मुस्ताङको जोमसोममा बन्यो २५ शैयाको प्रादेशिक अस्पताल भवन

यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोममा निर्माणधीन जिल्लाकै एक मात्र २५ शैयाको दुई तले पक्की अपांगमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा रहेको छ । वि.स. २०७७ साल २ चैत्रमा दुई वर्षमा सम्पन्न गर्ने निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको जनाईएको छ ।

अपांगतामैत्री दुई तले अस्पताल भवन सुरुवाती ठेक्का सम्झौता मुताबिक वि..स. २०७९ साल १ चैत्रमा सकिनुपर्ने थियो । तर अस्पताल भवनको छानो छाउने डीपीआर डिजाईनमा प्राविधिक त्रुटी देखिदा अस्पताल भवन निर्माण केहीवर्ष रोकिन पुगेको थियो । सोही कारण निर्माण कम्पनीले भिओ माग गरेको थियो । 

निर्माण कम्पनीले भिओ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन १३ औ संशोधन अनुसार अस्पताल भवनको म्याद वि.स. २०८१ साल २ पुस महिनासम्म थप गरिएको थियो । त्यसपछि यहाँ निर्माणधीन अस्पताल भवनको प्रि डिजाईन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो ।

यहाँ स्थित निर्माणधीन रहेको प्रादेशिक अस्पताल भवनको गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि अस्पताल भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । प्रादेशिक अस्पताल भवन निर्माणको लागत अनुमान १६ करोड ३४ लाख रहेकोमा १० करोड २१ लाख लागतमा ईमोटल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।

अपांगतामत्री स्वास्थ्य सेवा प्रवाह गर्ने गरी यहाँको प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सवईन्जिनीयर राजन कडेलले जानकारी दिनुभयो । भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिईएको सवईन्जिनीयर कडेलले उल्लेख गर्नुभयो ।

यहाँको जोमसोम स्थित निर्माणधीन प्रदेश अस्पताल भवनको भौतिक र बित्तिय प्रगती शतप्रतिशत भएको र यसको निर्माण कम्पनीसंग भवनको परीक्षण काल (डीएलपी)को अवधि रहेको सवईन्जिनीयर कडेलले बताउँनुभयो । ‘अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत र सेनेटरी पक्षमा आशिंक त्रुटी भएकाले सच्याउन लगाएका छौं, सवईन्जिनीयर कडेलले भन्नुभयो, निर्माण कम्पनीले त्रुटी सच्याएपछि निर्माणधीन यहाँको प्रदेश अस्पताल भवन हस्तान्तरण हुनेछ।’

गण्डकी प्रदेश सरकारले यहाँको प्रदेश अस्पताललाई १५ शैयाको अस्पतालबाट २५ शैयाको अस्पताल भवनमा रुपान्तरण गर्न तत्कालीन समयमा यहाँ अस्पतालको भौतिक संरचना निर्माण सुरु गरेको हो । यहाँ अस्पताल भवनको ठेक्का सम्झौता भएको पाँच वर्षपछि भवनको भौतिक सरचना तयार भएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुको स्वास्थ्य सेवालाई गुुणस्तरीय एवं प्रभावकारी र सेवामूलक तुल्याउने गरी निर्माण गरिएको हो ।

 भवनमा ल्याब कक्ष,आपत्कालीन कक्ष, प्रसुती कक्ष,एक्सरे कक्ष,अल्ट्रा साउण्ड,ईसीजी कक्ष, बहिरंग सेवा,सामान्य शल्यक्रिया कक्ष,मेजर शल्यक्रिया कक्ष,मेडिकल कक्ष ,बिरामी बस्ने वार्ड रुम र प्रशासनिक कक्ष र बैठक हल लगायतका संरचनाहरु निर्माण भएका सवईन्जिनीयर कडेलले जानकारी दिनुभयो ।

हालको जस्ताले छाईएको ५० वर्ष पुरानो जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या र चुनौति देखिएको थियो । यहाँको नवनिर्मित अस्पतालको भवनबाट सेवा प्रवाह सुरु भएमा स्वास्थ्य सेवा प्रवाह .सजिलो हुने अस्पतालका मेसु डा. समिक्षा कडेलले बताउँनुभयो  । 


प्रतिक्रिया