मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाले गत भदौ ३१ गतेका लागि तय गरेको ‘जलवायु सम्मेलन’लाई सम्पन्न गर्न पुनः पहल थालेको छ।
घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनको असरले पारेको प्रभाव र न्यूनीकरणका लागि ७५३ वटै स्थानीय तहको साझा धारणा बनाउन मुस्ताङमा बृहत् जलवायु सम्मेलनको आयोजना गर्न कार्यक्रम अघि बढाइसकेको थियो।
गत भदौ २३ र २४ गतेको युवाहरुको ‘जेनजी’ आन्दोलनका कारण घरपझोङ गाउँपालिकाले आयोजना गर्ने भनिएको जलवायु सम्मेलन कार्यक्रम स्थगित हुन पुगेको थियो। यसअघि स्थगित बनेको जलवायु सम्मेलन कार्यक्रमलाई मूर्त रूप दिनका लागि घरपझोङले फेरि पहल अघि बढाएको जनाएका छन्।
यसअघि घरपझोङ गाउँपालिकाले ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको उपस्थितिमा मुस्ताङमा बृहत् जलवायु सम्मेलन आयोजना गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार समेत गरेको थियो। सम्मेलनका लागि आउने अतिथिहरुका लागि घरपझोङ गाउँपालिकाले मुस्ताङका होटलहरु समेत बुकिङ गरिसकेको थियो। हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने अवधारणाको साझा ऐक्यबद्धता तय गर्ने सम्मेलनको उद्देश्य रहेको थियो।
गत भदौ ३१ गते तय गरिएको जलवायु सम्मेलनलाई निरन्तरता दिने गरी फेरि यहाँको घरपझोङ गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको प्रारम्भिक पुनर्प्राप्ति क्लस्टर ९सीबीडीआरएम० को संयुक्त बैठकमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जलवायु सम्मेलनका बारेमा सरोकारवाला निकायलाई जानकारी दिएका हुन्।
प्रारम्भिक पुनर्प्राप्ति क्लस्टर र समुदायमा आधारित विपद् जोखिम न्यूनीकरणमार्फत समुदायको उत्थानशीलता अभिवृद्धिको क्षेत्रमा क्रियाशील विकास साझेदार, संयुक्त राष्ट्रसंघका निकाय लगायतका संघसंस्थाहरुको साझा मञ्चको रूपमा रहेको सीबीडीआरएमको संयुक्त बैठकमा अध्यक्ष लालचनले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणका उपायहरुमा साझा धारणा तय गर्न सम्मेलनको आयोजना गर्न लागिएको बताए।
सीबीडीआरएमको संयुक्त बैठकमा घरपझोङ गाउँपालिकाले आयोजना गर्ने जलवायु सम्मेलनको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तय गरिएको जलवायु सम्मेलनको मिति मन्त्रालयको समन्वयमा निक्र्योल गरिने अध्यक्ष लालचनको भनाइ छ।
बढ्दो कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर र न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। जलवायु संकटसँग जुध्दै यसका असरहरु न्यूनीकरण गराउने सम्मेलनको मूल उद्देश्य रहेको अध्यक्ष लालचनले बताए।
सम्मेलनले जलवायु परिवर्तनका प्रत्यक्ष असरलाई नजिकबाट बुझ्न र अन्य क्षेत्रमा देखिएका जलवायुको असरलाई एक आपसमा अनुभव आदान–प्रदान गर्दै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने गरी गाउँपालिकाले सम्मेलन आयोजना गर्ने तयारी गरेको अध्यक्ष लालचनले बताए।
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन ९सीबीडीआरएम० को संयुक्त बैठकको आयोजना तथा अध्यक्षता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थीले गरेका थिए। बैठकमा अध्यक्ष लालचनसहित उपसचिव मोहन घिमिरे, विकास साझेदार प्रतिनिधि, रेडक्रस, राष्ट्रिय गैरसरकारी संस्था, विभिन्न मन्त्रालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। संयुक्त बैठकमा विभिन्न विषयहरुमा छलफल गरिएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली