सामुदायिक आँखा केन्द्रको सेवाले मुस्ताङीलाई सहज

जोमसोम ।

यहाँ स्थित मुस्ताङका पाँच पालिकामा चार हजार २१० जना व्यक्तिले आँखा परीक्षण गराएका छन् । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा उक्त संख्यामा आँखामा समस्या भएका व्यक्तिले सेवा प्राप्त गरेका हुन् ।

मुस्ताङमा नेपाल आँखा कार्यक्रम कार्यान्वयनमा ल्याउन सन् २००९ देखि तिलगंगा आखा प्रतिष्ठान केन्द्र अन्तर्गत मुस्ताङ सामुदायिक आँखा केन्द्रले यहाँका आँखा सम्वन्धि समस्या भएका व्यक्तिहरुलाई निरन्तर सेवा प्रवाह गर्दैआईरहेको छ । यहाँ स्थित मुस्ताङ सामुदायिक आँखा केन्द्रका लागि अन्धो उपचार परियोजनाद्वारा आर्थिक सहयोग हुँदैआईरहेको छ । आईतबार यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समिक्षा तथा वार्षिक लेखा परीक्षण समिक्षा बैठकमा  केन्द्रका प्रमुख एवं नेत्र अधिकृत रुमिला नेपालीले मुस्ताङमा केन्द्रले स्थापनादेखि हालसम्म गरेका कार्यप्रगतिका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो ।

केन्द्रका नेत्र अधिकृत नेपालीले स्थापनाकालदेखि हालसम्मको स्रोहवर्षको अवधिमा मुस्ताङ जिल्लामा अठार हजार बढीको आँखा परीक्षण गरिएको बताउँनुुभयो । जसमध्ये हालसम्म ५३५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको जानकारी नेत्र अधिकृत नेपालीले उल्लेख गर्नुभयो ।

यहाँ स्थित मुस्ताङ सामुदायिक केन्द्रले स्थानीय नागरिकहरुलाई २४ सै घण्टा ईमरजेन्सी सेवा प्रवाह गरेको जनाईएको छ । यहाँ केन्द्रले आँखाको समस्या भएका व्यक्तिहरुको उपचार सहजताका लागि आँखा सम्वन्धि सबैप्रकारका सेवाहरु उपलब्ध गराउँदै आईरहेको नेत्र अधिकृत नेपालीको भनाई छ । केन्द्रले ओपीडी सेवातर्फ दृष्टि परीक्षण,आँखाको जाँच,चश्मा जाँच, सुपथ मुल्यमा चश्मा र औषधि सेवा र कम्प्युटरद्वारा चश्माको जाँच लगायतका सेवाहरु दिदैआईरहेको छ । यसैगरी यहाँको केन्द्रले ईमरजेन्सी सेवा अन्तर्गत आँखाको पर्दाको जाँच र रिफर सेवा प्रवाह गरेको नेत्र अधिकृत नेपालीले जानकारी दिनुभयो ।

यसैगरी यहाँको मुस्ताङ सामुदायिक आँखा केन्द्रले आँखा सम्वन्धि परीक्षणका अलावा बाह्य कार्यक्रम पनि संञ्चालन गर्ने गरेको छ । सन् २०२५ पनि केन्द्रले एकदिने बृहत आँखा शिविर संञ्चालन गरेको छ । यस्तै यहाँ दृष्टि परीक्षण,मोतिबिन्दु परीक्षण,चश्मा जाँच र चश्मा फिटिङसहितको सेवा उपलब्ध गराएको नेत्र अधिकृत नेपालीको भनाई छ ।

यहाँको केन्द्रले बर्सेनि नेत्र रोग सम्वन्धि विशेषज्ञ चिकित्सकहरुको सहयोगमा जिल्लाका पाचै वटा स्थानीय तहमा आलोपालो आँखाको शल्यक्रिया शिविर संञ्चालन गर्दैआईरहेको छ । यसैगरी अन्धोपना शिविर,शैक्षिक संस्था,स्वास्थ्य स्वंयसेविका र हेल्थ वर्कर लगायतलाई आधारभुत आँखा उपचार तालिम पनि चलाउने गरिएको छ । यसवर्ष यहाँ सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुलाई आँखा उपचार सम्वन्धि तालिम दिईएको छ ।

 केन्द्रले यहाँ आयोजना गर्ने आँखाको शल्यक्रिया शिविरमा स्थानीय निकाय,आमा समुह,नागरिक समाज, स्वास्थ्य स्वंयसेविका,रेडक्रस र विद्यालयहरुलाई समन्वय र सहकार्य गर्ने गरेको नेत्र अधिकृत नेपाली बताउँनुहुन्छ ।

भौगोलिक रुपमा विकट मुस्ताङमा आँखा सम्वन्धि समस्या भएका सेवाग्राहीहरुलाई केन्द्रले मुस्कानसहितको सेवा प्रवाह गर्दै आईरहेको छ । आर्थिक रुपमा कमजोर र विपन्न समुदायका व्यक्तिहरुलाई केन्द्रको सेवाले उपचारका लागि सुगमका अस्पतालमा धाउनुपर्ने बाध्यता टरेको छ । मानिसको सबैभन्दा बढी संवेदनशील अंगको रुपमा रहेको आँखामा कुनै दुर्घटनाका कारण समस्या आएमा केन्द्रले छिटो र छरितो सेवा प्रवाह गर्दैआईरहेको नेत्र अधिकृत नेपालीले बताउँनुभयो । यहाँको केन्द्रमा आएका आँखाका बिरामीले समय उपचार प्राप्त गरी निको भएको नेत्र अधिकृत नेपालीको भनाई छ ।

यहाँको मुस्ताङ सामुदायिक आँखा केन्द्रमा  एक जना नेत्र अधिकृत र एक जना अफ्टिकल फिडर कार्यरत छन् ।


प्रतिक्रिया