जोमसोम—
गण्डकी प्रदेशका चार जिल्लाहरुमा मुक्तिनाथ मन्दिर गुठीको जग्गा रहेको पुष्टि भएको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरको जग्गा मुस्ताङसहित म्याग्दी,पर्वत र स्याङ्जा जिल्लामा रहेको पुष्टि मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुक्तिनाथ मन्दिररमा दर्शन गर्न आउने भक्तजनहरुलाई आवास र भोजनको व्यवस्थापन गर्ने उद्देश्यले तत्कालिन राजाका पालामा गुठी स्थापना गरी जग्गा व्यवस्थापन गरिएको थियो । त्यसबेला व्यवस्थापन भएको मुक्तिनाथ विकास समिति अन्तर्गत रहेका गुठीका जग्गा अहिले ब्यापक रुपमा पहिचान गर्ने कार्य गरिएको हो ।
म्याग्दीमा मुक्तिनाथको स्वामित्वमा २८ हजार ८९३ रोपनी जग्गा भएको अनुमान गरिएको थियो ।तर, अहिले मुक्तिनाथको नाममा सीमित मात्रै जग्गा रहेको समितिको भनाई छ । पछिल्लो समय मुक्तिनाथ विकास समिति अन्तर्गत सदावर्त गुठीमा रहेको १७ हजार ६९६ रोपनी जग्गा मध्ये समिति अन्तर्गत सदावर्त गुठीमा जम्मा ६ हजार १४३ रोपनी मात्रै जग्गा रहेको मालपोत कार्यालय म्याग्दीले पुष्टि गरेको मुस्ताङका प्रजिअ एवं समितिका अध्यक्ष बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । म्याग्दी मालपोत कार्यालयको अभिलेखमा गुठी सस्थानको नाममा रहेको ११ हजार ५२३ रोपनी जग्गा रैतानीमा परिणत भईसकेको प्रजिअ भुसालको भनाई छ ।
मुक्तिनाथको सदावर्त गुठी अन्तर्गत म्याग्दीको साविक गाविस पिप्लेमा ४ हजार ५८५ रोपनी जग्गा मध्ये एक हजार ९३ रोपनी , भगवतीमा ६ हजार ३३३ रोपनी जग्गामध्ये ४ हजार ३८७ रोपनी र मौवाफाँटमा ४ हजार ८९९ रोपनी मध्ये ३ हजार ६४४ रोपनी जग्गा रैतानीमा परिणत भएको मालपोत कार्यालय म्याग्दीले उल्लेख गरेको प्रजिअ भुसालको भनाई छ । उहाँका अनुसार म्याग्दीको साविक गाविस दोवामा १ हजार १५७ रोपनी र कटुवालमा ६ सय ९२ रोपनी जग्गा गुठीकै नाममा यथाअवस्थामा रहेको समितिका अध्यक्ष प्रजिअ भुसालले बताउँनुभयो ।
पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको नाममा पर्वत जिल्लाको शिवालय —४ मा २२ रोपनी १३ आना र स्याङ्जाको गणेशपुर वडा २,३ र ७ मा ४ रोपनी १५ आना जग्गा रहेको सम्वधित मालपोत कार्यालयहरुको विवरणमा उल्लेख भएको प्रजिअ भुसालले बताउँनुभयो ।
यसैगरी पावन धार्मिक भूमी मुक्तिनाथ मन्दिरको नाममा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथमा ४ सय ९३ रोपनी १३ आना जग्गा रहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यसैगरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि रानीपौवा कजारमा तत्कालिन समयमा धर्मशाला निर्माण गरिएको थियो । रानीपौवा धर्मशाला रहेको स्थानमा मुक्तिनाथ मन्दिरको ६ रोपनी १२ आना जग्गा रहेको कोषाध्यक्ष गुरुङले बताउँनुभयो ।
यसैगरी मुक्तिनाथ विकास समितिको हालसम्म गरगहना र सटही हुन बाँकी विदेशी मुद्रा बाहेक विभिन्न ५ वटा बैंक खातामा करिव ११ करोड रुपैया मौज्याद रहेको कोषाध्यक्ष गुरुङ भनाई छ ।
मुक्तिनाथ मन्दिरमा बर्सेनि ६ लाख बढी आन्तरिक तथा बाहय दर्शनार्थीले दर्शन गर्ने गरेका छन् । त्यहाँ भक्तजनले दान गरेको रकम बर्सेनि करोड बढी जग्मा हुने गरेको छ । मुक्तिनाथमा आन्तरिक दर्शनार्थीसंगै ८० प्रतिशत बढी विदेशी भारतीय दर्शनार्थी पुग्ने गरेको मालपोत कार्यालयका सदस्य सचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
मुक्तिनाथ विकास समिति चलायमान हुन नसक्दा मुक्तिनाथको समग्र विकासमा समस्या र चुनौती भईरहेको थियो । हालै समिति गठन भई विधान निर्माण र कार्यव्यवस्थापन नियमावली तयार गरेसंगै मुक्तिनाथमा भक्तजनले चढाएको भेटी मुक्तिनाथको विकासमा खर्च गर्ने बाटो खुलेको सदस्य सचिव अर्यालको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली