाङमा २३ घरधुरीले याकचौरी पालन गर्ने गरेपनि २० घरधुरी मात्रै हिमायन याकचौरी तथा संरक्षण समितिमा दर्ता भएको बताउँनुभयो ।

 यहाँको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले पनि जिल्लाको चार वटा पालिकामा दुई वटा शिर्षकको बजेटले घुम्ती गोठ निर्माण गरेको कार्यालय प्रमुख पशु चिकित्सक डा. लालमणि अर्यालले जानकारी दिनुभयो ।  केन्द्रले घुम्ती गोठ संरक्षण कार्यक्रम र स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम अन्तर्गत रहेर थासाङ गाउँपालिका,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा याकचौरी तथा च्यांग्रा पालकका लागि उच्चलेंकमा घुम्ती गोठ निर्माण गरिएको डा. अर्यालले उल्लेख गर्नुभयो । भेटेरिनरी कार्यालयले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार थासाङमा १० लाख,लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १० लाख,वारागुङ र लोमान्थाङमा ५÷५ लाख बजेट विनियोजन गरिएको थियो । याकचौरी तथा च्यांग्रा पालक कृषकलाई ९० प्रतिशत अनुदान सहुलियत दिएर घुम्ती गोठ निर्माण गरिएको डा. अर्यालको भनाई छ ।

 हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोज महिनासम्म उच्चलेंकमा याकचौरी तथा भेडाच्यांग्रा पालन गर्ने गरिन्छ । हिउँदयाम लागेपछि मंसिरदेखि बैशाख अन्तिमसम्म उच्चलेंकका याकचौरी तथा भेडाच्यांग्रा बस्ती नजिकै स्थान्तरण गर्ने प्रचलन रहेको छ ।


प्रतिक्रिया