मुस्ताङको कागबेनी श्राद्धस्थलको सरसफाई तथा व्यवस्थापन

जोमसोम ।

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी श्राद्धस्थलको आईतबार पूर्ण सरसफाई तथा व्यवस्थापन गरिएको छ । सोमबारदेखि सुरु हुने बडा दशैं सोह्र श्राद्धलाई लक्षित गरी यहाँ तिर्थ गर्न आउने भक्तजनहरुको सहजताका लागि यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधि लगायतको संयुक्त टोली कागबेनी स्थित श्राद्धस्थलको सरसफाई तथा व्यवस्थापन गरेको जनाइएको छ ।

यहाँ बाईसौं नेपाल निजामति कर्मचारी दिवसको उपलक्ष्यमा यहाँको कागबेनी धार्मिक स्थलको सरसफाई ,साईन पोस्टिङ र व्यवस्थापनकार्य गरिएको हो । ‘व्यवसायिक तथा सृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन’ नारासहित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले यहाँ श्राद्ध गर्न आउने तिर्थयात्री लक्षित सामाजिक कार्य गरेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अघिकारीले जानकारी दिनुभयो ।

यहाँको कागबेनी श्राद्धस्थल क्षेत्र आ.व. २०८० साल साउन २८ गतेको बाढीले क्षति पु¥याएपछि त्यहाँ पुगेर दिवंगत पितृहरुको नाममा श्राद्ध,तर्पण र पिण्डदान गर्ने तिर्थालुहरुलाई निकै असहज भएको थियो ।

यहाँ निजामति दिवसको अवसरमा निजामति प्रशासन स्वच्छ,निश्पक्ष,पाददर्शी,उत्तरदायी जनमुखि र प्रभावकारी हुन सकोस भन्ने उद्देश्यले कागबेनी श्राद्धस्थललाई तिर्थालुमैत्री तुल्याउन बृहत सरसफाई तथा व्यवस्थित गर्ने पहल भएको वारागुङका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।

 यहाँका गाउँपालिका स्थित कर्मचारी र जनप्रतिनिधि लगायतको टोलीले मुक्तिनाथबाट बग्ने गण्डकी नदी र दामोदरकुण्डबाट बग्ने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधामको श्राद्धस्थल वरपर स्काभेटर परिचालन गरी सरसफाई तथा व्यवस्थित गरिएको हो । यहाँ श्राद्ध गर्न आउने आगन्तुक तिर्थालुहरुको सहजताका लागि पार्किङ स्थल,नोपार्किङ स्थल लेखिएका ब्यानर र साईनबोर्ड टाँस गरिएको छ । 

यसैगरी कालिगण्डकी संगलस्थल वरपरका फोहोर मैला व्यवस्थापन,खानेपानीको व्यवस्थापन, शौचालयको व्यवस्थापन र श्राद्ध गर्ने स्थानहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।

 यहाँको वारागुङ मुत्तिक्षेत्रको कागबेनीधामको संगम स्थलमा दिवंगत पितृहरुको नाममा श्राद्ध गर्ने,तर्पण दिने र पिण्डदान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।यहाँ बर्सेनि बडा दशै र चैते दशै सोह्र श्राद्ध तिथिमा हजारौ श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।


प्रतिक्रिया