जोमसोम— मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रर्वद्धन र विकास, स्थानीयको जिविकोपार्जन सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउ खेती विस्तार समय—सान्दर्भिक रहेपनि मुस्ताङमा सरकारी निकायको समन्वय बिनै सार्वजनिक जग्गा र नदी किनारामा स्याउ खेती गर्ने क्रमको विकास बढ्दो रहेको पाईएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तहमा समुदाय मिलेर सार्वजनिक जग्गामा स्याउ खेती गर्ने क्रम बढेको हो । समुदाय स्तरमै सामुहिक स्याउ खेती गरिएको भएपनि सरकारले त्यसवापत पाउँने राजश्व,सरकारी अभिलेख र विपद् जोखिम न्यूनिकरणमा निकै ठुलो समस्या र चनौति खडा गरेको देखिन्छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले बिहिबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण भईरहेकोप्रति स्थानीय नागरिकहरुले चर्को आलोचना गरेका छन् । सार्वजनिक जग्गाको संरक्षण र विकासमा स्थानीय तह सञ्चालन ऐन २०७४ ले सम्वन्धित स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेपनि स्थानीय तह र जनप्रतिनिधिहरुले सार्वजनिक जग्गाको रक्षा गर्न नसकेको उल्लेख गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाको राजखोला, घरपझोङ—३ को स्याङ खोला र घरपझोङ—५ को ढुम्बा खोलामा खोलाको धार खुम्च्याएर समुदाय स्तरबाटै जग्गा अतिक्रमण भईरहेको नागरिक सुनुवाई कार्यक्रममा सरोकारवालाले उल्लेख गरेका छन् । साविकको खोला खेल्ने नदीको धारलाई खुम्च्याएर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती र घरटहरा निर्माण गर्दा यसले विपद्को जोखिम निम्त्याएको उनीहरुको भनाई थियो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि भईरहेको र यसले हिमाल पग्लिने, हिमताल फुट्ने र भेलबाढी आउन सक्ने प्रचुर सम्भावना भएकाले नदी क्षेत्रका धार अतिक्रमणले सम्भावित मानवीय तथा भौतिक जोखिम निम्त्याएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । विस २०८० को २८ साउनमा कागबेनी भेलबाढीले त्यसको धार्मिक तथा स्थानीय नागरिकहरुको ठुलो परिमाणमा भौतिक क्षति भएको स्मरण गर्दै त्यसप्रकार विद्तजन्य घटनाको जोखिम घरपझोङको नदी तटीय क्षेत्रमा आउनसक्ने सराकोरवालाहरुको भनाई थियो । कागबेनीमा मुक्तिनाथबाट बहने कागखोला नदीको धार अतिक्रमण गर्दाको परिमाण त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको नागरिक सुनुवाईमा प्रष्ट्याईएको थियो ।
मुस्ताङको घरपझोङ स्थित मार्फा,स्याङ र ढुम्बा खोलामा नदी धारको खुम्च्याएर दुई÷तिन लेनको स्याउ खेती जग्गा विस्तार गरिएको छ । यसैगरी मुस्ताङका अन्य पालिकाहरुमा पनि नदी क्षेत्र दोहनको क्रम बढेको छ । मुस्ताङमा स्याउ खेतीको प्रचुर सम्भावना रहेपनि यहाँका सरकारी सार्वजनिक जग्गा नापी नहुँदा लिज प्रक्रियामा लैजान समेत कानुनी जटिलता विद्यमान छ । यसैका कारण मुस्ताङमा सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्ने होडबाजी चलेको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र त्यस्ता जग्गाहरुको संरक्षण र रक्षा गर्ने दायित्व स्थानीय तहको भएको स्पष्ट पार्नुभयो । प्रजिअ भुसालले जिल्ला प्रशासन कार्यालयलाई एक दर्जन व्यक्ति विरुद्ध सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी अख्तियार कार्यालयबाट प्राप्त भई छानविन र अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रजिअ भुसालले प्राकृतिक स्रोतसाधनको क्षेत्रलाई नष्ट गर्ने गरी हुने अतिक्रमण रोक्न स्थानीय तहले सहयोग मागेको खण्डमा प्रशासन र प्रहरी त्यसतर्फ अग्रसर रहेर काम गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सार्वजनिक स्थान र नदी क्षेत्रमा जग्गा अतिक्रमण भएको गुनासो आएको नागरिक सुनुवाईमा बताउँनुभयो । अध्यक्ष लालचनले सार्वजिक जग्गा निकै ठुलो समस्याको बिषय भएकाले यसमा देखिएका कमिकमजोरीलाई ओल्याएर जग्गा अतिक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउने उल्लेख गर्नुभयो ।
त्यसो त राष्ट्रिय प्रकृति सरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजनाले पनि मुस्ताङमा सार्वजनिक नदी तटीय क्षेत्रको अतिक्रमण रोक्न सकिरहेको छैन । प्राकृतिक स्रोत साधनको संरक्षण र रक्षा गर्ने जिम्मेवारी पाएको एक्याप कार्यालय जग्गा अतिक्रमणका बिषयमा मुकदर्शक बनेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली