कुछप तेरङ्गा गुम्बामा पद्यसंम्भवका पाँच रत्न

जोमसोम ।

मुस्ताङको घरपझोङ गाउँपालिका—५ ढुम्बा स्थित अग्लो विशाल डाँडाको टुप्पोमा ‘कुछप तेरङ्गा’ गुम्बा अवस्थित छ । समून्द्री सतहको तीन हजार मिटरको उच्चस्थानमा अवस्थित ‘कुछप तेरङ्गा गुम्बा’ हात्तीको सुँढ आकारको विशाल पहाडको शिखरमा छ ।

 सोह्रौं शताब्दीमा निर्माण भएको यहाँको ‘कुछप तेरङ्गा’ गुम्बा पाँच सय वर्ष पुरानो मानिएको छ ।

 ‘कु’को अर्थ शरिर, ‘छप’को अर्थ साटो, ‘तेर’को अर्थ बहुमुल्य खजाना र ‘ङ’को अर्थ पाँच । शरिरको साटो पाँच बहुमुल्य खजानाको अर्थको शाब्दिक अर्थने कुछ्प तेरङ्गा’ भन्ने गरिएको धार्मिक बुद्धिस ग्रन्थमा उल्लेख छ । गुरु रिर्पोर्छे अर्थात गुरु पद्यसंम्भवको पाँच बहुमुल्य निधि अर्थात खजाना गुम्बामा प्रतिस्थापन गरिएकाले यहाको गुम्बालाई ‘कुछप तेरङ्गा’ गुम्बाको रुपमा नामाकरण गरिएको त्यहाँका लामा सुवास थकालीले जानकारी दिनुभयो ।

यहाँको ‘कुछप तेरङ्गा’ गुम्बामा कुछप तेरङ्गा (पाँच रत्न) गुरु (गुरु पद्यम संम्भव), देवा (गुरु दोर्जे ढ्रोले), डाकीनी (खण्डो हेशे छोगेल),वस्त्र (भिक्षुको वस्त्र) र डोजा ( गुरु पद्यसम्भवको जुत्ता) अवस्थित रहेको लामा थकालीले उल्लेख गर्नुभयो । यहाँको गुम्बामा घरपझोङ ठिनीका त्यतीबेलाका लामा लुङ्तेन उर्गेन पाल्साङले पाँच सय वर्ष अघि प्रतिस्थापन गर्नु भएको धार्मिक किंवदन्ती छ ।

यहाँको ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘कुछप तेरङ्गा’ गुम्बा स्थापनाका चाख लाग्दो कथा जोडिएको छ । सोह्रौ शताब्दीमा मुस्ताङ स्थित ठिनीका लामा लुङ्तेन उर्गेन पाल्साङ’ बुद्धिस ज्ञान प्राप्तिका लागि भोट (तिब्बत) पुगेका थिए । त्यहाँ लामा पाल्साङले तिब्बतका बुद्धिस नामुद गुरु तेरतोन धुईधुल ढोर्जेको समसाथमा रहेर बुद्धिस शिक्षा आर्जन गर्न थाल्नुभयो । बुद्धिस शिक्षा लिने क्रममा ठिनीका लामा पाल्साङले गुरु रिन्पोर्छे सम्वन्धि शिक्षाका साथै गुफामा अरुले नदेख्ने (छम) गरी) ध्यान साधना प्राप्त गर्न थाले । केही वर्ष भोट (तिब्बत)मा गुरुको शरणमा बसेर ध्यान तपस्या पुरा गरेका उनै लामा पाल्साङ गुरु पद्यसंम्भव सम्वन्धि बुद्धिस शिक्षा आर्जन गर्नुभयो । 

त्यहाँ आफ्ना गुरु तेरतोन धुईधुल ढोर्जेसंग शिक्षा प्राप्त गरेपछि गुरुको आग्रह अनुसार त्यहाँ प्राप्त गरेको शिक्षालाई आफ्नै ठाउँमा बसेर बाड्न पाल्साङलाई आग्रह गरियो । आफ्ना गुरुबाट शिक्षा प्राप्त गरी गाउँ फर्किन लागेका लामा पाल्साङलाई गुरु पद्यसम्भवको पाँच रत्न अर्थात कुछ्प तेरङ्गा’ गुरुले सुम्पिनु भयो । गुरुले ठिनीका लामा पाल्साङलाई भनेका त्यतीबेला भनेका थिए,‘ यो गुरुको पाँच रत्न लैजानु, यसलाई तिम्रो गाउँ नजिकको ठाउँमा दायाँबायाँ हिमाल देखियोस, हात्तीको सुँढ जस्तो विशाल पहाड ,नजिकै ताल र फेंदमा नदी बगेको होस् , त्यस्तो ठाउँ खोजेर मैले सुम्पिएको पाँच रत्न गुम्बा बनाएर प्रतिस्थापन गर्नु ।’

 तिब्बती धर्म गुरु तेरतोन धुईधुल ढोर्जेका आज्ञा अनुसार त्यहाँबाट फर्किएपछि मुस्ताङको ढुम्बा डाँडामा गुम्बा निर्माण गरी पाँच रत्न अर्पण गर्नु भएको धार्मिक ग्रन्थमा उल्लेख रहेको गुम्बा लामा सुवास थकालीको भनाई छ ।

 तिब्बती गुरुका आज्ञा अनुसार ठिनीका लामा पाल्साङले दायँबाँया निलगिरी हिमाल ,हात्तीको सुँढ आकार ढुम्बा पहाड,नजिकै ढुम्बाताल र फेंदमा कालिगण्डकी नदी रहेको ढुम्बा डाँडामा कुछ्प तेरङ्गा गुम्बा निर्माण गरी पाँच रत्न त्यहा अर्पण गर्नुभएको लामा थकालीले उल्लेख गर्नुभयो । यहाँको कुछ्प तेरङ्गा गुम्बा ठिनी गाउँको अधिनमा रहेको उहाँले बताउँनुभयो ।

त्यहाँको कुछ्प गुम्बा नजिकै उत्तरतर्फको भागमा ढुम्बाताल छ । यो ताल त्यहाको कुछ्प तेरङ्गा गुम्बालाई अर्पण गरिएको लामा सुवास थकालीको भनाई छ । गुम्बामा विशेष धार्मिक अनुष्ठान चल्दा यहाको ढुम्बातालको जल यहा चढाईने प्रचलन रहेको छ । गुम्बा र प्राकृतिक ढुम्बाताल धार्मिक हिसाबले महत्वपूर्ण रहेकाले ढुम्बातालको संरक्षण,सम्वद्धन र प्रर्वद्धन ठिनी गाउँका लामाहरु र गुम्बा संरक्षण व्यवस्थापन समितिले गर्दैआईरहेको छ । गुम्बाको आर्थिक व्यवस्थापनमा टेवा पु¥याउन र ताललाई पर्यटनसंग जोड्न समितिले निरन्तर पर्यटन प्रर्वद्धनात्मक कामहरु गरिरहेको लामा थकालीले जनाउँनुभयो ।

 यहाँको घरपझोङ ढुम्बाडाँडामा अवस्थित गुम्बामा रहेको कुछ्प तेरङ्गा अर्थात गुरु पद्यसम्भवका पाँच रत्न जनशक्तिको अभाव र असुरक्षाका कारण ठिनी गाउँमा रहेको अर्को गुम्बा राखिने गरिएको छ । कुछ्प तेरङ्गा गुम्बामा विशेष पुजा हुँदा ठिनी गुम्बामा राखिएको पाँच रत्न अर्थात कुछ्प तेरङ्गा साविकको स्थानमा लैजाने गरिएको लामा थकालीको भनाई छ ।

 यहाँको कुछ्प तेरङ्गा (पाँच रत्न) ठिनी गुम्बामा राखिएको र त्यहाँ दैनिक बिहान ७ बजेदेखि सुर्यास्त नहुँदासम्म सर्वसाधारण भक्तजनलाई दर्शन गर्ने व्यवस्था मिलाईएको उहाँले उल्लेख गर्नुभयो ।

 झन्डै पाँच सय वर्ष पुरानो ढुंगा र माटोले निर्मित कुछ्प तेरङ्गा गुम्बालाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणको काम भईरहेको छ । त्यहाँको ढुम्बा डाँडामा स्याङ्पा रिन्पोर्छेले भक्तजनहरुबाट आर्थिक चन्दा संकलन गरी नजिकै गुम्बा र लामा निवास भवन निर्माणकार्य भईरहेको छ । लामा थकालीले त्यहाँ कुछ्प तेरङ्गाको आवश्यकीय भौतिक संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भईसकेको जानकारी दिनुभयो ।


प्रतिक्रिया