मुक्तिनाथमा लेंक लागेका धार्मिक तिर्थालुलाई निःशुल्क उपचार


मुस्ताङ , १८, बैशाख ।

हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुस्ताङको मुुक्तिनाथ मन्दिरमा लेंक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सञ्चालन गरिएको छ । मुस्ताङ स्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निः शुल्क स्वास्थ्य उपचार सेवाको व्यवस्था गरिएको हो ।

समून्द्री सतहको करिव ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने कतिपय धार्मिक तिर्थालु पर्यटकलाई लेंक लाग्ने समस्या हुन्छ । मुक्तिनाथमा लेंक लागेर बिरामी हुने धार्मिक तिर्थालुहरुलाई छिटोछरितो आपत्कालिन प्रारम्भिक उपचारको व्यवस्थापन गर्न प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा  मुक्तिनाथ मन्दिर परिसरमा ‘हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरले जानकारी दिनुभयो । प्रदेश अस्पतालले जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्था गरेको र गाउँपालिकाले व्यवथापन तथा औषधि लगायतमा सहयोग गर्दैआईरहेको स्वास्थ्य संयोजक बोहोराले बताउँनुभयो ।

मुक्तिनाथ स्थित ‘हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’मा प्रदेश अस्पताल जोमसोमले दुई जना हेल्थ असिस्टेन करारमा खटाएको छ । अस्पतालले ट्रिटमेन्ट सेन्टरका लागि आवश्यकता अनुसार अक्सिजनको व्यवस्था गरेको छ । लेंक लाग्ने बिरामीको उपचार सेवाका लागि हेल्थ असिस्टेन सरोज घर्तीमगर र बिकास ठाकुर  २४ सै घण्टा बिरामीको सेवामा खटिएका छन् । हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन सरोज घर्तीमगरले लेंक लागेका बिरामीका उपचार सेवा पु¥याउन तीन वटा बेड र तीन वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई बेड र दुई सिलिन्डर मन्दिरको केही पर व्यवस्थापन भएको र एक बेड र एक सिलिन्डरको व्यवस्था मन्दिर परिसर नजिकै राखेर सेवा दिने गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा ‘हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि हालसम्म करिव  २ हजार बढीले सेवा प्राप्त गरेको हेल्थ असिस्टेन घर्तीमगरले बताउँनुभयो । उहाँका अनुसार चैत महिनामा मात्रै १ सय ७९ जना लेंक लागेका बिरामीले हाईअल्टिच्युड ट्रिटमेन्ट सेवाबाट स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् ।

 मुक्तिनाथमा धार्मिक तिर्थालुका लागि स्थापना भएको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरको प्रारम्भिक कक्ष साँघुरो हुँदा बिरामीको उपचारमा केही असहज भएको देखिन्छ । यसका लागि मन्दिर परिसर नजिकै सुविधायुक्त हाईअल्टिच्युड पूर्वाधार भवनको व्यवस्था आवश्यकता रहेको छ ।

मुक्तिनाथमा लेंक लागेका बिरामीलाई प्राथमिक उपचार गरेपछि जोमसोम स्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको अर्को हेल्थ असिस्टेन विकास ठाकुरले बताउँनुभयो । मुक्तिनाथमा ४५ वर्षदेखि ९४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लेंक लाग्ने समस्याको उपचार प्रदान गरिसकेको हेल्थ असिस्टेन ठाकुरको भनाई छ ।

 समून्द्री सतहको कम उचाईबाट उच्चस्थानमा बिश्राम नलिई आउने धार्मिक तिर्थालुहरुलाई लेंक लाग्ने समस्या बढी हुने गरेको छ । दीर्घ रोगका बिरामी र शारिरीक रुपले कमजोर र उमेर कटेका ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा दर्शन गर्न आउँदा लेंक लाग्ने समस्या बढी हुने गर्छ । उच्च स्थानमा पुग्दा अक्सिजनको मात्रा कम हुँदा देखिने समस्यालाई लेंक लागेको भन्ने गरिन्छ । लेक लागेका बिरामीहरुलाई बान्ता हुँने, रिङ्गटा लाग्ने, टाउँको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरिर भारी हुने र अल्छि लाग्ने जस्ता लक्षणहरु देखिने गर्छ ।

 उच्च स्थानको मुक्तिनाथमा जाने धार्मिक तिर्थालु कुन ठाउँबाट कसरी आईपुगेको हो लेंक लाग्ने समस्या त्यसैमा निर्भर हुन्छ । मुस्ताङमा कम उचाईको स्थानबाट आउने भारतीय पर्यटकलाई बढी मात्रामा लेंक लाग्ने समस्या देखिने गरेको पाईएको छ ।

यसैगरी मुक्तिनाथमा गएर खाली पेटमा १०८ धाराको पानी सेचन गर्ने, चिसो कुण्डमा डुबुल्की मार्ने र खाली पेटमै दर्शन गर्ने गर्दा शरिरले तापक्रम व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुलाई लेंक लाग्ने समस्या देखिने गरेको हो ।


मुस्ताङमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुस्ताङको मुक्तिनाथमा आउने धार्मिक तिर्थालु पर्यटकलाई लेंक लाग्ने समस्याका बारेमा सचेतनामूलक अभियाननै सञ्चालन गरेको छ । ‘सवारी चालकसंग एक मिनेट र यात्रुसंग दुई मिनेट’ अभियान गरेर धार्मिक तिर्थयात्रीहरुलाई लेंक लाग्ने समस्याका बारेमा जानकारी दिने र लेंक लाग्ने समस्याको बारेमा पर्चा,पम्प्लेट र ब्रोसरहरु वितरण गर्ने अभियान सञ्चालन भईरहेको छ ।

 मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेंक लाग्ने जाखिमबाट जोगाउन म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र घाँसामा लेंक लाग्ने समस्याका बिषयमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ । घाँसामा रहेका सुरक्षाकर्मीले समेत लेक लाग्ने समस्याका बारेमा धार्मिक तिर्थालुलाई जानकारी दिने गरिएको छ । मुस्ताङमा बर्सेनि दुई दर्जन बढी धार्मिक तिर्थालुहरुको लेंक लाग्ने समस्याबाट मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । जसमध्ये मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया