जोमसोम—शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको परम्परागत रैथाने बाली उवा पाकेर पहेल्यै भएको छ । अन्नबालीको रुपमा महत्वपूर्ण मानिएको रैथाने बाली उवा र जौ खेती यहाँको धार्मिक तथा सांस्कृतिक रैथाने खाद्य बाली हो ।
यतिखेर मुस्ताङमा उवा थन्क्याउने चटारो चलेको छ । मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका किसानलाई आफुले उत्पादन गरेको उवा धमाधम खेतबारीबाट काँटेर थन्क्याउन व्यस्त छन् । उवा थन्क्याउनु अघि काटेर २ दिनसम्म घाँममा सुकाएपछि किसानले उवाको बालाबाट केस्रा छुट्याएर उवा घरमा भित्र्याउछन् ।
हिमाली चिसो हावापानीमा उत्पादन हुने यहाँको उवा र जौ खेतीले यहाँको धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाउन ठुलो योगदान पुगेको छ ।
गहु प्रजातीको उवालाई स्थानीय भाषमा करुने र अंग्रेजीमा केक्ड बाली भन्ने गरिन्छ । समून्द्री सतहको १ हजार ९८४ मिटर उचाईदेखि ३ हजार ९०० सय मिटरको उचाईमा उवा खेती गरिन्छ । मुस्ताङीले उवा खेती सदिंयौ वर्षदेखि निरन्तरण अपनाउँदै आईरहेको पाईन्छ ।
उपल्लो मुस्ताङमा एकबाली मात्र हुने भएकाले उवा खेती चैत्र ÷बैशाख महिनामा खेतबारीमा बिउँ छरेर भाद्र÷असोज महिनामा थन्क्याउने गरिन्छ । तल्लो मुस्ताङमा मंसिर महिनामा खेतबारीमा बिउँ छरेर असारको पहिलो हप्ता मात्र खेतबारीबाट काँटेर घरमा थन्क्याउने गरिन्छ ।
तल्लो मुस्ताङमा रैथाने बाली जौ थन्क्याएपछि रैथाने बाली उवा थन्क्याउने सिजन सुरु हुने घरपझोङ—३ का किसान बिनोद थकाली बताए । पछिल्लो समय आलु र तरकारी बालीमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि रैथाने बाली उवा र जौ खेतीतर्फ किसानहरु ढल्किन थालेको उनले जनाए । उनले सडक यतायात सहज भएसंगै उवा र जौको माग हुने गरेकाले किसानले यसको मुल्य राम्रो पाउन थालेको किसान थकालीको भनाई छ । मौसम परिवर्तनसंगै वर्षा हुन थालेपछि मुस्ताङमा फौजी किराको प्रकोपले उवा र जौ बालीमा समेत असर पार्न थालेको किसान थकालीको भनाई छ ।
पछिल्लो समय मुस्ताङको रैथाने बाली उवा र जौ खेती लोपोन्मुख अवस्थामा छ । यद्यपी यहाँका किसानले व्यवसायिक प्रयोजन भन्दा पनि घरायसी प्रयोजनकै लागि यो खेतीलाई पछिल्लो समयसम्म पछ्याईरहेका छन् । अधिकाँश बुद्धिस धर्मको बाहुल्यता रहेको मुस्ताङमा धार्मिक अनुष्ठान ,काजक्रिया र विभिन्न चाडपर्वहरुमा उवा र जौको प्रयोग हुन्छ । मुस्ताङीले उवा र जौलाई भुटेर सातु बनाउँछन भने कतिपयले छ्याङ र रक्सी बनाउन प्रयोग गर्छन् । हिमाली जिल्लाको उच्च उचाईमा उत्पादन हुने उवा र जौको परिकार स्वास्थ्यवद्र्धक र निकै पोषिलो हुने गर्छ ।
पछिल्लो समय मुस्ताङमा विगतका भन्दा कम मात्रामा उवा र जौ खेती खेती हुने गरेको घरपझोङकी किसान शान्ता थकालीले बताईन् । उनले मुख्यतया उवा र जौ खेती बिक्रीका लागि भन्दा पनि चाडपर्व र धार्मिक कार्यहरुमा प्रयोगमा आउने जनाईन् । अन्य खेती भन्दा उवा र जौ खेती तुलनात्मक रुपमा केही दुख र झन्झटिलो भएकाले यो खेतीलाई किसानले कम मात्रामा प्राथमिकता दिएको उनले सुनाईन् । पहिला पहिला धेरै मात्रामा गर्ने गरिएको उवा र जौ खेती पछिल्लो समय कम क्षेत्रफलमा मात्र हुने गरेको उनको भनाई छ । मुस्ताङमा रैथाने बाली संरक्षणका लागि स्थानीय तहले पहल गरेको र किसानलाई रैथानेबालीको महत्व,तालिम, उपकरण ,बिउ र औषधिहरुमा अनुदान दिन थालेको थकालीले उल्लेख गरिन् ।
लोपोन्मुख अवस्थामा रहेको मुस्ताङको उवा र जौ खेती यहाँका किसानले परम्परा र धर्मसंस्कृति धान्नकै लागि मात्र पछ्याएको पाईन्छ ।फलफूल तथा तरकारी खेतीमा मनग्ये आम्दानी हुने र उवा र जौ खेती बढी झन्झटिलो भएकै कारण यो खेतीलाई स्थानीयले कम प्राथमिकता राखेको देखिन्छ । रैथाने बाली संंरक्षण ,संम्वद्धन र उत्पादनमा संघ,प्रदेश र स्थानीय सरकारले विभिन्न अनुदान दिने भएकाले यो खेती पछिल्लो समय प्रविधिमैत्री बन्न थालेको छ । परम्परागत गोरुझोपाले जोत्ने गरेकोमा हाते मिनि ट्रेलरले जोत्ने गरिएको छ भने उवा र जौको उपकरणकै सहायताले केस्रा छुट्याउने गरेकाले किसानको समय र मेहनत समेत कम हुने देखिएको छ ।
मुस्ताङमा परम्परागत रैथाने बाली उवा र जौ उत्पादनको परम्परागत शैलीमा बिक्री वितरण र प्रयोग हुँदा यो खेती किसानको कम प्राथमिकतामा परेको हो । यहाँ उत्पादन हुने उवा र जौलाई प्रशोधन,ब्रान्डिङ प्योकेजिङ र लेवललिङ गरी बिक्री वितरण गर्ने सुविधा भएमा यो खेतीको महत्व वृद्धि हुने देखिन्छ । तर, यहाँका स्थानीय तहले रैथाने बाली सरक्षणमा विभिन्न कार्यक्रम ल्याएपनि रैथाने बालीको प्रर्वद्धन तथा बजारिकणमा ध्यान दिन नसक्दा किसानको आर्कषण कम भएको हो । मुस्ताङमा उवाको घरेलु मदिरा धैरै अघिदेखि स्थानीय ब्रान्ड बन्दै आईरहेको छ ।
पछिल्लो समय गाउँका युवाहरु वैदेशिक रोजगारका लागि विदेश पलायन हुन थालेपछि स्याउ उत्पादनको क्षेत्र घट्दै गईरहेको घरपझोङका अर्का किसान महेन्द्र थकालीले उल्लेख गरे । ‘पहिला पहिला मुरीका मुरी खेती हुन्थ्यो, उवा र जौ थन्क्याउन पनि महिनौ लाग्थ्यो, किसान थकालीले सम्झदै भने,अहिले उवा र जौको काममा काम गर्ने जनशक्ति पाउनै मुश्किल पर्छ, उवा र जौ व्यव्स्थापनमा सबै खर्च कटाउदा अन्तिममा केही फाईदा हुँदैन ।’ उनले सबैजसो किसान नगदेबालीतर्फ ढल्किएकाले उवा र जौ खेती लोप हुने अवस्था रहेको किसान थकालीको भनाई छ ।
हिमाली जिल्ला मुस्ताङमा उवा र जौ खेती स्याउ बगैचा भित्र अन्तरबालीको रुपमा पनि लगाउने गरिएको छ । स्याउबालीमा अन्तरबालीको रुपमा उवा र जौ खेती गर्दा किसानले दोहोर आम्दानी लिन्छन् ।पर्याप्त प्रविधिको पहुँच नहुँदा र जनशक्तिको अभावका कारण उवा र जौ खेती संरक्षण र सम्वद्धनमा चुनौती देखिएको छ । यद्यपी घरायसी प्रयोजनका लागिनै भनेर अहिलेसम्म यो खेती जोगिएको हो । पछिल्लो समय ठिनी थकाली सामुदायिक होमस्टेले यहाँको रैथाने बाली उवा र जौका विभिन्न परिकारहरु प्रशोधन गरी बिक्री वितरण गर्दैआईरहेको छ ।
गत आर्थिक वर्ष मुस्ताङमा १३० हेक्टरमा लगाएको उवा खेतीबाट २८६ मेट्रिक टन उवा उत्पादन भएको थियो । यसैगरी ४४ हेक्टर क्षेत्रफलमा लगाएको जौ खेतीबाट ८२ मेट्रिक टन जौ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता